सिंगारिदैं प्रदेश प्रमुखको कार्यालय

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ माघ ।
सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेसँगै सुर्खेतमा प्रदेश प्रमुखको कार्यालयमा सिंगार तथा सजावटको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालय, निवास र बैठक कक्षका लागि छनौट भएको मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्दको भवनमा आवश्यक मर्मत तथा सजावटको काम सुरु भएको हो ।


प्रदेश सरकारका संरचना राख्नका लागि भवन व्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले शुक्रवारबाटै प्रदेश प्रमुखको कार्यालयमा सजावटको काम सुरु हुने जनाएको छ । सरकारले मर्मत र सजावटका लागि औपचारिक परिपत्र र बजेट उपलब्ध नगराए पनि प्रदेश प्रमुख नियुक्त भइसकेकाले सिंगार तथा रंगरोगनको काम सुरु गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ । कार्यालयका अनुसार प्रदेश प्रमुखको कार्यालय, निवास र प्रदेश सचिवको कार्यालयमा मर्मत, सुधार, रंगरोगन र आवश्यक सामग्री व्यवस्थापनमा तीन करोड रकम लाग्ने अनुमान गरिएको छ ।
‘सरकारले बजेट निकासा गरेको छैन, अब बजेट कुरेर बस्नु पनि भएन’ मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका अधिकृत केशवप्रसाद उपाध्यायले भने, ‘हामीले प्रदेश प्रमुखलाई बसाल्नका लागि आवश्यक तयारी सुरु गरिसक्यौं, कार्यालय, बैठक कक्ष र निवासमा मर्मत र सिंगारको काम सुरु भएको छ । अहिले आन्तरिक स्रोतबाट खर्च गर्नेछौं, पछि सरकारले बजेट निकासा गरेपछि यसको हिसाव मिलान हुनेछ ।’ उनले प्रदेश प्रमुख काठमाडौंबाट सपथ खाएर चाँडै आउने भएकाले पनि आफूहरू तयारी हालतमा रहेको जानकारी दिए । उनका अनुसार प्रदेश प्रमुखको कार्यालयमा फर्निचर मर्मत र रंगरोगन, अतिथि सत्कार र भेटघाटका लागि आवश्यक पर्ने संरचना निर्माण र सुरक्षाका लागि व्यारेक व्यवस्थापनको काम गर्नुपर्नेछ । यो काम केही दिनभित्रमा सम्पन्न गर्नेगरी काम थालिएको भन्दै क्षेत्रीय प्रशासनले बजेट निकासा भए थप सहज हुने जनाएको हो ।
प्रदेश प्रमुखले प्रदेशसभाका सदस्यहरूलाई सपथ खुवाउने दिन पनि नजिकिएकाले पहिलो चरणमा प्रदेश प्रमुखको कार्यालय सिंगारमा प्रशासन कार्यालय जुटेको हो । प्रदेश संसद र सरकारका लागि आवश्यक पर्ने भवनको मर्मत तथा रंगरोगन, साम्रगी खरिद तथा मन्त्रालय र संसदसम्म पुग्ने सडकको स्तरोन्नतीका लागि ३३ करोड बजेट माग गरिएको छ । पहिलो चरणमा प्रदेश प्रमुखको कार्यालय सिंगारिने भन्दै अधिकृत उपाध्यायले बजेट आएपछि अन्य भवनमा सिंगार्ने काम सुरु हुने जनाए । प्रदेश प्रमुखको नियुक्तिसँगै सुरुवातमा प्रदेश प्रमुखको कार्यालय, बैठक कक्ष र आवास मर्मत तथा सजावटको काम सुरु भएको हो । प्रदेश नम्बर ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश संसद र मन्त्रालयका लागि यसअघि नै भवनहरू छनौट भइसकेका छन् ।
प्रदेश संसदका लागि क्षेत्रीय शैक्षिक तालिम केन्द्र, मुख्यमन्त्रीका लागि क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालयका लागि जिल्ला कृषि विकास कार्यालय, अर्थ मन्त्रालयका लागि क्षेत्रीय शिक्षा निर्देशनालय, भौत्तिक पूर्वाधार मन्त्रालयका लागि क्षेत्रीय सडक र सिँचाइ तथा कृषि मन्त्रालयका लागि क्षेत्रीय कृषि निर्देशनालयका भवन छनौट गरिएका छन् । पहिलो चरणमा प्रदेश प्रमुखको कार्यालय सजावटको काम हुने भन्दै क्षेत्रीय प्रशासनले संसद बैठक बसाल्ने गरी संसद भवन सजावटको काम पनि
थालिने जनाएको हो । प्रदेशसभाको भवनमा रंगरोगन, सभामुख कक्ष, साउण्ड सिस्टम जडान, सुरक्षाको व्यारेक स्थापना, फर्निचर व्यवस्थापन र पर्खाल निर्माणका लागि आठ करोड बजेट माग गरिएको छ । यसका लागि पनि तत्काल बजेट निकास गर्न सरकारसँग क्षेत्रीय प्रशासनले आग्रह गरेको छ । यस्तै मन्त्रीपरिषद र मुख्यमन्त्रीको कार्यालय सजावटका लागि तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । मुख्यमन्त्रीको आवास सजावट गर्न डेढ करोड खर्च लाग्ने बताइएको छ ।
यस्तै सुरक्षा व्यवस्थापनमा एक करोड बजेट आवश्यक पर्ने भन्दै रकम माग गरिएको हो । संसद र मन्त्रालयसम्म पुग्ने सडक मर्मत र सुधारका लागि पनि बजेट माग गरिएको छ । बजेट प्राप्त हुने बित्तिकै तीव्र गतिमा काम अगाडि बढाइने प्रशासनले उल्लेख गरेको छ । यसैबीच ६ नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दुर्गाकेशर खनालले केही दिनभित्रमा प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । प्रदेश ६ को समृद्धिका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै उनले यो प्रदेशमा तराइका बाँके र बर्दियालाई पनि समावेश गर्नका लागि पहल गर्ने उनको भनाइ छ । यसले यो प्रदेशलाई दक्षिणको नाकासम्म जोडन सहज हुने उनले बताए । सुर्खेतमा तीन जना र जुम्लामा एक जनाको ज्यान जाने गरी भएको आन्दोलनको बलमा प्रदेश नम्बर ६ घोषणा भएको थियो । अस्थायी राजधानी तोकिएसँगै सुर्खेतमा खुशीयाली छाएको हो ।

प्रकाशित मितिः   ५ माघ २०७४, शुक्रबार १५:४४