राज्यमन्त्री विष्टको गैरजिम्मेवारपूर्ण हर्कत

नियम मिच्ने चालकलाई जोगाउन ट्राफिक प्रहरीलाई थर्काए
साझा बिसौनी संवाददाता
सुर्खेत, २६ पुस ।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट बुधवार दिउँसो वीरेन्द्रनगरको बुद्धपथ नजिकै ड्यूटीमा रहेका ट्राफिक प्रहरीसँग बीच सडकमै बाझ्दै गरेको अवस्थामा भेटिए । ड्यूटीमा रहेकी महिला ट्राफिकलाई उनी भन्दै थिए, ‘तपाईं बढी बोल्दै हुनुहुन्छ, धेरै निहुँ नखोज्नुस् । गइहाल्नुस् ।’ बीच सडकमा यसरी बाझिरहेका राज्यमन्त्री विष्टको हर्कत देखेर त्यहाँ जम्मा भएकाहरू भने एकाअर्कासँग कानेखुसी गर्दै थिए, ‘मन्त्री भएर पनि कस्तो गैरजिम्मेवारपूर्ण हर्कत गरेको होला ।’ यसरी गैरजिम्मेवारपूर्ण तरिकाले बीच सडकमै ट्राफिक प्रहरीसँग राज्यमन्त्री बाँझ्नुपर्ने कारण भने अझ रोचक छ ।


के थियो कारण ?
बुधवार दिउँसो वीरेन्द्रनगरको बुद्धपथ नजिकै रातो नम्बर प्लेटको जीप बीच सडकमै रोकियो । बा २ झ २४०१ नम्बरको महिला तथा बालबालिका कार्यालय सुर्खेतको उक्त गाडीले करिब एक घण्टाभन्दा बढी सडक जाम ग¥यो । जीपमा न चालक थिए, न अरु कोही ।
करिब एक घण्टा गाडी बेवारिसे जस्तै भयो । त्यति नै बेला वीरन्द्रचौकमा ड्यूटीमा खटिएको ट्राफिक प्रहरी गाडी रोकिएको ठाउँ पुगे । प्रहरीले बुद्धपथस्थित प्रत्येक होटेल र पसलमा पुगेरै सोधे, ‘यो गाडी कसको हो ?’ सिटी फुक्दै प्रहरी नै थाक्यो तर, गाडी चालक को हुन पत्ता लागेन ।
करिब ४५ मिनेटमा गाडी चालक आए । तर, गाडी हटाएनन्, कारण ट्राफिकले उनको लाइसेन्स माग्यो । गाडी स्टाट गरेका चालकले लाइसेन्स समातेरै एक्कासी नजिकैको होटेल भित्र छिरे । ‘सरलाई भन्छु,’ भन्दै होटेलभित्र छिरेका गाडी चालकले झण्डै १५ मिनेट ढिला गरे । सडकमा चहल–पहल बढिरहेको बेला गाडी रोकी सास्ती दिएरै प्रहरीलाई अटेरी गरेको भन्दै प्रत्यक्षदर्शी समेत आक्रोशित बने ।
करिब १५ मिनेटपछि होटेलबाट निस्केका गाडी चालकका पछाडि सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट पनि सडकमा पुगे । होटेलको दोस्रो तलाबाट ड्राइभरसँगै सडकमा आएका मन्त्री विष्टले गाडी हटाउन भन्दा पनि प्रहरीलाई लाइसेन्स नदिन दबाब दिए । प्रहरीले ड्राइभरबाट लाइसेन्स माग्दा ‘के रे के रे’ भन्दै प्रहरी नजिक पुगेका मन्त्रीले अपमानपूर्ण व्यवहार गरे । ‘लाइसेन्स–साइसेन्स कोही दिँदैन’ प्रहरीतिर औंलो ठड्याउँदै मन्त्रीले भने, ‘होस् गर्नुहोस् ।’ तर ट्राफिक प्रहरीले बीच सडकमै गाडी रोकेर नियम उल्लंघन गरेको भन्दै चालकको लाइसेन्स मागिरहँदा राज्यमन्त्री विष्ट भने औंला ठड्याउँदै ट्राफिक प्रहरीलाई थर्काउन पुगे । उनले भने, ‘तपाईं चुप लाग्नुस्, बढी बोल्दै हुनुहुन्छ । निहुँ नखोज्नुस् ।’
राज्यमन्त्री विष्टले अपमानपूर्ण व्यवहार गरेपछि त्यहाँ रहेका ट्राफिक र जनपद प्रहरी विना कुनै प्रतिक्रिया वीरेन्द्रचौकतर्फ लागे भने चालकले गाडी अलिक अगाडि लगेर पार्किङ्ग गरे । बहालवाला मन्त्रीको यस्तो हर्कत देखेपछि त्यहाँ जम्मा भएकाहरूले एकआपसमा उनको आलोचना गरेका थिए । त्यही रहेका एक जनाले भने ‘नियम कानुन पालना गराउनुपर्ने मन्त्रीले आफै उल्लंघन गर्छन् । अझ नियम पालना गराउन खटिएका ट्राफिक प्रहरीलाई थर्काएर के रमिता देखाएका होलान् ?’
राज्यमन्त्रीको बलमिच्याइँ
आधा घण्टाभन्दा बढी समय बीच सडकमा गाडी रोकिँदा सडक जाम हुन पुगेको थियो । सडक जामले गर्दा उक्त सडकमा अन्य सवारी साधन आवज–जावतमा समस्या भयो । तर यसरी खुलेआम नियम उल्लंघन गरेका सवारी चालक भने कारबाहीको भागिदार बन्न परेन । राज्यमन्त्रीको बलमिच्याइँले उनी छोडिए । ‘नागरिकले सामान्य गल्ती गर्दा जरिवाना तिराउन पछि नपर्ने ट्राफिक प्रहरीसमेत मन्त्रीले हप्काउदाँ पछि हट्नुप¥यो’ घटनालाई प्रत्यक्ष हेरिरहेका एक जनाले भने, ‘मन्त्रीबाट यस्तो बलमिच्याइँ हुनु दुःख लाग्दो काम हो ।’
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने घटनापछि चालकले अबदेखि यस्तो गल्ती नदोहो¥याउने भन्दै माफी मागेपछि छोडिएको जनाएको छ । यसबारे बुझ्दा प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नियम सबैलाई लागू हुने भन्दै नियम उल्लंघन गर्ने जो पनि कारबाहीको भागिदार हुनुपर्ने बताए । यद्यपि बुधवार साँझ करिब सात बजेतिर टेलिफोन गर्दा उनले उक्त घटनाबारे थाहा नभएको बताए । तर राज्यमन्त्री विष्टका लागि महिला तथा बालबालिका कार्यालयको उक्त गाडी भने प्रशासनले नै उपलब्ध गराएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   २७ पुष २०७४, बिहीबार १५:३८