चिसोले बाढीपीडितको विजोग

सुर्खेत, २५ पुस ।
पछिल्लो केही दिनदेखि चिसो बढेसँगै सुर्खेतका बाढीपीडितको दैनिकी थप कष्टकर बनेको छ । २०७१ साल साउन २८ र २९ गते अविरल वर्षासँगै आएको भिषण बाढीका कारण घरबारविहीन बनेका बाढीपिडितहरू चिसो र शितलहरका कारण मारमा परेका हुन् । विगत एक सातादेखि बढेको चिसो र शितलहरका कारण त्रिपालको भरमा बस्दै आएका बाढीपीडितहरूको विजोग भएको छ ।
अस्थायी शिविरमा रहेका बालबालिका र बृद्धबृद्धाहरू बढ्दै गएको चिसोका कारण प्रभावित बनेका छन् । उनीहरूको अवस्था दिन÷प्रतिदिन नाजुक बन्दै गएको छ । सरकारले बाढीका कारण विस्थापित भएका बाढीपीडितहरूलाई पुनस्र्थापनामा ढिलाइ गर्दा तीन वर्षदेखि पीडितहरूले सास्ती भोग्नु परिरहेको छ ।


बाढीपीडित भएको तीन वर्ष बितिसक्दा समेत सरकारले पुनस्र्थापनाका लागि पहल नगर्दा वर्षेनी शितलहर र जाडोको मार खेप्नु परेको वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रकी धनसरा थापा बताउँछिन् । बाढीले घर बगाएपछि महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी थापा घर सम्झिदै त्रिपालमुनि रात काट्न बाध्य छिन् । ‘अब त सरकारले पुनस्र्थापना गर्ला भन्ने आशा पनि हरायो’ निराश हुँदै थापाले भनिन्, ‘चार हिउँद बित्दासमेत घर जग्गाको ठेगान छैन् ।’ सरकारले जग्गा खरिदका लागि ५० हजार र घर बनाउनका लागि तीन लाख दिने भने पनि आफूले पाउन नसकेको उनले बताइन् । हालसम्म राहत स्वरूप ५० हजार मात्रै पाएको उनी बताउँछिन् । ‘सरकारले घरवासका लागि ५० हजार दियो’ उनले भनिन्, ‘५० हजारले ऐलानी जग्गासमेत पाउन मुस्किल प¥यो ।’ जग्गा खरिदका लागि पाएको उक्त राहत रकम छोराछोरी र परिवारको दैनिकीमा खर्च भइसकेको उनले बताइन् ।
एक वर्ष पहिले राहतस्वरूप संस्थाले ल्याएर दिएको त्रिपालले समेत यो पुसको शितलाई छेक्न नसकेको बाढीपीडित शिविरका तुल्सी सुनारले बताइन् । उनले त्रिपालबाट चुहिएको शितले रात काट्न मुस्किल पर्ने गरेको बताइन् । ‘रातभरी शित चुहिएर कपडा भिजेको हुन्छ’ उनले भनिन्, ‘दिनभर कपडा घाममा सुकाउन पाइएन भने साँझ के ओछ्याउने, के ओढ्ने हुन्छ ।’ बढ्दो चिसोसँगै शितलहरका कारण त्रिपाल भित्रका विस्तरासमेत भिज्दा विभिन्न रोगको समस्या देखिएको उनले बताइन् । ‘चिसोले ढाड दुख्ने समस्याले सताएको दुई हप्ता जति भयो’ उनले भनिन्, ‘उपचारका लागि मेडिकल जाने खर्च छैन् । भएको पैसा खाना खर्चमै सकिन्छ ।’ रातभर शितले भिजेका कपडा दिनभर घाममा सुकाएर मात्रै ओछ्याउने गरेको उनले बताइन् । अध्याधिक चिसोका कारण बालबालिकालाई लगाउने र खुवाउन समस्या भएको छ ।
थापा र सुनार त प्रतिनिधि पात्र मात्रै हुन् । लामो समयदेखि त्रिपालमुनी बस्नुपर्दा महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा बस्दै आएका १९ परिवारले नै विभिन्न समस्याहरू खेप्नुपरेको छ । बाढीका कारण घर गुमाएका वीरेन्द्रनगरका १९ घरपरिवार महिला प्रशिक्षण केन्द्रमास्थित त्रिपालमुनी यो जाडोमा जीवन बिताइरहेका छन् ।
चिसोका कारण उनीहरूमा सरुवा रोगको संक्रमण फैलिएको छ । चिसो बढेसँगै विभिन्न रोगहरूको संक्रमण फैलिएकाले शिविरमा रहेका बालबालिका र वृद्धवृद्धाहरू बिरामी परेका छन् । झाडापखाला, रुघाखोकी, भाइरल ज्वरो, टाइफाइड, निमोनिया, घाँटी दुख्नेलगायतको संक्रमण देखिएको बाढीपीडितहरूले बताएका छन् । विभिन्न
सरुवा रोगको संक्रमणबाट परिवारैपिच्छे दुई÷तीन जना बिरामी भएका छन् । औषधी उपचार गर्ने रकमको अभावका कारण शिविरमा रहेका बाढीपीडितहरूले उपचार पाउन नसकेको बताइएको छ । महिला प्रशिक्षण केन्द्रमा मात्रै होइन रानीघाटस्थित अस्थायी शिविरमा रहेको बाढीपीडितको समस्या पनि उस्तै छ । विगत तीन वर्षदेखि पुनस्र्थापना हुन नसक्दा त्रिपालको भरमा बस्दै आएका उनीहरूलाई जतिसक्दो छिटो पुनस्र्थापना गरिदिन सरकारसँग माग गरेका छन् ।

प्रकाशित मितिः   २६ पुष २०७४, बुधबार १५:३८