पार्टी एकता र कार्यकर्ता व्यवस्थापनको विधि

हरिप्रसाद अधिकारी
नेपालको इतिहासमा आमूल परिवर्तनका लागि २०७४ साल विशेष महत्वको वर्ष सावित भएको छ । पार्टी एकताको बृहत लक्ष्यसहित नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्दा अधिकांश प्रदेशमा दुई तिहाइ र प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त गर्न सफल भए । यो परिणाम र नेपालका प्रमुख दुई वाम पार्टीहरूको एकता लक्षित सहकार्यले समाजवादी व्यवस्थाको विजारोपण हुन थालेको आभास भएको छ ।

नेपालमा कम्युनिष्ट पार्टीको इतिहास उत्साहप्रद भए पनि अनेकौं आरोह र अवरोहका कारण सन्तोषजनक रूपमा अघि बढेको भने पाइदैंन । वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी खास गरी २०२८ जेठमा झापाको ज्यामिर गढीबाट ‘वर्ग शत्रु खत्तम’ अभियानबाट नेकपा एमालेको संस्थागत रूपमा विकास भएको मान्न सकिन्छ । एमाले हाल मुलुकको ठूलो दलको रूपमा दर्ज भएको छ । यसले २०४८ पछि पटक पटक राजकीय, शासकीय दलको रूपमा परिचय बनाएको छ । खासगरी जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै क्रियाशिल भइ हालको हैसियत प्राप्त भएको कुरालाई कसैले नकार्न मिल्दैन । एमालेले आज सम्मको सबै उपलब्धी भनेको नै जबजको मान्यता भएको स्विकार गर्दै अब पूँजीको विकास गरी समाजवादी व्यवस्थाका लागि अवको समयलाई उपयोग गर्ने नीति अंगीकार गरेको छ ।
उता २०३१ सालमा भारतस्थित श्रीकृष्ण धर्मशालामा चौथो महाधिवेशनबाट मोहनविक्रम सिंह महासचिव निर्वाचित भइ स्थापना भएको एकीकृत नेकपा माओवादीले संस्थागत रूपमा २०५२ साल फाल्गुन १ देखि सशस्त्र युद्धको थालनी गरी हाल नेकपा माओवादी केन्द्रको रूपमा संस्थागत रूपमा स्थापना भएको छ । उसले शासकीय दलको रूपमा परिचय स्थापित गर्दै देशमो ठूलो हुँदै तेस्रो ठूलो दलको रूपमा हैसियत प्राप्त गरेको अवस्था छ । शान्ति, युद्ध तथा संसदीय शासन व्यवस्थाको उपयोगको नीति अवलम्बन गरिसकेको छ । बहुदलिय प्रतिस्पर्धालाई उपयोग गरि माओ नीति, प्रचण्डपथ जस्ता विचारको अभ्यास गर्दै माओवाद विचारधारालाई आधार बनाइ अघि बढको अवस्था भने उसले लिने पटक–पटकका नीति माओवादी फुटको रोगबाट समेत ग्रस्त बनिसकेकोले हाल एमाले र माओवादीको विचार नीतिको समीक्षा गर्दै नयाँ विचार तय गर्न तयार भएको पार्टीको रूपमा देखिएको छ ।
एमाले र माओवादीबीच पार्टी एकताको लक्ष्यसहित भएको वाम गठबन्धन केवल चुनावी गठबन्धन मात्रै होइन । हालसम्म भएका विभिन्न खाले आन्दोलन तथा क्रान्तिको संश्लेषण गर्दै गरिएको एउटा ऐतिहासिक निर्णय हो । यसलाई आम जनताले पनि निर्वाचनमार्फत् अनुमोदन गरिदिएका छन् । जसका कारण निर्वाचनबाट सुविधाजनक बहुमत ल्याइ पहिलो पटकस्थिर कम्युनिष्ट सरकार बनाउने तयारीमा पुगेका छन् । प्राप्त उपलब्धिहरूको विश्लेषण गर्दा झापा किसान क्रान्ति हुँदै जनयुद्धका सारथी दुवै पार्टीले संसदीय शासन व्यवस्थाको उपयोग गरी समाजवादको गोरेटो बनाउन सक्ने समय निक्कै नजिक आएको मान्न सकिन्छ । वर्तमान शासन व्यवस्थालाई कसरी उपयोग गर्ने यसैमा अबको शासन व्यवस्थाको भविष्य देखिन्छ र कम्युनिष्ट पार्टीको भविष्यमा यसैमा गाँसिएर आउँछ ।
यतिबेला पार्टी एकीकरणका सन्दर्भमा विभिन्न खाले बहसले बजार लिएको छ । विशेष गरी मुख्य रूपमा पार्टी एकीकरणका लागि कार्यकर्ता व्यवस्थापन, पार्टीको अब अबलम्बन गर्ने नीति, वैचारिक विचारधारा, पार्टी भित्रको सम्मानजनक हैसियत र संसदीय फाँटमा सहभागिताको प्रश्नहरू देखिएका छन् । यी सबै कुराको व्यवस्थापनका लागि उचित विधि अवलम्बन गर्न जरुरी देखिन्छ । यसमा पार्टीभित्र व्यापक बहस र छलफल गरिनु पर्दछ । यसबाट अवको नेतृत्व र लिने अर्थ नीतिले समाजबाटको लक्ष्य प्राप्ती गर्न सहज बनाउन योगदान दिन्छ ।
आर्थिक समृद्धि र विकासका नाममा नागरिकले अनुभूत गर्ने समाजवादी व्यवस्थाका लागि मूख्य अर्थ नीति, जनमुखी नीति तथा कार्यक्रम तय गर्न आवश्यक देखिन्छ । यसबाट नेपालमा रोजगारीका अवसर सिर्जना, गरिबी अन्त्य भइ देश विकासको ढोका खुल्ने छ । अब नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकीकरण गर्नुपर्ने अनिवार्य शर्त बनेको छ । प्राप्त जनमत पछाडि यो एक महŒवपूर्ण कारक हो । वामपन्थी शक्तिहरू पटक–पटक टुटफुटले समग्र कम्युनिष्ट शक्तिको विकास हुन सकेन । देशमा विकासको गति पनि कमि नै रह्यो । यसकारण जनमतको कदर, स्थायी सरकार, दिगो विकास, अर्थपूर्ण शान्ति स्थापना र गरिबी अन्त्यका लागि पार्टी एकीकरण जरुरी छ । अब केही नेताले चाहेर वा नचाहेर पार्टी एकता हुने र नहुने होइन देश विकासकै लागि भए पनि नागरिक दबाब, केही राजनेता र कार्यकर्ताको दबाब भएर भए पनि निकट भविश्यमा पार्टी एकीकरण हुने अनिवार्य शर्त भइसकेको छ । दुवै पार्टीका उच्चस्तरका नेताहरूले एक पटक विगतको प्रतिबद्धतालाई कार्यान्वयन ल्याउन आवश्यक छ । यसले पार्टी र नेताहरूको भविश्यको पनि फैसला गर्ने अडकल काटन सकिन्छ । नेताहरूको इमान्दारिताको परीक्षा सुरु भएको छ । जसको प्रतिक्षा नेपाली नागरिकले गरिरहेको देखिन्छ । नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका कार्यकर्ता व्यवस्थापन, संगठन समायोजन र वैचारिक विचार धारामा एकरूपता कायम हुनका लागि तपसिलका विधि अवलम्बन गर्न जरुरी देखिन्छ । जसका कारण नेपालमा वाम शासनको भविश्य र असल राजनीतिक पार्टीको परिचय बनाउन योगदान गर्ने छ ।
वैचारिक विचार धारा ः
खासगरी माक्र्सवादी, लेलिनवादी विचार धारालाई आधार बनाएर जनताको बहुदलीय जनवादको समीक्षा गर्दै समाजवादी व्यवस्थाको लक्ष्य प्राप्त गर्न आवश्यक छ । परिवर्तित परिवेशको नेतृत्व प्रदान गर्ने आर्थिक समृद्धि र विकासलाई समृद्ध बनाउन मुख्य कार्ययोजना बनाउन आवश्यक छ । बहुदलीय शासन व्यवस्था, जनताबाट निर्वाचित जनप्रनिधिहरू, मागमा आधारित विकास योजना तथा सुशासन अपरिहार्य शर्तसहितका मूल्य मान्यता अवलम्बन गर्न आवश्यक छ । समाजवादी व्यवस्थाका लागि अबको समयसापेक्ष र दुवै पार्टीले लिएको मार्ग दर्शन सिद्धान्तलाई पुनर्लेखन गरी सफलताको मान्यता स्थापित गरेको सिद्धान्तलाई एकरूपता कायम गरी अघि बढ्नु नै उत्तम विकल्प हो ।
संगठन समायोजनः
अध्यक्षतात्मक प्रणाली अवलम्बन, दुवै पार्टीका हरेक कमिटी समायोजन गर्ने, समायोजना गर्दा उसको उपस्थिति, निर्माण गरिएका स्थानीय तहसम्मका कमिटीहरूको संख्या र हैसियतलाई ख्याल गर्दै निश्चित प्रतिशतलाई आधार मानेर समायोजन गर्ने, अब हुने अधिवेशन र महाधिवेशनबाट आउने नेतृत्वलाई सर्वसम्वत् स्वीकार गर्ने सहमति, सम्झौता गर्न आवश्यक छ । केही समय कार्यकर्ता समायोजनाका लागि केही आधार तय गरेर अधिवेशन र महाधिवेशनको मिति तोकिनु पर्दछ । संगठनभित्र कार्यकर्ता बीच दिगो रूपमा हुनसक्ने अन्तरविरोध कम गर्न विभिन्न जिम्मेवारी दिन तयार हुनुपर्दछ । खासगरी अब बन्ने पार्टी तुलनात्मक रूपमा नेपालको सबैभन्दा ठूलो शासकीय पार्टीको रूपमा हैसियत प्राप्त गर्नेछ । यसलाई भविश्यसम्म व्यवस्थित बनाउन उपाय खोज्नै पर्दछ । जसका लागि भइरहेका पार्टी संगठनहरूलाई सम्मानजनक हैसियतका लागि प्रोत्साहितको सिद्धान्त अवलम्बन गर्न जरुरी छ ।
कार्यकर्ता व्यवस्थापन
नेकपा माआवादी केन्द्रका चार हजार बढी केन्द्रीय नेताहरू हैसियतमा छन् भने नेकपा एमालेका दुई सय हाराहारी केन्द्रीय नेतृत्वमा छन् । माथिदेखि तल्लो कमिटीमा बसेका सबैको व्यवस्थापन मूख्य चुनौतीको रूपमा देखिएको छ । सर्वहारा वर्गको प्रतिनिधि पात्रको पहिचान बनाएका नेपालका कम्युनिष्टहरूका कार्यकर्तालाई उचित क्षमता, योग्यता तथा अनुभवका आधारमा व्यवस्थापन गर्न जरुरी छ । जसका लागि निश्चित सिद्धान्त, विधि र मापदण्ड बनाउन जरुरी छ । तब मात्रै भविश्यमा पार्टीलाई बलियो आधारका रूपमा विकास गर्न सकिन्छ ।
(क) पार्टी कमिटीः अब पार्टी कार्यकर्ताको रोजाइका आधारमा पार्टी कमिटीको जिम्मेवारी दिनुपर्दछ । बहुदलीय शासन व्यवस्था उपयोग गरि प्राप्त शासकीय हैसियत भएको पार्टी भएकोले नेता कार्यकर्तालाई पार्टी कमिटी, संसदीय फाँट, अन्य राजनीतिक नियुक्ती तथा कार्यपालिका कता जाने रोजाइका आधारमा जिम्मेवारी दिनुपर्दछ, नकी एक व्यक्ति अनेकौ पद दिइनु हुँदैन । पार्टी सञ्चालन गर्ने अलग जिम्मेवारी र संरचना निर्माण गरिनुपर्दछ ।
(ख) संसदीय फाँटः संसदीय फाँटमा जाने नेता कार्यकर्तालाई अन्य कुनै पनि क्षेत्रमा निधेष गरिनुपर्दछ । उसले देशको कानुन कस्तो बनाउने, कानुनी शासन कसरी स्थापन गर्न सकिन्छ भन्ने क्षेत्रमा जिम्मेवारी दिनुपर्दछ । यस क्षेत्रमा जानेलाई पार्टीका अन्य निकाय र संरचनामा रोकिनुपर्दछ । भने देशलाई कानुनी राज्यको अनुभूतिका लागि सासदको महŒवलाई दर्सानु जरुरी छ ।
(ग) कार्यपालिका क्षेत्रः संसदीय फाँट र कार्यपालिकामा जाने व्यक्ति संसदबाट नभइ विज्ञताको आधारमा विशिष्ट क्षेत्र पहिचान गरी योग्य व्यक्तिलाई कार्यपालिकामा पठाउनु पर्दछ । यसले देशको विकास र समृद्धिका लागि कार्य गर्ने सहज हुन जान्छ । पार्टीभित्र भएका विभिन्न भातृ संगठन, जनवर्गीय संगठन, पेशागत संगठन, विश्व विद्यालयबाट विज्ञता प्राप्त गरेका योग्य व्यक्तिबाट कार्यपालिका मन्त्रीपरिषद्मा दिनुपर्दछ तर प्रधानमन्त्री भने निर्वाचितबाट छनौटको विधि बनाउनुपर्दछ । निर्वाचितबाट मन्त्री नबनाउने विधि बनाउनुपर्दछ, यसले कार्यकर्ताको व्यवस्थापन र विज्ञताको सम्मान भइ देश विकासमा नयाँपन ल्याउन सहयोग गर्छ । यसकारण अब हरेकको परिचय अलग–अलग हुनसकेमा समान अवसरको पहुँच भइ क्रियाशील र इमान्दारिताको मापन भइ पार्टी चाकडीवाद,भनसुन, गुटगत प्रवृतिको अन्त्य भइ क्षमता, योग्यता, अनुभव तथा क्रियाशिलताको सम्मान हुन जान्छ ।
(घ) राजनीति नियुक्तिः विभिन्न आयोग नियोग तथा निकायमा नियुक्ति भइ कार्य गर्ने नेता कार्यकर्ताका लागि सोही क्षेत्रमा व्यवस्थित गर्न आवश्यक छ । एक व्यक्ति हरेक क्षेत्रमा जाने पहुँचका आधारमा पहिचान बनाउने, पहुँचविहीन इमान्दार नेता कार्यकर्ताले कहिले अवसर नपाउने व्यवस्थालाई आगामी दिनमा सुधार गर्नका लागि योग्यता, पार्टी अनुभव र संलग्नतालाई आधार बनाएर नियुक्ति गर्नसके कार्यकर्ता व्यवस्थापनमा सहजपन हुनेछ ।
निश्कर्ष
यसरी एकीकरण पछिको ठूलो तथा शासकीय पार्टीको संगठन व्यवस्थापनका लागि निश्चित मापदण्ड विधि अबलम्बन गर्न आवश्यक छ । हरेक क्षेत्रको पहिचान गरी पार्टी नेता, कार्यकर्ता र पेशागत संघ–संगठन, भातृ तथा जनवर्गीय जनसंगठनका व्यक्तिहरूलाई योगदान, क्षमता, योग्यता, अनुभव तथा क्रियाशीलताका आधारमा आगामी दिनमा जिम्मेवारी दिइनु पर्दछ । अबको पार्टी एकीकरण र कार्यकर्ता व्यवस्थापनको विधि अवलम्बन गर्नसके पार्टीलाई लामो समयसम्म गुटबन्दी कम गर्न सकिन्छ, इच्छा अनुसार जिम्मेवारी बोध गराउन सकिन्छ । नेपालको संविधान अनुसार विकास, समृद्धि र व्यवस्था गरिएका अधिकारको कार्यन्वयन हुनेछ । नेपालमा लामो समयसम्म स्थिर शासन व्यवस्था स्थापना हुनेछ । यसले देश विकासमा ठूलो योगदान मिल्नेछ । साथै देशमा पार्टी टुटफुटको अन्त्य हुनेछ, समान अवसर प्राप्तीको आधार तय हुनेछ । राजनीतिभित्र शासकीय वस्तु पाउनका लागि हुने राजनीतिक फोहोरी खेलको अन्त्य हुनेछ । कार्यकर्ता व्यवस्थापनको विधि प्रयोग गर्नसके स्थिर शासन व्यवस्था स्थापना भइ सम्मुनत राज्य निर्माण भइ नागरिकको जीवनमा समृद्धिको अवसर प्राप्त हुनेछ भने राजनीतिलाई समाजले बुझ्ने धारणा सकारात्मक हुँदै जानेछ । नयाँ संघीय लोकतान्त्रिक गणराज्यको संस्थागत विकासका लागि दुई ठूला वाम पार्टीको एकताले स्थिर शासन प्रणालीको विकास हुने पक्का छ । यसका लागि आ–आफ्ना हठबाटपछि हट्दै राष्ट्रियताका लागि निर्वाचनताका वाम एकता अब देश विकासका लागि पार्टी एकीकरण अनिवार्य देखिन्छ ।
(लेखक नेकपा एमाले सुर्खेतका सचिवालय सदस्य हुन् ।)

प्रकाशित मितिः   २८ पुष २०७४, शुक्रबार १६:३८