सडकदेखि सुधार केन्द्रसम्मको यात्रा

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० पुस ।
आमाले सानैमा छोडेर दोस्रो विवाह गरिन् । बुबाले पनि दोस्रो बिहे गरे । केही महिनासम्म त उनले अभिभावकको माया पाए । तर विस्तारै सौतेनी आमाको हेला गर्न थालिन् । त्यही व्यवहार सहन नसकेपछि उनलाई घरमा बस्नसक्ने अवस्था भएन । घर भन्दा सुरक्षित ठानेर विद्यापुरका नरेश सुनारले सडक नै रोजे ।


जन्म दिने आमाले छोडेको, बाबुले वास्ता नगरेको र सौतेनी आमाको व्यवहार सहन नसकेपछि नरेश घर छोड्न बाध्य भए । आफन्तलेसमेत चासो नदिएपछि जीवनसँग निराश बनेका उनले अन्नतः सडक नै रोजे । घरभन्दा उनलाई सडक नै प्यारो लाग्न थाल्यो । ‘आमाले मलाई सानैमा छोडेर अर्को विहे गरिन्’ उनले भने, ‘सौतेनी आमाले लखेटेपछि घरमा बस्न पाइनँ । गाउँलेले मात्रै होइन्, मैले त मामाको घरमासमेत बास पाइन् ।’ आफन्तको स्याहार र माया नपाएपछि गाउँबाट बसमा चढेर आएका नरेशले डेढ वर्षदेखि वीरेन्द्रनगरको सडकमै रात विताए । सडक नै उनको घर बन्यो ।
सडकको बास हुँदा अरुले दिएकै कपडाले नै उनले आफ्नो शरीर ढाके । कवाड संकलन गरी जसोतसो पेट पाले उनले । सडकमा भेटिएको र अरुले दिएको चीज खाए । उनको शरीरमा नयाँ कपडा नपरेको तीन वर्ष भयो । ‘कोहीले च्यातिएको कपडा दिन्थे, त्यही लाउँथे’ सडकमा बास हुँदाको दुःख पोख्दै उनले भने, ‘नयाँ त कहाँ पाउनु र ? थोत्रा कपडा लगाएरै लाज छोपें ।’ घरपरिवार र गाउँलेबाट एक्लिएका उनले सडकमा बस्दा विभिन्न पीडाहरू भोगे । पेटभरी खानासमेत पाएनन् । पेट भर्नकै लागि उनले वीरेन्द्रनगरका सडक र नालामा फालिएका बोतल र कवाड संकलन गरे । ‘पेट भरी खान पाइन्थ्यो, सोलुसन सुँघेरै दिनरात काट्थे’ उनले भने, ‘घरभित्रको न्यानो बास त आशा नै गरेको थिइन् ।’ चिसो मौसममा सडकबास निकै कष्टकर हुने उनले सुनाए ।
सडकका भौंतारिदा नरेशले सकारात्मक कुरा सिक्न नचाहेका होइनन्, तर समाजले गर्ने हेपाहा व्यवहारले पनि आफूलाई नकारात्मक बनाएको उनी सुनााउँछन् । ‘सम्मानजनक रूपमा माग्दा खाते उता जाँ भन्थे’ सडकका पीडा सुनाउँदै उनले भने,‘माग्दा नदिएपछि, चोरेरै दिन गुजरा गथ्र्यौं । प्रहरीदेखि पसलका साहुलेसमेत कुट्थे ।’ यसरी सडकलाई घर बनाएका नरेश अहिले सडकमा छैनन् । हाल नरेशसहित १५ जना सडक बालबालिकालाई वीरेन्द्रनगरमा रहेको भैरव युवा क्लबले उद्धार गरेको छ । दुव्र्यशनविरुद्ध काम गर्दै आएको यो संस्थाले उनीहरूलाई कुलतबाट छुटाउन सुधार केन्द्रमा राखेको छ । सुधारा केन्द्रमा पुगेपछि उनले भने, ‘यहाँ आएपछि त पेटभरी खान पाएका छौं, नयाँ कपडा पनि लगाउन पाइएका छौं । अब त म यतै बस्छु, सडकमा जान्न ।’ सडक बालबालिकाको आनीवानीमा परिवर्तन गर्न सुधार केन्द्रमा राखिएको हो ।
‘समाजले सडक बालबालिकालाई सधै हेला गर्यो’ संस्थाका अध्यक्ष ललित भट्टराईले भने, ‘समाजप्रतिको माया र आफ्नो जिम्मेवारीबारे कसैलाई मतलब छैन्, त्यसैले त यहाँ अधिकांश बालबालिकाहरू बेवारिसे छन् ।’ केन्द्रमा रहेका बालबालिकालाई पुनस्र्थापनाका लागि सरोकारवाला निकाय एकजुट हुनुपर्ने उनले बताए । बालबालिकाहरूलाई लागूऔषध दुव्र्यशनीबाट छुटाउनका लागि करिब एक वर्ष नै लाग्ने उनले बताए । केन्द्रमा हाल बालबालिकालाई खाजा, नास्ता, बास, कपडा र उपचारका लागि समस्या रहेको छ । ‘बालबालिका बिरामी हुन्छन्, उपचार कसरी गर्ने ?’
उनले भने, ‘सामान्य कुराको अभावले सडक बालबालिका व्यवस्थापन गर्न चुनौती बन्दै गएको छ ।’ बालबालिकालाई दुव्र्यष्सनीबाट छुटाएर शैक्षिक रूपमा दक्ष र स्वरोजगार बनाउन केन्द्रले सरोकारवाला निकायसँग सहकार्य गर्ने उनले बताए । हाल केन्द्रमा रहेका बालबालिकालाई सरोकारवाला निकाय, बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन् ।

प्रकाशित मितिः   १ माघ २०७४, सोमबार १६:०९