निर्वाचन अधिकृतको कार्यालय स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
राष्ट्रियसभाको निर्वाचनका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश नम्बर ६ बाट निर्वाचित हुने राष्ट्रिय सभाका सदस्यहरूको छनौट गर्न सुर्खेतमा निर्वाचिन अधिकृतको प्रदेश कार्यालय स्थापना भएको हो । वीरेन्द्रनगरमा कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको माहोल सुरु भएको हो ।


आगामी माघ २४ गते हुने यो निर्वाचनका लागि प्रदेश ६ को वीरेन्द्रनगरमा निर्वाचन अधिकृतको कार्यालय शनिवार स्थापना गरिएको हो । कार्यालय स्थापनाको उद्घाटन गर्दै जिल्ला न्यायाधीश एवम् राष्ट्रियसभा निर्वाचन ६ नम्बर प्रदेशका निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले यो प्रदेशमा निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए । विगतमा सम्पन्न निर्वाचन जस्तै यो निर्वाचनलाई पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन र नामावली उपर दाबी विरोधको उजुरी आगामी माघ ७ गते लिइने छ । यस्तै ८ गते अन्तिम नामावली प्रकाशन, १० गते उम्मेदवारको मनोनयन दर्ता र सूची प्रकाशन गरिने छ । उम्मेदवारविरुद्ध परेका उजुरीहरू भने माघ ११ गते लिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै माघ १३ गते मनोनयन दर्ता र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, १४ गते मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिन्हसमेत प्रदान गरिनेछ । माघ २४ गते हुने यो निर्वाचन अन्तर्गत प्रदेश ६ को मतदान भने वीरेन्द्रनगरमा हुनेछ । यो प्रदेशका मतदाता मतदान गर्न वीरेन्द्रनगर आउनुपर्नेछ ।
यो निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसदहरूले मतदान गर्ने पाउनेछन् । यो प्रदेशबाट ८ जना राष्ट्रियसभाका सदस्यहरू निर्वाचित हुनेछन् । यो प्रदेशमा रहेका ५४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी एक सय आठ तथा २५ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५० जनाले मतदान गर्न पाउने छन् । यस्तै यो प्रदेशमा प्रदेशसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित २४ र समानुपातिकबाट निर्वाचित हुने १६ जना गरी ४० जना सांसदले पनि मतदान गर्नेछन् । निर्वाचित आयोगका अनुसार राष्ट्रियसभाका सदस्य छनौटका लागि यो प्रदेशमा जम्मा एक सय ९८ जनाले मतदान गर्नेछन् । निर्वाचन अधिकृत पौडेलले प्रदेश नम्वर ६ बाट राष्ट्रियसभा सदस्यमा तीन जना खुल्ला, तीन जना महिला, एक÷एक जना अल्पसंख्यक र दलित गरी जम्मा आठ जना सदस्य निर्वाचित हुने बताए । निर्वाचन अधिकृतको
कार्याले उद्घाटनको क्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले स्थानीय तहको निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सकिएसँगै राष्ट्रियसभाको निर्वाचनको रौनक सुरु भएको बताए । संघीयता कार्यान्वयनको चरणमा देश रहेको उल्लेख गर्दै उनले निर्वाचनलाई सम्पन्न गर्न आफूहरूले कनै कसर बाँकी नराख्ने बताए । विगतका निर्वाचनमा राजनीतिक दलहरू संयम भएकाले जिल्लामा कुनै अप्रिय घटना नभएको भन्दै यसपाली पनि सहयोगको अपेक्षा गरे । राजनीतिक दलहरूले नै निर्वाचनमा सहभागी हुने भन्दै उनले विवादरहित तरिकाले राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुने जनाए । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले निर्वाचनमा अमर्यादित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको जानकारी दिए ।
धेरै मतदाता नभएकाले राष्ट्रियसभाको निर्वाचनमा असुरक्षाको महसुस हुन नदिने गरी काम गर्ने उनको भनाइ छ । सो अवसरमा नेकपा एमालेका जिल्ला सचिव मोहन बडुवालले जनताको अभिमतको सम्मान गर्न निर्वाचनलाई सदुपयोग गर्दै सफल बनाउने प्रतिबद्धता जनाए । संविधान कार्यान्वयनमा निर्वाचनले महŒवपूर्ण भूमिका खेल्ने भन्दै उनले तत्काल निर्वाचनतर्फ सबै राजनीतिक दलहरू केन्द्रित हुनुपर्ने बताए । प्रदेश र संघले पूर्णता पाउन ढिलाइ भएको उल्लेख गर्दे उनले सरकार गठनमा राजनीतिक दलहरूबीच विवाद हुनु संविधानको मर्म विपरित भएको बताए । यस्तै कांग्रेसका जिल्ला कोषाध्यक्ष अनन्त पौडेलले निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्लाका दलहरू प्रतिबद्ध रहेको बताए । निर्वाचनले लोकतन्त्र बलियो हुने र जनताको अभिमत प्रकट हुने भन्दै निर्वाचनलाई सफल बनाउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मितिः   ३० पुष २०७४, आईतवार १६:१०