वीरेन्द्रनगरमा भूकम्प प्रतिरोधी भवन निर्माणमा वृद्धि
साझा बिसौनी संवाददाता
सुर्खेत, २ माघ ।
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्नेक्रम बढेको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि वीरेन्द्रनगरमा भूकम्प प्रतिरोधी संरचना निर्माणमा वृद्धि भएको हो । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण हुने भवनहरू अनिवार्य भूकम्प प्रतिरोधी हुनुपर्ने मापदण्डलाई कडाईका साथ लागू गरेपछि भूकम्प प्रतिरोधी भवन निर्माण गर्नेहरूको संख्या पनि बढेको हो ।
भवन निर्माणका लागि स्वीकृति लिँदा नै भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नगरपालिकाले अनिवार्य गरेको हो । नगरपालिका कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा घर निर्माणका लागि स्वीकृतका आएका निवेदनमध्ये भूकम्प प्रतिरोधी नदेखिएका भवनहरूको नक्सा पास भएको छैन । जसमा नक्सासहित नगरपालिकामा दर्ता भएका ६ सय ६९ मध्ये चार सय ९० भवनको मात्र नक्सा पास भएको छ । जसअनुसार दुई सय ६ वटा भवन भूकम्प प्रतिरोधी नभएपछि नक्सा पास भएको छैन् ।
यस्तै चालु आवको ६ महिनामा ७६ वटा भवनको नक्सा पास भएको छैन् । नगरपालिकाको तथ्यांक अनुसार हालसम्म तीन सय ३० वटा भवन निर्माणका लागि निवेदन दर्ता भएका छन् । जसमध्ये दुई सय ५४ वटा मात्रै स्वीकृत भएको नगरपालिका नक्सा पास उपशाखाका अमिन भुपेन्द्रबहादुर अधिकारीले बताए । उनले भूकम्प प्रतिरोधी भवन निर्माण नभएसम्म नक्सा पास नै नहुने बताए । उनले नगरभित्र भवन निर्माण गर्दा अनिवार्य रूपमा भूकम्प प्रतिरोधी बनाउने नियमलाई कडाइका साथ लागू गरिएको जनाए । भूकम्प प्रतिरोधी भवन बनाउँदा खर्च धेरै लाग्छ भन्ने भ्रमका कारण अधिकांशले नक्सा पास नगराउने समस्या रहेको उनी बताउँछन् । हाल नगरपालिकाले घरको क्षेत्रफलका आधारमा कर लिएर नक्सा स्वीकृत गर्ने गरेको छ ।
नक्सा पास विना घर बनाउनेलाई नगरपालिकाले विद्युत र खानेपानी जडानका लागि सिफारिस दिदैंन । सेवा सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले पनि हिजोआज भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नेक्रम बढेको हो । नगरपालिकामा करिब २५ प्रतिशतले अझै पनि नक्सा पास नगरी भवन बनाउने गरेको नगरपालिकाले जनाएको छ । भूकम्पले मानिसको मृत्यु नगरे पनि प्रभावित क्षेत्रका बासिन्दाले समयमा उपचार र उद्दार नपाउने गरेकाले जनधनको क्षति हुने गरेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख भूकम्पविद् रत्नमणी गुप्ताले बताए । भूकम्प प्रतिरोध शक्ति कमजोर भएका पुराना संरचनालाई भूकम्पीय प्रवद्धिकरण तथा सुदृढीकरण गर्न सकिने उनले बताए ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर टीकाराम पोखरेलले भवन निर्माण गर्दा २० प्रतिशत मात्रै लागत बढ्ने भएकाले अनिवार्य रूपमा भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन आग्रह गरे । नगरभित्रका अधिकांश पुराना सरकारी तथा निजी घरहरू भूकम्प प्रतिरोधी नभएको उनको भनाइ छ । भूकम्पबाट हुने जोखिम न्यूनीकरणका लागि बनेका भवनहरूलाई प्रवलीकरण र नयाँ भवनलाई अनिवार्य भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताए । प्राकृतिक प्रकोपका रूपमा भूकम्प जतिबेला पनि आउन सक्ने भएकाले क्षति कम गर्न पूर्वसजकता अपनाउनुपर्ने बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र निर्माण हुने सरकारी तथा नीजि भवनहरू आचारसंहिताको पालना गरे÷नगरेको बारेमा अनुगमन गर्दै आएको बताए । ‘हामीले नगर भित्रका भवनहरू भूकम्प प्रतिरोधी बनाउने प्रयासमा छौं’ उनले भने, ‘भवन बनाउँदा नगरपालिकामा अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेका छौं ।’
पहिलो नगरसभाबाटै नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको उनले
बताए । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरभित्रको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाउने नीतिलाई कार्यान्वयन गरेको दाबी गरिन् । नगरपालिकामा नक्सा पास नगरी भवन गर्ने भूकम्प प्रतिरोधी संरचना निर्माण हुन नसकेको उनले बताइन् । ‘नक्सा पास नगरी घर बनाउने क्रम बढ्दो छ’ उनले भनिन्, ‘जथाभावी भवन निर्माणलाई रोक्न चुनौती बनेको छ ।’ यसैबीच मंगलवार २० औं भूकम्प दिवस मनाइएको
छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । स्थानीय मंगलगढीचौकबाट निस्केको ¥याली वीरेन्द्रनगर बजार परिक्रममा गरी जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रियामा परिणत भएको थियो । प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले भूकम्पको क्षति न्यूनीकरण गर्न सरोकारवाला निकाय सबै लाग्नुपर्ने बताए ।
साझा बिसौनी संवाददाता ।