‘शिक्षक बन्ने रहर थियो, नेता भएँ’
मोहन बडुवाल नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका बडुवालले अनेरास्वीयुको प्रारम्भिक किमिटी सदस्यबाट पार्टीको जिल्ला कमिटी सचिवसम्मको राजनीतिक यात्रा तय गरिसकेका छन् । वि.सं. २०३६ पुस ४ गते तत्कालीन लगाम गाविसमा जन्मिएका बडुवालले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
मेरो बुबा म तीन वर्षको हुँदा बित्नु भएको हो । बुबा बित्नु भएको धेरै सम्झना छैन् । अलि–अलि सम्झन्छु । सबै जना रोइरहेको देखेर म पनि रोएको थिएँ ।
म ५÷६ वर्षको उमेरमा विद्यालय पढ्न जान थालेको हुँ । भौगोलिक हिसाबले विकट क्षेत्र । त्यसबेलामा शिक्षाको पहुँच त्यति सहज थिएन । गाउँमा ८ कक्षासम्म पढाइ हुन्थ्यो । मैले कक्षा १ देखि ८ सम्म नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय लगाममा पढें । विद्यालय जान आधा घण्टा समय लाग्थ्यो । मलाई ठूलो दाईले बाकेर विद्यालय लैजानुहुन्थ्यो । अप्ठ्यारो ठाउँमा मलाई उहाँले बोक्नुहुन्थ्यो । कक्षा १ मा भर्ना हुँदा त्यस्तै म ५÷६ वर्षको थिएँ । विद्यालयमा पुगिसके पछि एक जना मधेशबाट आउनु भएको सरले अक्षर लेख्न सिकाउनु भएको थियो । शिक्षकहरूले माया गर्नुहुन्थ्यो । सुरु–सुरुमा घरको वातावरणबाट विद्यालयमा जाँदा अप्ठ्यारो महसुस भएको थियो । पढ्न गएको पहिलो वर्ष कहिले विद्यालय जाने कहिले नजाने पनि भयो । तर पछि साथिभाइ र शिक्षकको मायाले सजिलो हुँदै गयो ।
दुई कक्षामा पढ्न थालेपछि मेरो पढाइ राम्रो हुँदै गयो । त्यसवर्ष म विद्यालयकै सर्वोत्कृष्ट भएको थिएँ । त्यसपछि कक्षा १० सम्म प्रथम वा द्वितीय स्थानमा रहेरै पढाइ पूरा गरें । पढाइप्रति मेरो लगनशीता र मेहेनत राम्रो नै थियो । मैले पढ्नुपर्छ भन्ने मात्र लाग्थ्यो । दुई कक्षामा पढ्दादेखि नै मैले कक्षा मनिटरको जिम्मा पाएँ । एसएलसीसम्म नै मैले कक्षाको मनिटर भएँ । प्रत्येक कक्षामा मलाई नै सरहरूले मनिटर बनाइदिनुहुन्थ्यो । मलाई पढाइमा राम्रो छ, जान्नेछ भनेर जिम्मेवारी दिइएको हो । कहिले काहीं शिक्षक कक्षा कोठामा नआउँदा मैले नै साथीहरूलाई पढाउँथे । खाली भएको समयमा वादविवाद प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न रचनात्मक कार्यक्रमहरू गर्ने गथ्र्यौं । मैले सानैदेखि नेतृत्व लिने अवसर प्राप्त गरें । विद्यालयमा जुनियर रेडक्रसको अध्यक्ष भएर विभिन्न सामाजिक सेवामा सहभागी हुने अवसरहरू पाएँ । विद्यालयमा हुने वादविवाद प्रतियोगितालगायत अन्य क्रियाकलापहरूममा अनिवार्य सहभागी हुने गर्थें ।
सबै दाजुदिदीको कान्छो भाइ भएकोले मैले घरमा सबैको माया पाएँ । बुबाको निधन भइसकेपछि सबै जिम्मेवारी दाईले लिनु भएको थियो । त्यसकारण पनि मैले घरको केही गर्नुपरेन । म सानै भए पनि मैले मेरो उमेर सरहका साथीहरूसँग साथ गर्ने मौका नै पाइनँ । म सधैं आफूभन्दा ठूलासँग मात्र संगत गर्थें । त्यसैले मेरो बाल्यकालमा खेलेको रमाइलो गर्न गएको सम्झना नै छैन । घरमा भने मैले गर्नुपर्ने एउटा मात्रै काम थियो । खोलाबाट पानी ल्याउने काम । बिहान एक गाग्री पानी ल्याएर विद्यालय पढ्न जाने र साँझ विद्यालयबाट फर्किपछि फेरि एक गाग्री पानी ल्याउने । यो काम मेरो दैनिकी नै थियो । पानी लिन घरदेखि करिब आधा घण्टा जति लाग्थ्यो । पानी लिन जाँदा धेरै साथीहरू हुन्थे । सबै जना पानी ल्याएर विद्यालय जाने र साँझ विद्यालयबाट फर्किएपछि पानी ल्याउने काम नै हुन्थ्यो । शनिवारको समयमा भने रहरले घाँस काट्न जान्थें । दाइदिदीहरूले मलाई जंगल पठाउनुहुन्थेन । म आफै रहरले घाँस काट्न विद्यालय बिदाको समयमा जाने गर्थें ।
सानोमा जे राम्रो लाग्यो त्यही बन्न मन लाग्थ्यो । त्यसबेला मलाई शिक्षक र नेता बन्न मन लाग्थ्यो । शिक्षकहरूलाई सबैले नमस्ते गर्ने, मानसम्मान गर्ने । बाजे पनि शिक्षकलाई नमस्ते गर्ने, बुबाले पनि शिक्षकलाई नै नमस्ते गर्ने, आफूले पनि शिक्षकलाई नै नमस्ते गर्ने अनि विद्यालयमा पनि सबै साथीभाइहरूले शिक्षकलाई नै नमस्ते गर्ने । यो सबै देख्दा पढेर पछि शिक्षक नै बन्छु भन्ने लाग्थ्यो । कहिल काहीं गाउँका नेताहरूलाई देख्दा नेता बन्न मन लाग्थ्यो । एक दिन हाम्रो घरमा गाउँका प्रधानपञ्च आउनुभएको थियो । त्यसभन्दा अघि मैले उहाँलाई देखेको थिएन । मान्छे पनि हड्टाकट्टा, राम्रो बोल्ने । समाज सेवा पनि गर्ने । उहाँलाई देखेपछि मलाई नेता जस्तै बन्न पाएको भए हुन्थ्यो जस्तो लागेको थियो ।
कक्षा आठसम्म आफ्नै गाउँमा पढेपछि पढ्नको लागि कैलाली गएँ । त्यसबेलामा गाउँमा कक्षा आठसम्म मात्र थियो । कि पढ्नको लागि वीरेन्द्रनगर आउनुपर्ने हुन्थ्यो । वीरेन्द्रनगर आउन पनि धेरै टाढा थियो । नजिक कैलाली हुने भएकोले म कैलाली नै गएँ । फेरि हाम्रो गाउँबाट प्रायः पढ्न जाने कैलाली नै थियो । कक्षा नौदेखि मैले कैलालीमा पढें । त्यहाँ थारुको घरमा बस्नुपथ्र्यो । उनीहरूको छोराछोरी पढाइदिए बापत उनीहरूले बस्न र खानको व्यवस्था गर्थे । पहाडबाट गएकाहरूले त्यहाँ छोराछोरी पढाइदिने र थारु समुदायको घरमा बस्ने चलन थियो । पढ्नको लागि कैलालीमा जाँदा सुरुमा असजिलो महसुस भएको थियो । आमा त आधा बाटोसम्म पु¥याउन जानुभएको सम्झना अझै पनि आउँछ । आमाले बाटोमा खाने खाजा र बस्ने व्यवस्था नहुनजेलसम्मको लागि केही खर्च झोलामा राखिदिनु भएको थियो । आमाको काख छोडेर बाहिर जाँदा नरमाइलो लागेको थियो । तर आफ्नो पढ्ने जिम्मेवारी सम्झेर मन समालेर गएँ ।
गाउँतिरका मानिसहरू प्रायः हाट बजार कैलाली नै जान्थे । आमाले बेलाबेला गाउँबाट मान्छेहरूसँग कोशेलीहरू पठाइरहनु हुन्थ्यो । फोनको जमाना थिएन । हाट बजार आउने मानिसहरूसँगै खबरहरू आदान–प्रदान हुन्थ्यो । एक्लो महसुस पनि हुन पाएन । पढाइमा राम्रो भएकोले विद्यालयमा सबै साथीभाइ शिक्षकहरूको माया साथ सहयोग पाएँ । कक्षा नौ मा नै मैले कक्षाको मनिटर हुने मौका पनि पाएँ । कक्षा नौ मा नै पढ्दै गर्दा अनेरास्वयु विद्यालय प्रारम्भिक कमिटीको सदस्य भएँ । त्यसपछि जिल्ला कमिटी कैलालीको सदस्य भएँ । कक्षा ९ को परीक्षा दिएपछि मैले अनेरास्वयु कैलालीको सदस्यमा चुनाव जिते । त्यसबेलामा २४ जना मध्ये १९ जनाले मेरो ईलाकाबाट भोट गरेका थिए ।
एसएलसीपछि मैले कैलाली बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तह भर्ना भएँ । तर एक वर्ष पढाइ ग्याप भयो । म गाउँमा आएँ । त्यसबेलामा २०५४ सालमा स्थानीय चुनावको चहल–पहल थियो । मैले त्यो चुनावमा सक्रिय भएर लागें । चुनाव सकिएपछि गाउँ कमिटीको अधिवेशन भयो । त्यसबाट मैले सचिवको जिम्मेवारी पाएँ । त्यसपछि गाउँकमिटी सक्रिय दलको दुई वर्ष सचिव भए । त्यसबेलामा सचिवलाई प्रमुख भनिन्थ्यो । नेकपा एमाले सुर्खेतको पाँचौं जिल्ला अधिवेशनबाट सदस्य भएँ । अहिले जिल्लाको सातौं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएको हुँ ।
साझा बिसौनी संवाददाता ।