चार वर्षभित्र सुर्खेत पूर्ण सफा

सरसफाइ सम्बन्धी रणनीति बनाइदैं


साझा बिसौनी संवाददाता
सुर्खेत, २४ चैत । 
सुर्खेत जिल्लालाई आगामी चार वर्षभित्र पूर्ण सरसफाइयुक्त बनाइने भएको छ । सन् २०२० सम्ममा जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउनका लागि रणनीति निर्माणको काम भइरहेको छ । चैतभित्र रणनैतिक योजना निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।
पूर्ण सरसफाइ रणनीतिक कार्ययोजना निर्माण कार्यदल अन्तर्गतको मस्यौदा समितिले योजना निर्माणको गृहकार्य थालेको हो । उक्त समितिले मंगलवारदेखि मस्यौदा निर्माणको प्रारम्भिक कार्य प्रारम्भ गरी  बुधवार मस्यौदा निर्माण गरिसकिएको कार्यदलका संयोजक एवम् जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डीवास–सीसी) सुर्खेतका सदस्य सचिव आविद हुसैनले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर प्रारम्भिक खाका तयार गरिएको छ र त्यसलाई सरोकारवालाहरूसँग छलफल गरी पूर्णता दिइनेछ । चैत २९ गते जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरूसँग अन्तरक्रिया गरेर त्यहाँबाट प्राप्त सुझावका आधारमा रणनीतिक योजनालाई अन्तिम रूप दिइने उनले बताए । 
कार्यदलले आगामी चार वर्षभित्र जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्यसहित योजनाको खाका तयार गरेको छ । ‘सन् २०२० भित्र लक्ष्य पूरा गर्ने गरी छलफल र तयारी गरिरहेका छौं’ कार्यदलका संयोजक हुसैनले भने, ‘सबै क्षेत्रबाट सहयोग भयो भने निर्धारित समयमै हामी लक्ष्य भेट्टाउन सक्छौं ।’ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकिएकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न सहज हुने उनले बताए । हाल जिल्लाका आधा दर्जनभन्दा बढी गाविसमा पूर्ण सरसफाइ घोषणाका लागि अभियान सुरु भइसकेको छ । सालकोट, कुनाथरी, धारापानी, रजेना, डाँडाखाली, लगाम, घोरेटा लगायतका गाविसमा कार्य प्रारम्भ भइसकेको हुसैनले जानकारी दिए ।
जिल्लालाई सफा र स्वच्छ बनाउने उद्देश्यले पूर्ण सरसफाइ रणनैतिक कार्ययोजना तयार पार्न लागिएको जनाइएको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा कार्ययोजना तयार हुन लागेको हो । खुला दिसामुक्त घोषणा भइसकेपछि त्यसलाई निरन्तरता दिन र थप सुधारका लागि यस्तो कार्यक्रम अघि सारिएको हो । चरणवद्ध रूपमा सबै गाविसमा पूर्ण सरसफाइ रणनैतिक योजना कार्यान्वयन गरिनेछ ।
कार्ययोजनामा राज्यले तोकेका पूर्ण सरसफाइका ६ वटा सूचकलाई पूरा गर्ने गरी रणनीति बनाइनेछ । जिल्लालाई सफा स्वच्छ बनाउने, सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने, सार्वजनिक स्थानहरूमा आवश्यक मात्रामा सार्वजनिक शौचालय निर्माण गर्ने, विद्यालय सरकारी र गैरसरकारी संघ–संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने, फोहोरको वैज्ञानिक ढङ्गले व्यवस्थित गर्ने लगायतका योजना निर्माण हुने जनाइएको छ । रणनीतिमा व्यक्तिगत सरसफाइदेखि घर आगनको सरसफाई, स्वस्थ परिवार निर्माण, सुन्दर समृद्धि टोल निर्माण लगायतका विषय समेटिने छन् । यसमा जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ–संस्थादेखि सम्पूर्ण तहका नागरिकहरूको प्रत्यक्ष सहभागिता रहनेछ । 
पूर्ण सरसफाइ रणनीतिक योजना कार्यान्वयन कार्यक्रम खुला दिसामुक्त घोषणा कार्यक्रमकै विस्तृत रूप भएको हुसैनले जनाएका छन् । सरसफाइ जिल्लाको प्रतिष्ठा र गौरवसँग पनि जोडिएको विषय भएकाले जिल्लावासी सम्पूर्ण नागरिकको भूमिका महŒवपूर्ण हुने उनी बताउँछन् । 
प्रकाशित मितिः   २५ चैत्र २०७२, बिहीबार ०७:०६