दुर्गाकेशर खनाल : प्रधानाध्यापकदेखि प्रदेश प्रमुखसम्म

नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेता हुन्, दुर्गाकेशर खनाल । उनकै पहलमा वि.सं. २०२८ सालमा सुर्खेतमा नेपाली कांग्रेसको शाखा स्थापना भएको थियो ।

वि.सं. २००३ सालमा दुर्गाकेशर जन्मिएपछि उनको परिवार डोटीबाट बसाइँ सरेर सुर्खेत आएको हो । अध्ययनका लागि सुर्खेतबाट काठमाडौं पुगेका खनाल त्यतिबेलादेखि नै राजनीतिमा आकर्षित भएका थिए । विद्यार्थीकालमा उनको संगत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसँग थियो भने वीपी कोइरालासँग पनि उनको निकटको सम्बन्ध थियो ।

नेपाली कांग्रेस सुर्खेतका युवा नेता गोविन्द कोइरालाका अनुसार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गठन हुनुपूर्व नै काठमाडौंमा अध्ययनरत सुदूरपश्चिमका विद्यार्थीहरूले सुदूरपश्चिमाञ्चल छात्र संघ गठन गरेका थिए । जसको अध्यक्षमा अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा थिए भने उपाध्यक्ष खनाल थिए । यसले पनि देउवासँगको उनको निकटता देखाउँछ । खनाल काठमाडौंमा उच्च शिक्षा हासिल गर्दै थिए । नेपाली कांग्रेसका नेता वीपी कोइराला त्यतिबेला भर्खर सुन्दरीजल जेलबाट छुटेर भारतको बनारस गएका थिए । खनाल वीपीलाई भेट्न बनारस पुगे । त्यतिबेला नै उनले वीपीसँग सुर्खेतमा कांग्रेसको शाखा स्थापना गर्न अनुरोध गरे । वि.सं. २०१८ सालमा मात्रै सुर्खेत स्वतन्त्र जिल्ला भएको थियो । त्यसअघि सुर्खेत जिल्ला दैलेखको अधिनमा थियो ।

वीरेन्द्रनगरको गणेशचौकनजिकै शेर्पा होटल थियो । त्यही होटलमा यहाँका कांग्रेस नेताहरूको गोप्य बैठक बस्यो र जिल्ला शाखाको तदर्थ समिति गठन ग¥यो । खनाल त्यतिबेला पढ्दै थिए । पढ्नका लागि काठमाडौं जानुपथ्र्यो । त्यसैले उनलाई सभापति बनाइएन, उनकै सहमतिमा मानसिंह विश्वकर्मालाई सभापति र खनाल सदस्य भएर जिल्ला शाखाको स्थापना गरेका थिए ।

प्रजातन्त्र प्राप्तीको आन्दोलनमा अग्रपंक्तिमा लाग्ने खनाल पटक–पटक जेल परेका छन् । उनले काठमाडौंबाट बीए र बीएडको पढाइ पूरा गरी सुर्खेत आए । त्यसपछि उनी पूर्णकालीन राजनीतिमा होमिए । कांग्रेसका संस्थापक सदस्य उनी वि.सं. २०३६ सालमा जिल्ला शाखाको सभापति भए । सुर्खेतमा कांग्रेस स्थापना गर्न उनको विशेष योगदान रहेको यहाँका कांग्रेस नेताहरू बताउँछन् ।

वि.सं. २०४८ सालमा राष्ट्रियसभाका सांसद बनेका खनालले त्यसबाहेक सार्वजनिक लाभको पद भने कुनै लिएनन् । पार्टीको आन्तरिक भूमिकामा पनि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिभन्दा माथि पुगेनन् । कांग्रेस सुर्खेतका पूव जिल्ला कोषाध्यक्ष समेत रहेका गोविन्द कोइराला खनाललाई व्यक्तिगत लाभको पछि नलाग्ने नेताको रूपमा चित्रित गर्छन् । चाकडी र चाप्लुसी गर्नै नचाहने उनको स्वाभिमानी स्वभावका कारण पनि उनले आफ्नो क्षमता र योगदानले पाउनुपर्ने जति लाभ पाउन नसकेको उनले कोइरालाले बताए । ‘उहाँ लोकतन्त्रप्रति प्रतिबद्ध, अध्ययनशील, बौद्धिक र स्पष्ट विचार भएको नेता हो’ कोइराला भन्छन्, ‘आफ्नो स्वार्थका लागि अरुको चाकडी गर्ने स्वभाव उहाँमा छैन ।’ खनालसँग शिक्षण पेशाको समेत अनुभव छ । उनले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालयमा प्राध्यापन गरेका थिए ।

उनी तत्कालिन जन पब्लिक हाइस्कुल अर्थात् अहिलेको जन माध्यमिक विद्यालयको प्राधानाध्यापक समेत थिए । विद्यालयको प्राधानाध्यापक, सांसद हुँदै खनाल अहिले प्रदेश नं. ६ को प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेका छन् ।

प्रकाशित मितिः   ४ माघ २०७४, बिहीबार ११:३५