आमाहरूलाई ‘पिठो’ कोशेली

साझा बिसौनी संवाददाता
सुर्खेत, १ माघ ।
बालबालिकालाई कुपोषणबाट जोगाउन सुर्खेतको ग्रामीण क्षेत्रका महिलाहरू अग्रसर भएका छन् । बालबालिकामा कुपोषणको समस्या देखा पर्न थालेपछि यहाँका महिलाहरूले यसको न्यूनीकरणका लागि गाउँमा रहेका गर्भवती र दुई वर्षसम्मका बच्चाका आमाहरूलाई कोशेली स्वरूप पिठो उपलब्ध गराउन थालेका हुन् । आमा समूहमार्फत् गाउँमै सर्वोत्तम पिठो उत्पादन गरेर महिलाहरूले गर्भवती र सुत्केरी महिलाहरूलाई कोशेली स्वरूप उक्त पिठो उपलब्ध गराइरहेका छन् ।


पोषणयुक्त खानाको अभावमा बालबालिकाहरूमा कुपोषणको समस्या देखिने गर्दछ । यही समस्या न्यूनीकरणका लागि जिल्लाको पश्चिममा रहेको बराहताल गाउँपालिकास्थित कुनाथरीका महिलाहरूले नयाँ उपायको खोजी गरेका छन् । स्थानीय सफलता स्वास्थ्य आमा समूहले गाउँमै भुटेको मकै, गहुँ र भटमासको पिठो मिश्रण गरेर सर्वोत्तम पिठो उत्पादन गर्न गरिरहेको छ । यही पिठो गाउँमा रहेका एक हजार दिनका आमा (गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मका महिलाहरूलाई) कोशेली स्वरूप वितरण भइरहेको छ । आमा समूहका सचिव प्रेमा सिंजालीका अनुसार यो पिठो गर्भवती महिला र ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई खुवाउने गरिएको छ ।
स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी प्रेमाले भनिन्, ‘गर्भवती र सुत्केरीले पोषिलो खान पाउँदैनन्, उचित स्याहार नपाउँदा जन्मने बच्चाहरूमा कुपोषण देखिन्छ । बालबालिकालाई कुपोषणबाट जोगाउन हामीले आफैं सर्वोत्तम पिठो उत्पादन गर्न थालेका छौं, त्यही पिठो गाउँमा रहेका आमाहरूलाई कोशेली दिने गरिरहेका छौं ।’ आमा समूहले गाउँमै उत्पादन हुने मकै, गहुँ र भटमास खरिद गरेर पिठो उत्पादन गरिरहेको छ । पिठो उत्पादनमा समूहका सदस्यहरू सामूहिक रूपमा जुटेका छन् । ‘हामीले उत्पादन गरेको पिठो पोषिलो छ, ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई अनिवार्य यो खुवाउन भनेका छौं’ आमा समूहका सदस्य गंगा लामिछानेले भनिन्, ‘बच्चाको पास्नीमा जाँदा यही पिठो कोशैली दिन्छौं, अब स्वास्थ्य संस्थाले पनि सुत्केरी हुन आउने महिलालाई यही पिठो कोशेली दिएर पठाउनेछ ।’
आमा समूहले हरेक महिनाको ४ गते बैठक बस्ने र पिठो उत्पादन गर्दै आएको छ । समूहका सदस्यहरूले गाउँमा रहेका गर्भवती र सुत्केरी महिलाहरूलाई घरमै पुगेर उक्त पिठो प्रदान गर्दछन् । गर्भवती भएदेखि सुत्केरी भएको दुई वर्षसम्मको अवधिलाई आमा समूहले सुनौला हजार दिनको रूपमा तथ्यांक राख्ने गरेको छ । सुनौला हजार दिनभित्रका महिलाहरूलाई कोशेली पिठो बाँड्ने गरिएको हो । स्थानीय रत्नकली थापाले भनिन्, ‘सर्वोत्तम पिठोले बच्चाको जीवन रक्षा गरेको छ, कुपोषण हुनबाट जोगाएको छ । गर्भवती र सुत्केरी महिलाहरूले पनि यसलाई उपभोग गरिरहेका छन्, यो पिठो त हाम्रा लागि अमृत बन्यो ।’ आमा समूहले अहिले आधा किलोको पोकामा यो पिठो प्याक गरिरहेको छ । समूहका सदस्य र गाउँका आमाहरूलाई कोशेली दिने गरिएको यो पिठो बिक्ररुका लागि पनि राखिएको छ । एक किलोको दुई सय रूपैयाँ मूल्य तोकिएको भन्दै आमा समूहले नाफा भएको रकम समूहको कोषमा जम्मा गर्ने गरेको हो । स्थानीय मेडिकल र स्वास्थ्य संस्थालाई बिक्री गर्ने र थप बजारीकरणका लागि पहल भइरहेको सदस्य सुशीला कँडेलले बताइन् ।
आमा समूहको काम प्रशंसनीय रहेको भन्दै बराहताल गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र खत्रीले अब आफूहरूले यो पिठो खरिद गरेर वितरण गर्ने बताए । उनले भने, ‘बालबालिकाको स्वास्थ्य महŒवपूर्ण हो, ६ महिनादेखि दुई वर्षसम्मका बच्चालाई यो पिठो खुवाउँदा कुपोषणबाट बचाउन सकिन्छ । हामी अब स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई यही पिठो कोशेली दिनेछौं, यसले पोषणमा टेवा पुग्नेछ ।’ यस्तै वडा नम्बर ५ का अध्यक्ष तिलक पुलामीले अब गाउँपालिकाले पनि यो पिठोको प्रबद्र्धनमा जोड दिने बताए । आमा र बच्चाको स्वास्थ्यका लागि स्थानीय सरकारले पनि नीतिगत निर्णय गरेर सर्वोत्तम
पिठोको प्रयोगमा बढवा दिने उनको भनाइ छ । पिठोको बजारीकण गर्नसके आमा समूहका सदस्यहरूले रोजगारी पाउने, समूहलाई आम्दानी हुने र कुपोषणलाई पनि न्यूनीकरण गर्न सकिने उनले जनाए ।
कुपोषण न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको सुआहारा कार्यक्रमका अनुसार प्रदेश ६ मा करिब ५५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या छ । सुआहाराका जिल्ला संयोजक राजेन्द्र अधिकारीले आमा समूहले थालेको प्रयासले कुपोषण न्यूनीकरणमा टेवा पुग्ने बताए । सर्वोत्तम पिठो उत्पादनका लागि आफूहरूले स्थानीय महिलाहरूलाई प्राविधिक सहयोग गरेको समाज जागरण केन्द्र नेपाल
(स्याक) का कार्यक्रम संयोजक रेशम चन्दले बताए । साथै उनले उत्पादन भएको पिठोको बजारीकरणका लागि पनि अब आफूहरूले सहयोग गर्ने जानकारी दिए । यता जिल्ला जनस्वास्थ्य कार्यालयले पनि आमाहरूलाई पिठो कोशेली दिने कामलाई जिल्लाभर विस्तार गर्न पहल गर्ने जनाएको छ । कार्यालयका सूचना अधिकारी बसन्त श्रेष्ठले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्य संस्थाहरूमार्फत् यो पिठो वितरण गर्न आफूहरूले योजना बनाउने बताए ।

प्रकाशित मितिः   २ माघ २०७४, मंगलवार १६:१७