राजधानीबारे कर्णालीमा पनि मतभेद

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ पुस ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा प्रदेश नं. ६ मा प्रदेशको नाम र राजधानीका विषयमा बहस सुरु भएको छ । प्रदेशको नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा यहाँका विभिन्न जिल्लामा छलफल हुन थालेका छन् ।

प्रदेशको नामका बारेमा एकमत देखिए पनि राजधानी कहाँ बनाउने भन्ने विषयमा भने फरक फरक धारणा आएका छन् । प्रदेश नाम कर्णाली राख्ने विषयमा हालसम्म विवाद देखिएको छ । विभिन्न जिल्लाहरूमा भइरहेका छलफलमा पनि कर्णाली प्रदेश नाम राख्न एकमत देखिएको छ । तर राजधानीका विषयमा सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक मत देखिएको छ ।
जुम्लाका नागरिकले प्रदेशको राजधानी जुम्ला हुनुपर्ने माग गर्दै आएका छन् । कालिकोटसहित कर्णालीका अन्य जिल्लाका राजनीतिक दलका कतिपय नेतादेखि नागरिकसम्मले पनि जुम्लालाई राजधानी बनाउन माग गरेका छन् । जुम्लालाई राजधानी बनाउने विषयमा भने कर्णालीकै पनि एकमत छैन । सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक फरक धारणा आइरहेका छन् ।
जुम्लामा सर्वपक्षीय छलफल गरी जुम्लालाई राजधानी नबनाइएमा आन्दोलन गर्ने चेतावनी दिइएको छ । त्यहाँका नागरिक अगुवाहरूको पहलमा जुम्लालाई प्रदेशको राजधानी बनाउन माग भइरहेको छ । जुम्लाबाट प्रदेशसभामा निर्वाचित सांसद नरेश भण्डारी कर्णालीको सन्तुलित विकासका लागि जुम्लालाई राजधानी बनाउनुपर्ने बताउँछन् । उनले विशेष गरी जुम्लालाई मौसमी राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । यो प्रदेशको भौगोलिक अवस्था अनुसार ग्रीष्मकालीन र शीतकालीन राजधानी बेग्ला–बेग्लै बनाउनुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘जुम्लालाई ग्रीष्मकालीन र सुर्खेतलाई शीतकालीन राजधानी बनाउनु जरुरी छ ।’
कालिकोटमा भएको सर्वपक्षीय छलफलका सहभागीहरूबीच पनि प्रदेशको नामका विषयमा एकमत भए पनि राजधानीका विषयमा मतभेद देखिएको छ । समुन्नत समाजका लागि सामूहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कुर्मराज शाहीले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए । उनले आफूले र आफ्नो पार्टी नेकपा एमालेले निर्वाचनअघि घोषणापत्रमार्फत् पनि यही एजेण्डा उठाएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको दाबी गरे । उनले नाम र राजधानीका विषयमा थप विवाद गर्नु नपर्ने भन्दै यो प्रदेशको ठूलो भू–भाग ओगटेको कर्णाली क्षेत्रको पहिचान अनुसार प्रदेशको नाम पनि कर्णाली नै राखिनुपर्ने जनाए । तर राजधानीका लागि भने सुर्खेत नै उपयुक्त रहेको उनको भनाइ थियो ।
जिल्ला वार इकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर विष्टले प्रदेश नं. ६ को नाम कर्णाली प्रदेश हुनुपर्ने तर राजधानी भने मौसमी हुनुपर्ने धारणा राखे । उनले स्थायी राजधानी सुर्खेत भए पनि कर्णालीलाई सम्बोधनका लागि मौसमी राजधानी भने कर्णालीमा राख्न सकिनेमा जोड दिए ।
नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले राजधानी बनाउँदा प्राविधिक पक्षहरू पनि हेरिनुपर्ने भन्दै सुर्खेत नै उपयुक्त भएको बताए । नाम भने कर्णाली नै हुनुपर्ने उनको तर्क थियो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश शाहीले राजधानीका आवश्यक पूर्वाधारहरू सुर्खेतमा बनिसकेको र कर्णालीका लागि पनि सुर्खेत नै राजधानीका लागि उपयुक्त हुने धारणा राखे ।
तर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नामसँगै राजधानी पनि कर्णालीमा नै हुनुपर्नेमा जोड दिए । उनले कर्णालीबाहेक अन्यत्र राजधानी बनाएर कर्णालीको विकास हुन नसक्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लालबहादुर शाहीले कर्णालीको समृद्धिका लागि राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखे । पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने बताए ।

प्रकाशित मितिः   २० पुष २०७४, बिहीबार १५:३१