‘रगतको सम्मान हुने आशा जाग्यो’

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ माघ ।
प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतलाई तोकिएपछि सहिद परिवारले खुशी व्यक्त गरेका छन् । प्रदेश ६ प्राप्तीका लागि भएको आन्दोलनमा आफन्त गुमाएका पीडित परिवारहरूले अस्थायी राजधानीसँगै आन्दोलनमा बगेको रगतको सम्मान हुने आशा जागेको बताए । अब सुर्खेतलाई स्थायी राजधानी बनाइएमा सहिदको रगतले सच्चा सम्मान पाउने उनीहरूको भनाइ छ ।


प्रदेश ६ घोषणा हुनुपूर्व भएको आन्दोलनका क्रममा सुर्खेतमा मारिएका टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिं रजवारका आफन्तले अस्थायी राजधानीको निर्णयले आफूहरूलाई खुशी दिएको बताए । सरकारले मृतकलाई सहिद घोषणा बाहेक अरु काम नगरेको अवस्थामा ढिलै भए पनि सुर्खेतलाई अस्थायी राजधानी तोकेको भन्दै उनीहरू हर्षित बनेका हुन् । आफ्ना आफन्तको रगत प्रदेशको समृद्धिका लागि बगेको भन्दै सहिद परिवारले अब र विकासमा जुट्न नेतृत्वलाई सुझाव दिए ।
छैठौं प्रदेशको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनका क्रममा मारिएका टीकाराम गौतमकी पत्नी दुर्गादेवी गौतमले भनिन्, ‘अधिकारका लागि लड्दा हामीले आफन्त गुमायौं, आफन्तले बगाएको रगतको वदलामा अहिले अस्थायी भए पनि राजधानी पाएका छौं । अब नेताहरूले सुर्खेतलाई स्थायी राजधानी नै बनाउनेतर्फ सोचुन्, जनताले चाहेको विकास र समृद्धि चाहना पनि पुराहोस् ।’ प्रदेश प्राप्त भएपछि आफूहरूलाई कसैले पनि वास्ता नगरेको उनको गुनासो छ । कसैले वास्ता नगरे पनि अस्थायी राजधानीसँगै अब आफन्तले आन्दोलनमा बगाएको रगतको सम्मान हुने आशा पलाएको उनको भनाइ छ । यस्तै सहिद टीकारामका छोरा अमृत गौतमले भने, ‘हामीले बुबा गुमायौं, जनताले छुट्टै प्रदेश पाए । अब बुबाको रगतमाथि खेलवाड नहोस्, चाँडै प्रदेश सरकार बनेर विकासमा जुटोस् ।’
दुई वर्षअघि प्रदेश सीमांकनविरुद्ध भएको आन्दोलनका क्रममा जुम्लामा हरिबहादुर कुँवरको पनि ज्यान गएको थियो । चार जनाको ज्यान जाने गरी भएको आन्दोलनपछि छैठौं प्रदेश घोषणा भएको थियो । सरकारले यो प्रदेशको अस्थायी राजधानी सुर्खेतलाई तोकेपछि आन्दोलनमा ज्यान गुमाएकाहरूका आफन्तहरूले आफूहरूमा नेतृत्वले सहिदका सपना पूरा गर्ने आश पलाएको प्रतिक्रिया दिएका हुन् । अस्थायी राजधानीले मात्र सहिदको रगतले सम्मान नपाउने सहिद परिवारको भनाइ छ । राजनीतिक दलहरूले आन्दोलनका क्रममा गरेका प्रतिबद्धता पूरा नगरेको सहिद टिकारामका जेठा छोरा अमृत गौतमले बताए । स्थानीय तह, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमासमेत दलहरूले आफ्ना घोषणापत्रमा सहिदलाई सम्मान गर्न नसकेको उनको गुनासो छ ।
सहिदहरूको शालिक बनाउने, चौकको नामाकरण गर्ने र पीडित परिवारलाई रोजगारी दिनेलगायतका प्रतिबद्धता दलहरूले गरेका थिए ।
यस्तै आन्दोलनकै बेला मारिएका यामबहादुर बिसीकी बहिनी भगवती बिसीले भनिन्, ‘अस्थायी राजधानीले हाम्रो पीडामा केही मात्रामा मल्हम लगाएको छ, यतिले मात्र पुग्दैन । अब सुर्खेतलाई राजधानी बनाएर मात्र हुँदैन, समग्र प्रदेशको समृद्धि हाम्रो आफन्तको मुख्य सपना हो ।’ ज्यान गुमाएका आफ्ना आफन्तहरूको सपना पूरा गर्नका लागि अब प्रदेश सरकारले सोच्नुपर्ने उनको भनाइ छ । ‘आजसम्म त पीडामै थियौं, हामी निराश नै बनेका थियौं’ उनले भनिन्,‘अब केही परिवर्तन होला भन्ने आश लागेको छ, नेताले कुर्ची मात्र नहेरुन् । सहिदको रगतलाई अपमान नगरियोस्, विकास र निर्माण जुटौं ।’ प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिनुले पनि सहिदहरूको सपना पुरा हुने आशा पलाएको भगवतीको भनाइ छ । अब सहिदका नाममा पार्क र शालिक निर्माण गनुपर्ने आफूहरूका मागलाई पनि पूरा गरिदिन उनले आग्रह गरिन् ।
देशका अन्य प्रदेशमा अस्थायी राजधानीको घोषणापछि विवाद चर्किएको छ । तर यो प्रदेशमा भने कुनै विवाद देखिएको छैन । यसले पनि आफ्ना आफन्तले बगाएको रगतले सम्मान पाएको सहिद परिवार बताउँछन् । यसरी नै प्रदेशको समृद्धिमा एकताबद्ध भएर जाग्न उनीहरूले सबैसँग आग्रह गरेका हुन् । ‘संघीयता कार्यान्वयनमा आएको छ’ भगवतीले भनिन्, ‘अबका दिनमा प्रदेश सरकारले सहिद परिवारलाई पनि सम्मानजनक व्यवहार गरोस्, सहिदको अपमान नहोस् ।’ चार जनाको बलिदानीपछि बनेको यो प्रदेशलाई आर्थिक रूपमा सम्पन्न बनाउनेतर्फ अब नेतृत्वले आनाकानी गर्न नहुने पीडित परिवारको भनाइ छ ।

प्रकाशित मितिः   ६ माघ २०७४, शनिबार १५:५४