खडेरीले विद्युत् उत्पादन घट्यो
हुम्ला, २५ चैत । खडेरीले पानीकाे सतह घटेपछि हुम्लाको हिल्दुम साना विधुत् आयोजनाको विधुत् उत्पादन घटेको छ । लामो खडेरीले पानीको सतह घटेपछि अहिले २ सय ५० किलोवाट मात्र उत्पादन हुन थालेको छ ।सदरमुकामलगायत ६ गाविसका बासिन्दाका लागि विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम आयोजनाबाट अघिल्ला वर्ष ५ सय किलोवाट उत्पादन हुँदै आएको थियो । विधुत् उत्पादन घटेपछि सिमकोटका बासिन्दाले अहिले २० घण्टा लोडसेडिङ बेहोर्नुपरेको छ ।
खोलाको पानी सुकेकाले उत्पादन घटेको प्राविधिकले बताएका छन् । इन्जिनियर जाङवु शेर्पाले निर्माण सुरु हुनुभन्दा पहिले ५ सय किलोवाट भन्दा पनि बढी उत्पादन हुने देखिएपछि ६ गाविसलाई उपलब्ध गराउने लक्ष्य निर्धारण भएकोमा अहिले पानी सुकेकाले उत्पादन घटेको बताए ।
हिउँदमा पाँच फिटभन्दा बढी हिउ पर्ने हुम्लामा लामो खडेरीले खोला पनि सुक्दै गएका छन् । यो वर्ष हिउँ पनि खासै परेन । मुहान सुकेर पानी घटेकाले आपूर्तिमा समस्या भएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख इन्जिनियर ज्वालाराज शाहीले बताए ।
‘मुहान सुकेर ठप्पै त भएको छैन, तर खानेपानी पुर्याउनै मुस्किल भएको छ,’ उनले भने । शाहीका अनुसार सदरमुकाम सिमकोटमा खानेपानी उपलब्ध गराएको हुमाने खोला सुकेकाले बुराउसे खोलाबाट पानी ल्याएर पुरानो मुहानमा मिसाई वितरण गरिएको छ ।
जुम्ला सदरमुकाम खलंगामा पनि खानेपानीको हाहाकार भएको छ । मुहान सकेपछि सदरमुकामको भण्डारीबडा बस्तीका धारामा पानी आउन छाडेको छ ।
खोला सुकेकाले स्थानीय सानाजलविद्युत योजनाको विद्युत उत्पादन घटेको छ । यसबाट दैनिक तीन घण्टा मात्र विद्युत आपूर्ति भएको छ । खोला सुक्नु अघि तीन घण्टा लोडसेडिङ हुने गरेको थियो । मुहान सुकेपछि किसानले गाइबस्तु चराउन लैजान छाडेका छन् ।
चरनकै समयमा पानी खुवाउन नपाईने भएपछि उनीहरूले चराउन पनि बन्द गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पानी सुक्दै जॉदा सिंचाई प्रभावित भएको छ । यसबाट ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।
साझा बिसौनी संवाददाता ।