सुर्खेतमा उसुको क्षेत्रीय छनौट
साझा बिसौनी संवाददाता
सुर्खेत, १ माघ ।
सुर्खेतमा उसु खेलको मध्यपश्चिमाञ्चल क्षेत्रीयस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आइतवार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिता उद्घाटन गर्दै उनले राज्यस्तरबाट खेलकुदका क्षेत्रमा पर्याप्त सुविधा दिनुपर्ने बताएका छन् । स्थानीय सरकारकै पहिलो प्राथमिकतामा खेलकुद पर्न नसकेको उल्लेख गर्दै नगरप्रमुख सुवेदीले राज्यले खेलकुद क्षेत्रलाई भेद्भाव गरेको बताए । ‘अबको प्रादेशिक संरचनामा खेलकुद कता समायोजन हुने भन्ने टुङ्गो छैन’ उनले भने, ‘बजेटको अभावमा खेलकुद क्षेत्रले दुःखद् अवस्था भोगिरहेको छ जुन अत्यन्त दुःखद् हो ।’
खेलकुदको विकासका लागि आउँदो आर्थिक वर्षमा स्थानीय र प्रादेशिक सरकारसँग आफूले छुट्टै बजेट र नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्दै नगरप्रमुख सुवेदीले सुर्खेतका खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय खेलकुदमार्पmत् देशको नाम राख्न सफल भएकोमा खेलाडीको प्रशंसा गरे ।
कार्यक्रममा नेपाल उसु संघका केन्द्रीय सदस्य विष्णु चन्दले राज्यले खेलकुद क्षेत्रमा निकै न्यून बजेट छुट्याएको उल्लेख गर्दै खेलाडीहरूका लागि सरकारले विभेदकारी व्यवहार गरेको बताए । उनले देशको नामका लागि रातदिन खटिरहेको खेलाडी र युवाको योगदानको कदर हुन नसक्दा उनीहरू खाडी राष्ट्रमा पसिना बगाउन बाध्य भएको बताए । त्यस्तै, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका सदस्य अर्जुन शाहीले यस किसिमका प्रतियोगिताहरू वर्षमा १÷२ पटक मात्र नभइ बेला–बेलामा आयोजना हुन जरुरी रहेको बताए । उनले राज्यको मुख मात्रै नताकेर स्थानीयस्तरमा पनि सरोकारवालाहरूले खेलकुदको विकासका लागि लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार
गिरीले खेलकुद मन्त्रालय नै भएको अवस्थामा पनि सरकारले खेल क्षेत्रका लागि उचित बजेट विनियोजन नगर्दा खेलाडी स्वयम्ले पकेटबाट पैसा तिरेर खेल्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यसको अन्त्य हुनुपर्ने बताए । उसु संघका अध्यक्ष हरि थापाले राज्यले खेलाडीहरूलाई हदैसम्मको उपेक्षा गरेको भन्दै यसका बाबजुत पनी खेलाडीहरूले देशको नाम उच्च राख्न सफल भएको बताए ।
उनले उच्च मनोबलका साथ खेलमा सहभागी हुन र यस क्षेत्रलाई खेलकुदका माध्यमबाट चिनाउन खेलाडीहरूसँग आग्रह गरे । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष एवम् जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनक रावल, सितेरियो कराँते प्रशिक्षक प्रदिप राई, बक्सिङ्ग प्रशिक्षक दिलिप सिंह ठकुरी, तेक्वान्दो प्रशिक्षक भुवन थापा, उसु प्रशिक्षक रमेशकुमार तुलाधर लगायतको उपस्थिति रहेको थियो ।
क्षेत्रीय प्रतियोगितामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पा जिल्लाका खेलाडीहरूले प्रतिस्प्रधा गरेका छन् । प्रतियोगितमा २६ जना पुरुष र ११ जना महिला खेलाडीले प्रतिस्प्रधा गरिरहेका छन् । प्रतियोगिता आज (मंगलवार) सम्म सञ्चालन हुँदैछ ।
साझा बिसौनी संवाददाता ।