पीडा भित्रको पीडा

जेबी गाउँले
गाउँमै जन्मिएँ गाउँमै हुर्किएँ तर गाउँघर डाँडापाखा छाँगाछहरासँग राम्ररी परिचित हुनै पाइनँ । वर्षौं पछि म घुमघामकै शिलशिलामा गुराँसेतिर प्रस्थान गरेको थिएँ । गुराँसे चिङ्गाड क्षेत्रमै चर्चित झरना हो । उत्तरगंगा नदी यसको मुहान हो भन्ने सुनेको थिएँ त्यसैले पहिला उत्तरगंगा भएरै गुराँसेतिर जाने योजना बनाएँ । डाँडापाखा वनजंगल छिचाल्दै म उत्तरगंगा पुगें । लेकसाइडतिर त्यो पनि हिउँदको समय एकदमै चिसो र सुनसान थियो । चराचुरुङ्गीको चिरविर चिरविर र उत्तरगंगाको सुसावट बाहेक अरु कुनै आवाज सुनिदैन्थ्यो । उत्तरतिर बग्ने नदी भएकोले उत्तरगंगा भन्दा रहेछन् । कतातिर बगिरको थियो एक्छिन त मलाइ ठम्याउनै गाह्रो भयो । पछि पत्ता लगाए सुरुमा तलबाट माथितिर गएर फेरि घुमेर पल्लोपटिबाट तल्तिर झरेर गुराँसेमा मिल्दो रहेछ ।


उत्तरगंगालाई छिचोल्दै गुराँसेतिर जाँदै गर्दा पल्लोपट्टिको भिरमा विरहको गीत गुन्जिरहेको कुनै महिलाको आवाज सुनियो । गुराँसे हेर्न भनी ओरालो लागेको मलाइ तिनै महिलाको विरह भाकाले बिर्साइदियो । मनमा उनलाई भेटेर उनको कहानी सुन्ने हुटहुटि चल्न थाल्यो । नजरमा पारि पाखापट्टि घाँस काटिरहेकी महिला आइन् । म पनि त्यतैतिर लागें । हेर्दा उनी एकदमै गरीब जस्ती लाग्थिन । झुत्रेझाम्रे तर सेता कपडा लगाएकी थिइन् । उनी एकल महिला रहेछिन् ।
मैंले उनिसंग कुरो गर्ने प्रसंग नै पाइनँ । भनेँ, ‘दिदी ऊ त्यो गुराँसे जाने बाटो कता छ ?’ उनले मतिर हेर्दा पनि नहेरी आफ्नै सुरमा घाँस काट्दै भनिन् ‘नानी ..! बाटो त अलि मास्थिर बाटै पारिपट्टी गएर तल गको भए भेटिन्थ्यो । यता भिरतिर पस्नु भएछ । यहाँ बाट सिधा उतातिर गए नि त्यहिँ जान्छ तर अलि अफ्ठेरो छ । फेरि लड्नु होला नि राम्ररी जानुहोला ।’
म उनलाई सुन्दै थिएँ । उनले मेरो प्रश्नको जवाफ दिएर मलाई केही प्रश्न गरिन् । ‘अनि नानी ! कहाँबाट आउनु भ’को नि ? घर कता पर्यो र ? कहाँसम्म जानलाइ पाल्नु भएको ? अरु साथीसंगीहरू पनि कोही रहेनछन्, एक्लै यत्रो जंगलको बाटो ?’ एक्छिन् घाँस काट्न छोडेर उनले एक टकले म तिर हेरेर प्रश्नमाथी प्रश्न बर्साउन थालिन् । मैंले भने ‘दिदी, मेरो घर त पहिला यही गाउँमै थियो । बचपन यतै गुज्रेथ्यो । उतिबेला वनजंगल डाँडापाखा छाँगा छहरा घुम्न त्यति फुर्सद भएन । अहिले सहर तिरै बस्न थालेसी गाउँ–ठाउँ घुम्न सारै रहर लाउँछ । त्यसैले त्यस्तै घुमघाम गर्दै आको ।’
मैंले भने, ‘दिदी, घरमा अरु कोही छैन ? हजुर एक्लै हुनुहुन्छ क्यार !’ उनले भनिन्, ‘छन नि किन छैनन र ? तर एउटी आइमाइको लागि आफ्नो श्रीमान् नभएसी घर नै शून्य जस्तो हुँदोरहेछ । पति नै नहुँदा अरु आफन्त भन्नेहरू नि दुश्मन निक्लदा रैछन बाबु ।’ मैले फेरि सोधें, ‘अनि दिदी के भएर यसो भयो ? कति भयो उहाँ बित्नु भा’को ?’ त्यसपछि भने उनी धाराप्रवाह रूपमा आफ्नो कहानी सुनाउन थालिन् ।

सानै छँदा बा बित्नुभयो । त्यतिबेला सायद ६÷७ वर्षकी हुँदी हुँ । अझ भाइ त भर्खर जमिएको थियो । बा न भएसी हामी त आधा टुहुरा भइसकेका थियौं । घरमा समस्यै–समस्या थियो । उहिलेको जमाना एउटी विधवा आईमाईलाई घर गरी खान त्यति सहज कहाँ थियो र ? र पनि आमाले ज्यूँ–त्यूँ गरेर हामीलाई हुर्काउने र बढाउने गरिन् । घरमा सबै भाइबहिनि सानै थियौं । गरिखाने भैसकेका भए पनि त आमाको अलि सास आउँदो हो । काका काकी भए पनि नभएजस्तै गर्थे । त्यस्तै दुःख पीडा खपेर नि आमाले हामीलाई टुहुरा बन्न दिइनन् । दिन त्यसैगरी गुज्रिदै गए । मेरो उमेर नि छिप्पिदै गयो । इन्डियातिर कमाउन जानेहरूलाइ उतिबेला लाहुरे भन्थे । घरमा कोही लाहुर गएर पैसा कमाइरहेको छ भने त्यतिबेला उसको घर अलि हुनेखाने दर्जामै गनिन्थ्यो ।
एकदिन भिनाजुसँग उनी हाम्रो घरमा आए । भर्खर लाहुरबाट आएका रै’छन् । टाढा टाढाबाट भिनाजुको नातागोता पर्नेवाला रहेछन् । उहाँले नै आमासँग भन्नु भएको थियो । ‘सासु ! माइलीलाई यो राजेन्द्रसँग बिहा गरिदिए कस्तो होला ? केटो इमान्दार छ अलि–अलि पढेलेखेको नि छ । लाहुर गएर पैसा कमाउनेसम्म भइसक्यो । अस्ति भर्खर मात्र आएको लाहुरबाट ।’ आमाले पनि नाँइनास्ती गरिनन्, ‘हुर्के बढेकी छोरी छे । सधैं माइतमै बस्ने होइनन् । एक्दिन त अर्काको घर जानै पर्छ । राम्रै कुटुम्ब भएपछि नाइँ कसरी भन्नु र !’
आमाले स्वीकृती दिएपछि मैले पनि नाइँ भन्ने कुरो भएन । त्यसै दिन हाम्रो बिबाह भयो । विवाह भइसकेपछि अलि वर्ष राम्रोसँग बिते । विवाह भएको २÷३ वर्ष उनी लाहुर गएनन् । त्यसको केही वर्षपछि माओवादी युद्धको त्रासले गाउँमा युवाहरू बस्नै छोडेका थिए । त्यसैले उनी पनि माओवादिको हप्की दप्कीबाट बचिने र अलि–अलि कमाइ नि होइजाला भनेर बम्बैतिर गए । देशमा अलि–अलि शान्ती छाउन थालेपछि उनी पनि घर फर्किने तयारीमा थिए । त्यसको दुई तीन दिन पहिला चिठ्ठी पठाएका थिए, ‘गाउँमा पनि शान्ति हुन थालिसकेछ । दुई÷तीन वर्ष काम गरेर अलि–अलि पैसोपानी पनि जम्मा भएको छ । अब म छिट्टै घर आउँछु । अब त लाहुरतिर नआउने बरु यही पैसाले गाउँमै केही गरेर बस्नुपर्ला ।’
त्यसदिन उनी घर फर्किदै रहेछन् । बम्बैबाट आउनेहरू प्राय रेलगाडीमा आउँदा रहेछन् । उनी पनि रेलमै आउँदै रहेछन् । कानपुरमा रेलगाडी पल्टिएछ । रेलमा सवार कोही यात्रुहरू पनि बच्न पाएनछन् । उनी पनि त्यसै दुर्घटनामा परेर बिते । मेरो जीवनमा भने त्यसैदिनबाट ग्रहण लागिसकेको थियो । इन्जिन नै जलेर सबै सखाप भएपछि दाहासंस्कार गर्ने अस्तिसम्म पनि आएन । जेठो छोरा तीन वर्षको थियो । कान्छो गर्भमै थियो । सात महिना भइसकेको थियो । उनको पैंतालीस दिने कर्म भएको १०÷१५ दिनमै व्यथा लाग्यो । एकातिर श्रीमान्को वियोगको पीडा अर्कोतिर प्रसव पीडा । म जीवन मृत्युको दोसाँधमै थिएँ । मलाई लाग्यो अब म बाँच्दिन । बाँचेर मात्रै के गर्नु थियो र ! जीवनभर पीडै पीडा त हो । तर ठूलो छोरालाई सम्झिन्थें । कथमकदाचित केही भइहाल्यो भने यो टुहुरोको के हाल होला ? भाग्यवश भनौं या अभाग्यबश त्यतिबेला म मरिनँ, बाँचीहालें । अचेल लाग्छ बरु त्यतिबेलै मरिदिएको भए त यत्तिका दुःख पीडा खप्नुपर्ने थिएन ? कतिले सहानुभूतिको भावमा भन्थें, ‘कठै विचरा ! यो वैशाखीको
भाग्य ! यो उमेरमै बिधवा भइ । एक्ला–एक्लै कसरी काट्ली दिन । आधाभन्दा नि ज्यादा जिन्दगी त बाँकी नै छ ।’ कोही भने यस्तो भन्थे ‘२४÷२५ वर्षमै विधुवा भइ । यतिको जिन्दगी कसरी एक्लै काट्नु ? यो घरमा के हेरेर बस्ली वैशाखी । राम्रो घराना भेटाइ भने कतै हिँड्ने त होलि ।’ तर उनीहरूको कल्पना कल्पनामै सीमित भयो । मैंले दोस्रो विवाह गरिनँ ।
उनको मृत्युको केही वर्ष त घरमा त्यति नराम्रो व्यवहार कसैले गरेनन । तर २÷३ सालपछि भने सासू आमा दिनदिनै के के निउँ खोज्दै झगडा गरिरहन थालिन । पहिला पहिला म माइतमा गएर आमाको काखमा गएर खुब रुन्थे बिलौना गर्थें । आमा भन्थिनँ ‘क्यार्छेस त नानी । दैवले तेरो सुख देख्न सकेन । मेरो कर्म फुटिहाल्यो । आफ्ना सन्तान कसैलाई यो भाग नपरोस् भनेर देवी देवता भागिरहन्थे तर मेरो भाकल देउताले सुनेनन् । यी आँखाले तँलाइ यो सेतो पहिरनमा देख्दा मलाई कति पिरोलिरहेको होला । नानी हिम्मत हार्नु हुन्न । तिनै छोराको मुख हेरेर चित्त बुझाएस । कुनै दिन दिनदसा घुमिहालेछन् भने यी छोराले तेरो देखभार गरिहाल्लान ।’
पछि त गाउँ घरमा नि सबै हेपिरहन्थें । कसैका बाल बच्चा पशु केही बिरामी परेर मर्दा नि मैलाइ दोश लगाएर गाली बेइज्जति गर्न थाले, ‘तँ बोक्सीले आफ्नो पोइ त खाइस खाइस हामीलाईसमेत नछोड्ने भइस् ।’ घरमा झगडा गर्दा सासु भन्थिन् ‘तँ अलक्षिणी यो घरमा आएर हाम्रो सुख शान्ति सबै खोसिस । तँ डंकिनी बोक्सीनिले मेरो छोरालाई खाइस् । अब एक्दिन आफ्ना छोरा हामी सबैलाई खाने त होलिस् । निस्की जा यो घरबाट ।’ एउटी नारीको लागि पतिको मृत्यु पछि त सबै राक्षस भन्दा नि कठोर व्यवहार गर्दा रहेछन् ।
सासुसँग झगडा परेको त्यो रातभरी मलाइ निद्रा परेन । घरी–घरी याद आइरहन थाल्यो, ‘तँ अलक्षिणी बोक्सिनीले मेरो छोरालाई खाइस् एक्दिन हामीलाई नि त्यसैगरी खानेछस् । जा तुरुन्त निस्की जा यो घरबाट ।’ कतिबेला लाग्थ्यो, यस्तो अत्याचार खपिरहनु भन्दा त दोस्रो विवाह गरेर आनन्दले बाँकी रहेको जिन्दगी काटुँ । कहिल्यै लाग्थ्यो, आत्माहत्या नै गरेर प्राण त्यागीदिउँ । तर टुहुरा छोराहरूका निर्दोष अनुहार हेर्थें । हैन हैन म यति ठूलो पाप कसरी गर्नसक्छु ? बरु आफ्ना बच्चाबच्ची लिएर ढुंगाजस्ता कठोर यिनीहरू भन्दा कतै टाढा गएर छोराहरूलाइ हुर्काउँछु बढाउँछु । रातभरी यस्तै यस्तै तर्कनाहरू मनमा आइरहे ।
बिहान झिंसमिसेमै आफ्नो कुम्ली कुठुरा बनाएर छोराहरूलाई लिएर माइत गएँ । अघिल्लो रात भएको घटना सप्पै बेलिविस्तार लगाएर आमालाई सुनाएँ । आमा अब म त्यो घरमा बस्न सक्दिनँ । आमा त मेरो काखमै घोप्टो परेर रुन पो थालिन् । पछि भाइ आएर भन्यो दिदी अब नरोउँ । त्यो घरमा नजाने नै भए नि ठिकै छ नि । दुःख जेलो गरेर जसरी भए नि तिमीलाई अनि यी भान्जाहरूलाई लालन पालन गर्न नसकुला र मैले । भयो अब धेरै चिन्ता नगर ।
भाइको वचनले मलाइ ढाडस त दियो तर छोरी मान्छे भएर जिन्दगी भर माइतमै कसरी बस्नु । फेरि एक्लै हो र ? यी लालाबालाको साथ । ठीक छ । अहिले त भाइ एक्लो छ र त्यस्तो केही खटपट नहोला । पछि विवाहा गरेसी अर्काकी छोरी आउले । के सधैं म यहाँ शान्तिले बस्न पाउला ? अहँ .! यो हुनै सक्दैन । मैंले भने ‘आमा, बरु म माथी लेकतरै गइहाल्छु । अलिअलि उब्जाउ हुने जग्गा नि छ । बस्नको लागि घर पनि छ । माथि अचेल घरकाले नि छोडिसकेका छन् । त्यहाँ गएर नि झगडा गरें भने त आफ्नो अंश मागौंला । यिनीहरू नि त त्यो घरका बारिस हुन नि ।’ त्यति भनेपछि भाइले भन्यो, ‘आमा दुई भैंसी छन् एउटा भैंसी र दुईवटा बाख्रा दिदीलाई दिई दिउँ खेतीपाती गर्ने समयमा यहीँबाट गोरु लिएर खेती लगाइदिउँला ।’ त्यसै दिनदेखि म एक्लै यतै लेखतिरै बस्न थालें ।

उनको कहानी सुन्दै गर्दा मेरो आँखाबाट अनयासै बर्बाती आँसु झरेछन् । उनले भनिन्, ‘नानी तपाईं त रुनु भएछ । लोग्ने मान्छे भएर नि कहीं यस्तो हुन्छ ?’
हतार–हतार मैंले आँसु पुछेर उनकै कुरा सुन्दै गएँ । उनी भन्दै गइन्–यता गाउँका मान्छेहरूको अत्याचार र दुव्र्यवहार देख्दा मलाई त लाग्थ्यो सबै मान्छेहरू त्यस्तै निठुरी हुन्छन् । कसैलाई कसैको बारेमा चिन्ता हुन्न । कसले कसको पीडा सुन्नु र बरु अझैं पीडामाथि पीडा थपिरहन्छन् । देख्नु भो त अधबैंसे उमेरमै विधवा भएर दुःख पीडा झेलिरहेको म जस्ती अबला नारीलाई सहयोग सहानुभूति दिनुपर्ने ठाउँमा उल्टै डंकिनी बोक्सिनी भन्दै गाउँबाट निकालेर कति पीडा दिइरहेका छ । कसले बुझ्थें र यहाँ पीडाभित्रको पीडा कस्तो हुन्छ ?
तर नानी हजुरजस्ता कोमल मन भएका मान्छेहरू पनि त रहेछन यो दुनियाँमा । जसले केही मद्दत गर्न नसकेनी अरुको दुःख पीडा नि आफ्नै जस्तो सम्झेर एक थोपा आँसु चुहाएर भए पनि सहानुभूतिसम्म नि देखाउँछन् ।
अन्तमा मैंले सोधेँ, ‘अनि दिदी बाबुहरू कहाँ छन नि ?’ उनले भनिन ‘घरमै छन् । केटाकेटीलाई भीरपाखामा के ल्याउनु भनेर ल्याउदिनँ ।’
पकेटमा भएको सबै पैसा झारझुर गरेर हजार जति रहेछ । त्यो सबै उनकै हातमा थमाइदिएँ । तर उनले त्यो पैसा लिनै मानिनन । मैंले भनें ‘राख्नुस् न दिदी ! धेरै रहेनछ । त्यति भए नि घरमा बाबुहरूलाई केही किनेर ल्याइदिनु होला ।’ पछि उनी आफ्नो घर जान खुवै कर गरिरहेकी थिइन् । तर मैले पछिल्लो दिन नै सहरतिर जानुपर्ने भएकोले अर्को दिन कहिल्यै बस्ने गरेर आउला भनेर त्यहाँबाट निस्किएँ । धेरै तल आइसक्दा नि मैले पछि फर्केर हेरें उनी त्यसैगरी एक्टकले मतिरै हेरिरहेकी थिइन् ।
(सुर्खेत मटेला–४)

प्रकाशित मितिः   २९ पुष २०७४, शनिबार १६:०३