मगर समुदायको मेलामा थारु परिकारमा आकर्षण बढ्दो
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ पुस ।
वीरेन्द्रनगर–२ का गणेश शाही सरकारी कर्मचारी हुन् । उनको दैनिकी सरकारी कामकाज र परिवारसँगै बित्छ । बाल्यकालमा नेपालगन्जको चौधरी समुदायसँगै विताएका शाहीलाई गंगटा निकै मनपथ्र्यो । तर उनले वर्षौंसम्म मनले मागेजति खान त के, गंगटा चाख्नसमेत पाएका थिएनन् । तर वीरेन्द्रनगरमा जारी माघी मेलामा उनले शुक्रवार गंगटासँगै थारु परिकारको स्वाद लिने मौका पाए ।
‘बाल्यकालमा चौधरी समुदायमा हुर्कें, थारु परिकारमै रमाएँ’ बाल्यकालको याद गर्दै शाहीले भने, ‘झण्डै दुई वर्षपछि नै यी (थारु) परिकार चाख्न पाएँ, थारु परिकारले मेरो मन जितेका छन् ।’ मगर समुदायको मेलामा थारु परिकार चाख्न पाउँदा उनी दंग थिए । यस्तै मेलाको अवलोकन गर्न पुगेका वीरेन्द्रनगर–१० का सर्वराज बिसीको नजर पनि थारु स्टलमै परे । मगर समुदामयको मेलामा थारु परिकार खान पाउँदा उनी खुशी थिए । कारण उनलाई थारु परिकार मध्येकै घोंगी निकै मन पर्छ । ‘कामको व्यस्तताले थारु समुदायको वस्तीमा जाने समयै जुर्दैन्, चाहेर पनि थारु परिकार खाने मौका मिलेको थिएन’ उनले भने, ‘मेलामा खान पाउँदा खुशी लाग्यो ।’
मगरहरूको इतिहास, भाषा, संस्कृति, संरक्षण र सम्बद्र्धनका लागि बिहीवारदेखि वीरेन्द्रनगरमा सुरु भएको माघी मेलामा थारु परिकार चाख्नेहरूको घुईंचो नै लाग्ने गरेको छ । थारु समुदायका विभिन्न स्वादिला परिकारहरू माघी मेलाका आकर्षण बनेका छन् । मेलामा राखिएका २१ वटा स्टलहरू मध्ये थारु परिकार पाउने एउटा मात्र स्टल राखिएको छ । उक्त स्टलमा ढिकुरी, घोंगी (सी फुड), झिंङ्गे माछा, गंगटा, लोकल कुखुराको मासु, मुसाको मासु, बंगुर र सुंगुरको मासु विक्रिका लागि राखिएको छ । मगर समुदायको मेला भए पनि थारु परिकारले दर्शकलाई तानेको सञ्चालक पूर्णबहादुर चौधरीले बताए । उनले थारु परिकार मध्ये सबैभन्दा बढी ढिकुरी, घोंगी र गंगटाको माग बढेको बताए । ‘मेलाको पहिलो दिन मात्रै २२ हजार आम्दानी भयो’ उनले भने, ‘यहाँको माग धान्न धौ भएको छ, ग्राहकहरूको आकर्षण बढ्दो छ ।’
पूर्णबहादुरका अनुसार थारु परिकार मध्ये घोंगी शंखे किराजस्तै देखिने खोला वा तलाउमा पाइने समुन्द्रीय जीव हो । धोँगी खाएपछि घुँडा र ढाड दुखाइमा निको हुने विश्वास रहेको उनले बताए । ‘घोंगी बटुलेपछि सफा गर्ने आफ्नै प्रविधि हुन्छ’ पूर्णबहादुरले भने, ‘सफा गरेपछि पकाउँदा टिमुर, लसुन लगायतका मसला हाल्दा निकै स्वादिलो हुन्छ ।’ विशेष गरी ‘होमस्टे’ को सञ्चालन नहुँदा थारु परिकारहरू चाडपर्वमा मात्रै सीमित भएका छन् । यस्तै मेला पर्व र महोत्सवमा मात्रै आकर्षणका रूपमा थारु परिकारको बिक्री वितरण हुने गरेको हो । उनी भन्छन्,‘थारुको परिकार सबैले रुचाएका छन्, तर यहाँ मागेजति परिकार उपलब्ध गराउन सकिएको छैन ।’ मगर मेलामा थारु परिकारले सबैलाई तानेपछि थारु समुदाय पनि हौसिएका छन् । अर्कोतर्फ थारु परिकारमा दर्शक तथा मेला अवलोकन गर्नेहरू झुम्मिएपछि मगर अगुवाहरू पनि हर्षित छन् । मेलाले जातीय सदभाव कायम राख्न सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
आउँदो सोमबार माघी अर्थात् मकर संक्रान्ति परेको छ । माघे संक्रान्तीलाई सबै समुदायले मनाउँछन् । मगर समुदायको विशेष महत्वको पर्वका रूपमा हेरिन्छ, माघीलाई । यस्तै थारु समुदायले पनि माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधाम गरी मनाउँछन् । मगरहरूको सबै भन्दा ठुलो पर्व र थारुहरूको नयाँ वर्षका रूपमा मनाइने माघ १
गतेको पर्वका कारण दुवै जातीहरूको विशेष सम्वन्ध जोडिएको नेपाल मगर संघ सुर्खेतका सचिव प्रमोद बाह्रघरे मगर बताउँछन् । थारुहरूले माघी र मगर समुदायले माघे संक्रान्ति मनाउने गरेको उनले बताए ।
जातिगत पहिचान र अस्तित्व जोगाउनका लागि आयोजना गरिएको उक्त माघी मेलामा सामाजिक सद्भाव कायम गर्न थारु परिकारहरूको स्टल राखिएको उनले बताए । ‘उहाँहरू
(थारु जाती) को नयाँ वर्ष, हाम्रो (मगर) ठूलो चार्ड माघ १ गतेलाई मनाउँछौं’ उनले भने, ‘मेलालाई जातीय सिनारियो नभइ सबैको प्रतिनिधत्वलाई प्राथमिकता दिएका छौं ।’ बिहीवारदेखि सुरु भएको मेलामा मगर समुदायका खाजाका विभिन्न परिकारसमेत राखिएको छ ।
साझा बिसौनी संवाददाता ।