बोटेचौरमा महोत्सव सुरु

गुर्भाकोट, १ माघ । (साबिस)
बोटेचौरमा कृषि, व्यापार तथा सांस्कृति माघी महोत्सव सोमवारदेखि सुरु भएको छ । गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शशीराम भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै भट्टराईले स्थानीय कला संस्कृतिको जगेर्ना र कृषि वस्तुको प्रदर्शनीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


उनले सदरमुकाम केन्द्रित हुने मेला–महोत्सव गाउँ तहमै सञ्चालन गरेर स्थानीय उत्पादनहरूको प्रचार गर्नु सकरात्मक पक्ष भएको बताए । स्थानीयस्तरमा उत्पादन हुने कृषि प्रदर्शनीका लागि विशेष स्टल राखेर प्रचार–प्रसार गरिएको मेला आयोजक समितिले जनाएको छ । माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि प्रदर्शनी तथा प्रतियोगिता, खुला भलिबल प्रतियोगिता, स्थानीय लोक सांस्कृतिक झल्कने नाच, झ्याउरे, टप्पा तथा पञ्चेबाजा प्रदर्शनी, झुला तथा बालउद्यान राखिएको छ ।
महोत्सव उद्घाटनमा उच्च मूल्य वस्तु आयोजनाका कार्यक्रम अधिकृत हरिमदन अधिकारी, गुर्भाकोट नगरपालिकाका वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थिति थियो । आठ दिनसम्म सञ्चालन हुने महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार खुमन अधिकारी, सुकदेव अधिकारी लगायत कालाकारहरूको प्रस्तुति रहनेछ ।

प्रकाशित मितिः   २ माघ २०७४, मंगलवार १६:१३