मगर संस्कृति र कला प्रदर्शन

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ पुस ।
माघे संक्रान्ति नजिकिदैं गर्दा सुर्खेतमा विशेष रौनक सुरु भएको छ । माघे संक्रान्तिकै अवसरमा वीरेन्द्रनगरमा मेला आयोजना गरिएको छ । यो पर्वलाई मगर समुदायले सबैभन्दा ठूलो चाडको रूपमा मनाउने गरेका छन् । मगर समुदायकै अगुवाइमा वीरेन्द्रनगरमा बिहीवारदेखि माघे संक्रान्ति मेला सुरु भएको हो ।


मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । विशेष महŒवको यो पर्वको अवसरमा मगर समुदायले आफ्नो संस्कृति र परम्परालाई जोगाउन बिहीवारदेखि वीरेन्द्रनगरमा माघी मेला आयोजना गरेको हो । मगर समुदायका कला र संस्कृति लोप हुन नदिन मेलाको आयोजना गरिएको हो । पछिल्लो समयमा विदेशी संस्कृतिको बढ्दो आकर्षणसँगै मौलिक कला र संस्कृति लोप हुने खतरा बढेको भन्दै मेला आयोजना गरिएको हो ।
नेपाल मगर संघ सुर्खेतका अनुसार आजदेखि मेलामा (शुक्रवार) मेलामा सोरठी, ख्याली, सालैजो, कौडा भाका र दोहोरी लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन हुनेछन् । यस्तै मेलामा मगर समुदायका खानाका विभिन्न परिकारका स्टलहरू पनि राखिएको छ । मेलामा चौधरी समुदायको खाना, खाजा परिकार अन्तर्गत ढिकुरी, गंगटा, घुँगी र सिंगे माछा लगायतकाको स्वाद मेला अवलोकन गर्न जानेले पाउने बताइएको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार दर्शकहरूको मनोरञ्जनका लागि मेलामा धनुषवाण प्रतियोगिता, छेलो एवम् एकल नृत्य प्रतियोगितासमेत गरिने छ ।
मेलाका संयोजक एवम् नेपाल मगर संघका जिल्ला अध्यक्ष डिलबहादुर वंशी मगरले दर्शकहरूको मनोरञ्जनका लागि राष्ट्रियस्तरका कलाकारहरूको पनि प्रस्तुती रहने जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने मेलामा सम्झना लामिछाने मगर, निरु श्रीष मगर, मोडेल आरुशी मगर, लक्ष्मी राना मगर, तिला गरंजा मगरलगायतका कलाकारहरूको आ–आफ्नो प्रस्तुती राख्ने बताइएको छ । यसैबीच मगर समुदायका पुरुषले शीरमा पगडी, निधारमा सेतो टीका, काँधमा सेतो गाँदो र कम्मरमा सेतो धोती पहिरिने गर्छन् । त्यसैगरी ढाँकाको ब्लाउज, एक काँधमा पटुकी र कम्मरमा हँसियासहितको खुर्पेटो र लुङ्गी मगर समुदायमा महिलाहरूको पोषाक हो । तर पछिल्लो समयमा यो पोषाकको प्रयोग सीमित बनेको छ ।
जातीय पहिचानको प्रमुख आधार मानिने मगर पोषाक विशेष पर्व र रमझममा मात्रै खुम्चिएको पाइन्छ । बालकदेखि युवायुवतीसमेत मगर समुदायको विशेष पर्व माघीमा मात्रै यो पोषाक लगाएको देख्न सकिन्छ । तर, वीरेन्द्रनगरमा शुरु भएको माघी मेलाको स्थल रंगशालामा बिहीवार मगर सुमदायका बालकदेखि वृद्धसम्म मगर पोषाकमा सजिएका थिए । बढ्दो पश्चिमा शैलीतर्फ केन्द्रित भएकाले पोषाक संरक्षणमासमेत चुनौती थपिदैं गएको मगर समुदायका अगुवाहरू बताउँछन् । मगर समुदायको मौलिक संस्कृतिलाई संरक्षणका लागि राज्यले नै निती बनाउनुपर्ने मगर अगुवाहरूको माग छ । मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष बसन्त घर्ती मगरले देशमा संघीयता कार्यान्वयन भएसँगै मगर समुदायको संरक्षणका लागि अधिकार पाउने बताए ।
‘मगर समुदायको कला संस्कृतिको धनी मानिन्छ’ उनले भने, ‘पछिल्लो समयमा यसको संरक्षणको अभावमा लोप भइसकेको छ ।’ उनले मगर समुदायको पहिचान गुम्न नदिन ‘मगरात स्वायत्त क्षेत्र’ का लागि आवश्यकपर्ने अधिकार प्रदेश सरकारबाटै बनाउन सकिने संविधानमा उल्लेख भएको बताए । संघीय संरचनामा देश गएसँगै मगर समुदायले स्वायत्त रूपमा आफ्ना अधिकारको संरक्षण गर्न पाउने विश्वास उनले व्यक्त गरे । मेलाको उद्घाटनका क्रममा सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले मगर समुदायको हक अधिकारका लागि संघीयता कार्यान्वयन आवश्यक रहेको बताए । उनले जनजातिका हकअधिकार सुनिश्चितताका लागि संघीयताले सबैलाई समेटेको बताए । माघीमा विशेषत दाजुभाई वा माइतीले चेलीबेटीलाई पूजा गरी दक्षिणा दिएर आपसी भावनात्मक सम्बन्ध बढाउँदै मनाइन्छ । पर्वका अवसरमा लडाकु कला र कौशल सिकाउन तथा छनौट गर्न युवाहरूलाई धनुषवाण वा भरुवा बन्दुद्वारा तारो थापी बाजी लगाएर निसाना हान्न लगाउने र अभ्याससमेत गराइन्छ ।

प्रकाशित मितिः   २८ पुष २०७४, शुक्रबार १६:४०