काम रोकेर नर्सहरू आन्दोलित

साझा बिसौनी संवाददाता
सुर्खेत, २ माघ ।
नेपाल नर्सिङ्ग संघको आव्हानमा सुर्खेतलगायत देशभरका नर्सहरू आन्दोलित भएका छन् । नेपाल नर्सिङ्ग संघ सुर्खेतको अगुवाइमा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा कार्यरत नर्सहरूले केन्द्रको मागहरूलाई समर्थन गर्दै मंगलवार तीन घण्टा काम छाडेर विरोध जनाएका हुन् ।


कालोपट्टी बाँधेर काम ठप्प पारेका नर्सहरूले तत्काल माग पूरा नभए आन्दोलतलाई तीव्र पार्ने जनाएका छन् । मंगलवार तीन घण्टा काम छाडेर विरोधमा उत्रिएका नर्सहरूले सेवा ठप्प पार्ने चेतावनी दिँदै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । आफ्ना माग पूरा नभएको भन्दै ३ गतेसम्म तीन घण्टा काम छाडेर विरोध जनाउने, ४ गतेदेखि ६ गतेसम्म सबै अस्पतालमा बिहानदेखि साँझसम्म काममा नजाने, ७ गतेबाट २४ घण्टा अस्पतालको सेवा अवरुद्ध गर्ने जनाएका छन् । नेपाल नर्सिङ्ग संघ सुर्खेतका अध्यक्ष गीता सुवेदीले मंगलवार हातमा कालोपट्टी बाँधेर आन्दोलनलाई निरन्तरता दिएको बताइन् ।
श्रम ऐन २०७४ लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ्ग कर्मचारीलाई वृत्ति विकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने लगायतका माग राखी नर्सहरू आन्दोलनमा होमिएका हुन् । संघका अध्यक्ष सुवेदीले योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ्ग, स्नातक नर्सिङ्गलाई स्नातकोत्तर नर्सिङ्ग र स्नातकोत्तर नर्सिङ्गलाई पीएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने लगायतका माग रहेको बताइन् ।
नर्सहरूले स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ्ग महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएको नर्सको पुनस्र्थापना लगायतका ११ बुँदे मागसहित गत पुस २७ गतेबाट चरणबद्ध आन्दोलन थालेको हुन् । यसैबीच, ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएका नर्सहरूको आन्दोलनमा नेपाल स्वास्थयकर्मी संघ सुर्खेतले एक्यबद्धता जनाएको छ । संघका अध्यक्ष राजेशकुमार बुढाले तत्काल नेपाल नर्सिङ्ग संघका मागहरू राज्यले पूरा गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   ३ माघ २०७४, बुधबार १५:३८