नामिवियाविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, २५ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आईसीसीको निर्देशन अनुसार गठन गरिएको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियविरुद्ध नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिताका लागि घोषणा गरिएको टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।
यसैगरी सागर पुन, राजु रिजाल, नरेश बुढाएर, शरद भेष्वाकर, विनोद भण्डारी,सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन टोलीमा परेका छन्। यसैगरी सन्दीप लामिछाने, करण केसी, सुसान भारी र राजेश पुलामी मगर पनि राष्ट्रिय टोलीमा स्थान बनाएको राखेपका सदस्य सचिव केशव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले सेतोपाटीलार्इ जानकारी दिए।  
यसअघि राष्ट्रिय टोलीमा परेका अनिलकुमार मण्डल भने वैकल्पिक खेलाडीको सूचीमा परेका छन्। यसैगरी, विक्रम सोव, दीपेन्द्रसिंह ऐरी र प्रेम तामाङलाई पनि वैकल्पिक खेलाडीका रुपमा टोलीमा समावेश गरिएको छ। 
क्यानमा दुर्इ पक्षवीच विवाद भएपछि आईसीसीका निर्देशन अनुसार कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि भेन्कतापथी राजु रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। 
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०७:३०