सुर्खेत बन्यो प्रदेश ६ को अस्थायी राजधानी

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ माघ । सरकारले सुर्खेतलाई प्रदेश नं. ६ को अस्थायी राजधानी बनाउने निर्णय गरेको छ । बुधवार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले सात वटै प्रदेशको अस्थायी मुकाम तोकेको हो । बैठकले सुर्खेतलाई प्रदेश नं. ६ को अस्थायी राजधानी तोकेको छ । सुर्खेतलाई अस्थायी राजधानी तोकिएसँगै यहाँका नागरिकमा खुशीयाली छाएको छ । त्यसैगरी यो प्रदेशको प्रमुखमा पनि सुर्खेतकै कांग्रेस नेता दुर्गाकेशर खनाल नियुक्त भएका छन् । उनी कांग्रेस सुर्खेतका संस्थापक नेता हुन् ।

लामो समयको कसरतपछि सरकारले बुधवार नै सात वटै प्रदेश प्रमुखको नियुक्ति गरेको हो । सरकारले केही समय वाम गठबन्धनसँग सहमति गरेर मात्रै प्रदेश प्रमुखको टुंगो लगाउन चाहेको थियो । तर, वाम गठबन्धन तयार नभएपछि सरकारले अन्य दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग सहमति गरेर प्रदेश प्रमुखको टुङ्गो लगाएको हो । सहमति अनुसार प्रदेश २ मा राजपा र प्रदेश ५ मा फोरमले पाएको छ भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको छ । उनीहरू नेपाल सरकारको कर्मचारीका रूपमा रहनेछन् ।

प्रदेश १ गोविन्द सुब्बा नियुक्त भएका छन् । सुब्बा पुराना कांग्रेस कार्यकर्ता हुन् । उनी २०४९ मा धरानबाट मेयर पदमा कांग्रेसका तर्फबाट प्रत्यासी थिए । पूर्वाञ्चल विश्वविद्यालका सहायक डीन समेत भइसकेका उनी । पछिल्ला समय पाटन क्याम्पसमा अंग्रेजीका प्राध्यापक हुन् । प्रदेश नं. २ को प्रमुखमा नियुक्त रत्नेश्वर कायस्थ नेपाल सरकारका पूर्वसचिव हुन् । उनी पहिलो संविधानसभाका समानुपातिक सभासद् हुन् । संघीय समाजवादी फोरमको सिफारिसमा उनी प्रदेश प्रमुख बनेका हुन् । प्रदेश ३ मा भारतीय कोठीहरूमा बेचिन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्थापनामा क्रियाशील संस्था माइती नेपालको संस्थापक अध्यक्ष अनुराधा कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । ओखलढुंगामा जन्मिएकी उनले सो संस्था सन् १९९३ मा स्थापना गरेकी थिइन् । सन् २०१० मा सीएनएन हिरोबाट सम्मानित भएकी उनले २०१४ मा मदर टेरेसा पुरस्कार पनि जितेकी थिइन् । उनी प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेकी थिइन् ।
प्रदेश ४ का लागि प्रमुख नियुक्त बाबुराम कुँवर पूर्व महान्यायाधिवक्ता हुन् । कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसियशनका पूर्व अध्यक्षसमेत रहेका कुँवरलाई २०७० फागुन ५ मा तत्कालीन सुशील कोइराला सरकारले महान्यायाधिवक्ता नियुक्त गरेको थियो । त्यसैगरी प्रदेश ५ माउमाकान्त झा नियुक्त भएका छन् । झा खिलराज रेग्मी सरकारमा ऊर्जा, सिँचाइ र विज्ञान मन्त्री थिए । उनले सिँचाइ र उद्योग मन्त्रालयका सचिवबाट अवकाश पाएका थिए । धनुषाका झा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । उनलाई राजपाको तर्फबाट प्रदेश प्रमुखमा सिफारिस गरिएको हो ।

प्रदेश ७ मा राप्रपाका पुराना नेता मोहनराज मल्ल प्रदेश प्रमुख भएका छन् । बहुदलपछि पहिलो संविधानसभाको चुनावसम्म उनी राप्रपाबाटै चुनाव लडे पनि पछि उनी कांग्रेसमा प्रवेश गरेका थिए । उनी कैलालीका हुन् । त्यसैगरी सरकारले सबै प्रदेशका प्रदेश प्रमुख समेत नियुक्त गरेको छ ।

प्रकाशित मितिः   ४ माघ २०७४, बिहीबार ११:२७