लागूऔषधः समाज बिगार्ने मन्द विष

दिउँसोको खाजा खाने समय भएको थियो । त्यसैले म पनि खाजा पसलतिर लागें । म चौक नजिकै राखिएको ठेलामा चाउमिन खानको लागि गएँ । म खाजा खाँदै थिएँ, अकस्मात् मैले मेरो नजिकै अन्दाजी ५०–५२ वर्षको एक जना मान्छेलाई देखें । उनको हातमा मोबाइल थियो र घण्टी पनि बजिरहेको थियो । फोनको घण्टी बज्दै गर्दा उनी भन्दै थिए, ‘ऊ फेरि बज्यो, फुटाल्दिन्छु कि क्या हो ।’ यति भन्दै उनले फोन उठाए । म भने नजिकैबाट हेरिरहेको थिएँ । त्यो फोन सायद उनको घरपरिवारको हुनुपर्छ । मलाई थाहा थिएन, कि उनी को थिए ? उनको घर कहाँ हो भन्ने पनि मलाई जानकारी थिएन । फोनमा कुरा गर्दै उनी भन्दै थिए, ‘चित्त दुखेपछि दुख्यो दुख्यो, म अब तिमीहरूको लागि मरिसकें । मेरो पछि किन लाग्छौं, म तिमीहरूको घृणा, अपमान र तिरस्कारको बदला यो जन्मभूमि छाडेर जाँदैछु । म धेरै टाढा जाँदैछु । म त्यति कठोर छैन । पागल बने पनि ज्युन चाहन्छु । भगवानले जतिसम्म बाँच्न दिएका छन् त्यतिसम्म बाँच्नेछु । जहिले मर्छु, मर्छु । जान्छु म धेरै टाढा जान्छु । आफ्नो रगत र पसिना बेचेर ज्यान पाल्न सके पाल्छु नत्र…। बाँचेछु भने र गवानले फेरि जन्मभूमि देख्ने र जन्मभूमिमै मर्ने सौभाग्य दिएका रहेछन् भने कहिल्यै आउने छु ।’ उनले यसो भन्दै आँखाबाट आँसु चुहाउँदै फोन राखे ।

लक्ष्मीप्रसाद पौड्याल (अनुरागी)

त्यति गर्दा मैले खाजा पनि खाइसकेको थिएँ । उनी कसैसँग पनि बोलेका थिएनन् । उनी स्वतन्त्र थिए । करिब एक मिनेटपछि फेरि उनको मोबाइलमा फोन आयो र त्यो पनि उनका परिवारको नै थियो । फोन गर्ने उनकी श्रीमती, छोरा वा बुहारी हुनुपर्छ । उनको आँखामा आँसु थियो । केही नबोली फोन उठाए । र भन्न थाले, ‘तिमीहरूले मलाई के गर्न चाहन्छौ ? म तिमीहरूको लागि मरिसकें । यदि मार्न चाहान्छौ भने पनि म टाढा पुगिसकँे । अहिले म यात्रारत छु । तिमीहरूको कारणले मर्दा मलाई यो मेरो मातृभूमि प्यारो जन्मभूमि मेरो स्वर्ग भन्दा राम्रो देश र नेपाल आमाको सराप नलागोस । म ‘जँड्याहा’ लाई तिमीहरूले फोनमा पैसा किन खर्च गर्छौ ? के नै फाइदा छ र ?’
उनले फोन राखे । अझै पनि उनको आँखामा आँसु भरिएको थियो । मैले बुझ्ने प्रयास गरेँ उनी को हुन् ? के गर्दैछन् यस्तो ? यो के हुँदैछ ? किन हुँदैछ ?उनी यो देश नै छाडेर जाँदै रहेछन् । भारत जाँदै रहेछन् । त्यो पनि एक्लै । काम गर्ने, खाने, उतै बस्ने भन्ने निर्णय लिएका रहेछन् । मैले सिधै उनीसँग प्रत्यक्ष कुरा गर्ने हिम्मत निकाल्न प्रयार गरें तर सकिनँ । मैले अप्रत्यक्ष रूपमा बुझ्न प्रयास गरिरहें । म भावुक भएँ । वास्तवमा एक नेपालीको दुःखमा अर्कोले साथ दिनु नै नेपाल आमाप्रतिको उच्च प्रेम र माया हो । मैले अड्कल गरें, मेरो मातृभूमि नेपालले अंगरक्षक सन्ततिलाई अर्काको देशमा पसिना र रगत बेच्नको लागि दिन–दिन यसरी नै किन पठाउँछ त ? मैले बुझ्ने प्रयास गरें । यो के भइरहेको छ र के हुँदैछ भनेर । उनले पारिवारिक कारणबस वा तनाव वा कुसंगत होस् या कुनै कारणले जाँडरक्सी सेवन गर्दारहेछन् । कुनै समय उनले लागू पदार्थ सेवन गरेको समयमा उनलाई कसैको अगाडि (मान्यजन) उनको परिवारबाट तिरस्कार, घृणा, हेला र वेइज्जति पाएछन् । र अपमान पनि । लागू पदार्थ छाड्न हौसला दिने र प्रोत्साहत गर्ने उनको सामु कोही रहेनछन् । सबैबाट अपमान, हेला, बेइज्जति र तिरस्कारको ज्वालामा बल्न बाध्य भएछन् ।
भनिन्छ, ‘हतियारको चोट भन्दा शब्दबाट प्रहार गरिएको चोट ठूलो हुन्छ ।’ त्यसै उनको मन चोट अनि पीडा परेछ । सायद यस्तो चोट उनको जीवनमा कहिल्यै परेको थिएन । पीडा सहन सकेनछन् र उनले यस्तो निर्णय गरेछन् कि यो ठाउँ, यो देशलाई नै छाडेर जाने । भारत जाने पसिना र रगत बेचेर श्रम गरी गास, बास र कपासको गुजारा चलाउने । पराइको भूमिमा नै आफ्नो ज्यान समर्पण गर्ने । म त्यसबेलासम्म नाजवाफ भएको थिएँ । मैले भन्न सकिन कि उनलाई यहाँ नै बस्नुस् भनेर । म अकमक भएको थिएँ । खै किन किन । मलाई हतार थियो । मैले उनलाई केही भन्न नपाउँदै कोठातिर लागें । उनी पनि सायद बसको प्रतिक्षमा थिए । मैले अलि पर गएर हेरें उनलाई देखिनँ, सायद उनी गइसकेका थिए होला । र म पनि आफ्नो गन्तव्यतिर लागें ।
यो त थियो लागू पदार्थको नकारात्मक प्रभावसम्बन्धीको एउटा उदाहरण । यस्ता धेरै काम कार्य लागू पदार्थ र यसको सेवनबाट भएको र हुने गरेका घटना तपाई हामी सामु अनगिन्ती छन् । आत्महत्याको आधार बन्नु पनि लागूपदार्थको नकारात्मक प्रभावको अर्को उदाहरण हो । वास्तवमा भन्ने हो भने लागूपदार्गको सकरात्मक प्रभाव शून्य छ । लागू पदार्थकै कारणबाट हाम्रो घर परिवार, छिमेक र समाजमा कलह भइरहने गर्छ । झै–झगडा, पारिवारिक झमेला, सम्बन्ध विच्छेद, हत्या, कुटपिट पनि यसकै कारणले हुने गर्दछ र यस्ता घटना हाम्रो अगाडि छर्लंगै छन् । लागूपदार्थ र यसको सेवनले एकातिर पैसाको नोक्सान भने अर्कोतिर गरिबी, पारिवारिक झमेला, आत्महत्या जस्ता विकृति बन्ने सम्भावना हुन्छ । मान्छेबाट मान्छे अपमानित, अपहेलित, तिरस्कारको ज्वालामा बल्न बाध्य हुन्छन् । यस्तै लागूपदार्थकै कारणबाट चोरी, डकैति, लुटपाट, बलात्कार, हत्या जस्तो कुकार्य पनि बढ्न सक्छन् । त्यसैले लागूपदार्थ एउटा कलंक हो, सामाजिक कुकृति हो । कुकर्म हो र अर्धविष पनि हो । जसले गर्दा देश हाँक्ने कर्णधार केही गर्ने र बन्ने जोस जाँगरलाई भ्रष्ट नष्ट पार्ने काम गर्दछ ।
माथि प्रस्तुत कथामा एउटा मान्छे विचरा त्यही लागूपदार्थ सेवनबाट नै परिवार र समाजबाट तिरस्कार हुन बाध्य भए । पीडा र तिरस्कारलाई थाम्न नसकेर उनले भारत जाने गलत निर्णय गरे । उनको यो निर्णय वास्तवमा गलत छ । उनलाई जाँड रक्सी सेवन गर्नु रहर त थिएन होला नि ? तर उनी लागूपदार्थ सेवनको कारणले पारिवारिक कलह, कुकृति र झमेलाको सन्ध्या नै तिरस्कार, अपमान र विदेशिन बाध्य भए ।
वास्तवमा लागूपदार्थ एउटा अर्धविष हो । यस्तो अर्धविषको गलत सेवन र प्रयोगबाट वर्षेनी हजारौं, लाखौं देशका कर्णधार युवायुवतीहरूको जीवन उथलपुथल बन्ने गरेको र बनेको पाइन्छ । आखिर यस्तो किन गर्छन् त उनीहरू ? विशेष कारण त उनीहरू साथीभाई मित्रको कु–संगतबाट यस्तो कु–संकार, कु–भावना र कु–विचार पैदा भएको छ कि ‘लागूपदार्थ’ जस्तो अर्धविषको प्रयोग पश्चात पीडा, चोट, थकाई शान्त हुन्छन् भन्ने गलत मनोभावना पैदा हुनु वास्तवमा हाम्रो लागि चुनौती हो । भोलिका कर्णधारको कुलतविहीन भविश्य निर्माण गर्न, पारिवारिक चलाखीपनको आवश्यकता पर्दछ ।
यस्तो विष जसले मान्छेलाई न त सजिलै बाँच्न दिन्छ न त मर्न नै दिन्छ । जसलाई लागूपदार्थ (गाँजा, रक्सी, ड्रग्स) भनेर बुझौं । यसलाई सरकारले पूर्ण रूपमा रोक लगाउन गाह्रो छ र गाह्रो पर्ला पनि तर परिवार, साथीभाइ, समाज, घरपरिवार सबैको सहभागितामा यस्तो विष सेवन र प्रयोगलाई कम गर्न सकिन्छ । सबैभन्दा पहिलो त कु–संगत नगर्ने । एउटा नेपाली गीत छ, ‘पिउदिन भन्दा भन्दै पिलायो साथीले । म छु भनि भरोसा दिलायो साथीले’ यस्तो हुन थाल्यो भने राम्रो हुँदैन । सामाजिक कु–संस्कार, रुढिबादी परम्परा, कु–विचार पूर्णरूपमा हटाइ नयाँ र सशक्त विचार प्रतिस्थापन गरौं । यो हाम्रो कर्तव्य हो । गाँजा, भाङ, धतुरो, डग्स जास्ता लागूपदार्थ पूर्ण रूपमा प्रतिबन्ध हुन जरुरी छ । रक्सीको उत्पादन, वितरण र सेवनमा सीमा हुनु आवश्यक छ । लागूपदार्थ सेवनका बेफाइदाबारे र लागूपदार्थ सेवन पश्चात पर्ने असर र नोक्सानीबारे गाउँ–गाउँमा र टोलटोलमा सचेतना कार्यक्रम तथा तालिम सञ्चालन गरी लागूपदार्थ जस्तो अर्धविषको सेवनबाट भोलिका कर्णधारको भविश्य डामाडोल र बर्बाद हुनबाट बचाउन सकिन्छ ।
–चामुण्डा विन्द्रासनी–१, दैलेख ।

प्रकाशित मितिः   २० पुष २०७४, बिहीबार १५:२६