वीरेन्द्रनगरः एउटा अपूर्ण सहर

विनोद शाही
राजा वीरेन्द्र शाहले औधि मन पराएको सहर हो, वीरेन्द्रनगर । उनै राजाको नामले नामाकरण गरिएको सहर, वीरेन्द्रनगर । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो, वीरेन्द्रनगर । सम्भवतः अबको प्रदेश नं. ६ को सदरमुकाम पनि हुनेछ, वीरेन्द्रनगर । वीरेन्द्रनगर चिनाइरहनुपर्ने नाम होइन । यसको आफ्नै स्थापित पहिचान छ । झट्ट हेर्दा यो एउटा सहर हो । तर अलि बढी ध्यान दिएर वा गहिरिएर अध्ययन गर्दा यो अपूर्ण सहर हो । सहर पनि पूर्ण र अपूर्ण हुन्छ ? प्रश्न उठ्नसक्छ । जहाँ प्रश्न हुन्छ त्यहाँ जवाफ पनि अवश्य हुन्छ । उल्लेखित प्रश्नको विस्तृत जवाफ नै यो लेख हो ।

भित्री मधेसमा पर्ने सुर्खेत जिल्लाको करिब–करिब बीच भागमा अवस्थित एउटा उपत्यका । जहाँ कुनैबेला जंगलले भरिएको थियो । यो समथर उपत्यकामा मान्छेहरूको ‘लोभी आँखा’ नपर्ने कुरै भएन । चाहाना त धेरैको थियो होला, यो उपत्यकामा घरजग्गा जोड्ने । तर त्यतिबेला यहाँको वातावरण मानव अनुकूल थिएन । मानिसहरू उपत्यका वरीपरीका पहाडी भेग गोठिकाँडा, जर्बुटा, बयलकाडाँ लगायतका ठाउँमा बस्थे, यो उपत्यकामा खेती लाउँथे । दिनभरी आउँथे काम गर्थे र साँझ परेपछि बास बस्न उकालो चढ्थे । अलिकपछि दिउँदमा उपत्यकामा झर्ने र हिउँद सकिनासाथ औलोको डरले माथि डाँडातिर सर्ने गरियो । अन्तरिक्षमा बस्ती बसाल्न उद्यत मानिसको स्वभाव, बलजफ्ती र ढिपीसँग प्रकृतिले पनि हार खान्छ कहिले काहीं ! कुनैबेला यहाँ औलो लाग्छ भनेर बास बस्न डराउने तिनै मानिसहरूले समयक्रमसँगै प्रकृतिमाथि पनि राज जमाए । यो उपत्यकामा वस्ती बसाए । बस्ति बढ्दै गयो । समथर भू–भाग भएको उपत्यकामा आज–भोली गर्दै असंख्य घर बने । यही उपत्यका मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम बन्यो ।
वि.सं. २०२२ सालमा चीन सरकारको सहयोगमा यही उपत्यकामा विमानस्थल निर्माण भएपछि बस्ती विकास हुन थालेको हो । औलो उन्मूलन भएपछि वि.सं. २०२३ सालबाट यो उपत्यकामा मानवबस्ती विस्तारले व्यापकता पायो । गोठीकाँडामा रहेको जिल्ला सदरमुकाम पनि त्यही वर्ष उपत्यकामा सरेको थियो । त्यतिबेला खासगरी उत्यकाका दक्षिण र पश्चिमतर्फका उत्तरगंगा र लाटिकोइली क्षेत्रमा बस्ती विस्तार भएको थियो । विस्तारै जनसंख्या वृद्धिसँगै सिंगो उपत्यका मानववस्तीले ढाकिन पुग्यो ।
सुर्खेत–कोहलपुर सडक विस्तार भएपछि भने वीरेन्द्रनगर उपत्यकाले कोल्टे फेर्यो । वि.सं. २०२९ देखि निर्माण कार्य सुरु भएर २०४६ देखि पूर्णरूपमा सञ्चालनमा आएको यो सडकले वीरेन्द्रनगरको मुहार फे¥यो । सडकबीचमा पर्ने भेरी नदी र बबई नदीमा पुल बनेर यातायात नियमित भएसँगै यहाँको विकास निर्माणले तिव्रता पायो । सुर्खेत–कोहलपुर सडकले सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग सडक सञ्जालले जोड्यो । वीरेन्द्रनगर उपत्यकाबाटै दैलेख जोड्ने सडक खुल्यो । कर्णाली राजमार्ग वीरेन्द्रनगरबाटै जोडियो । यसरी वीरेन्द्रनगर सुर्खेत जिल्लाको मात्र होइन मध्यपश्चिमकै केन्द्र बन्यो । सिंगो कर्णाली अञ्चलको प्रवेशद्वारा नै वीरेन्द्रनगर बन्यो । आर्थिक तथा औद्योगिक गतिविधि बढ्दै गए । मानव चहलपहल पनि उसैगरी बढ्यो । विकासका पूर्वाधार विस्तार हुँदै गए । सरकारले क्षेत्रीय सदरमुकाम घोषणा गरेपछि प्रशासनिक तथा अन्य क्षेत्रीय कार्यालयहरू खुले । राज्यको उपस्थितिका हिसाबले पनि वीरेन्द्रनगर बलियो बन्यो ।
सशस्त्रद्वन्द्व सुरु भएसँगै वीरेन्द्रनगर धेरैका लागि सुरक्षित आश्रयस्थल बन्यो । माओवादी युद्ध चरम भएका बेला गाउँमा असुरक्षा बढेपछि हजारौं मानिसहरू विस्थापित भइ वीरेन्द्रनगरमा आएर बसे । सुर्खेतका ग्रामीण क्षेत्रबाट मात्र होइन दैलेख, जाजरकोट, सल्यानसहित कर्णालीका सबै जिल्लाबाट थुप्रै मानसिहरू बसाइँ सरेर वीरेन्द्रनगरमै आए । अधिकांशले यतै घरजग्गा जोडे । यतै स्थापित भए । युद्धकालमा कोही विस्थापित भइ आएर स्थापित भए भने युद्ध समाप्तीपछि पनि बसाइँ सरेर वीरेन्द्रनगर आउनेहरूको संख्यामा घटेन । सुविधा खोज्दै यहाँ आउने क्रम जारी रह्यो, जारी नै छ । उच्च शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विजुली लगायत पूर्वाधारको सुविधाका कारण मानिसहरूलाई वीरेन्द्रनगरले आकर्षित गरिरह्यो । यसैको परिणाम हो, अहिले वीरेन्दैनगर कंक्रिटमय बनेको छ । यहाँको खेतीयोग्य जमिन मासेर धमाधम घर बनेका छन् भने जग्गाको मूल्य आकाशिएको छ ।
शनैः शनै वीरेन्द्रनगरले मुहार फे¥यो । यसको स्वरूप बदलियो । जंगल सबै मासियो । बजार विस्तार भयो । वीरेन्द्रनगर व्यापारिक केन्द्र बन्यो । सहरैभरी होटल खुले । फरक–फरक वस्तुका फरक–फरक पसल खुले । सिमेन्ट, सरिया र इटाले बनेका घरको संख्या बढ्यो । र, यो शहर बन्यो । सुरुमै पनि भनिसकियो यो सहर हो, तर अपूर्ण ।
वीरेन्द्रनगरलाई सरसरती घुमेर हेर्दा देखिने यसको विशेषता के हो भने टोलैपिच्छे खुलेका होटेल, मोबाइल पसल, बनेका र बन्दै घरका असंख्य घर, पार्लर, फेन्सी पसल, कस्मेटिक पसल, खाद्य पसल, हार्डवेयर पसल, डेरी, विजुली पसल लगायतका बाहिरबाट आयात गरेर बिक्री गरिने वस्तुहरूको व्यापारले भनिएको बजार । यस्तो लाग्छ, यो शहरको आफ्नो भन्नु केही छैन, जमिनबाहेक । न यसको मौलिकता झल्किन्छ कतै, न कुनै विशेषता देखिन्छ कतै । मानौं, यो केलब एउटा हाटबजार हो जहाँ अन्यत्र कतै उत्पादन भएका वस्तुहरू ल्याइन्छ, राखिन्छ, बेचिन्छ, बस ।
सहर हुनलाई सबैभन्दा पहिला त्यो व्यवस्थित हुनु अनिवार्य हुन्छ । व्यवस्थित सडक, व्यवस्थित बस्ती, व्यवस्थित ढल निकास, व्यवस्थित पार्क, चौतारा, मैदान आदी आदी । फोहोरको व्यवस्थापन, टाफिक व्यवस्थापन, पार्किंगको व्यवस्थापन, सडक अनुशासन, व्यवस्थित बजारिकरण, व्यवस्थित व्यापार व्यवसाय, पानीको सहज उपलब्धता हुनु पूर्ण सहरका विशेषता हुन् । तर यी कुनै विशेषता वीरेन्द्रनगरमा खोजेर भेटिदैंन । सबै अस्तव्यस्त छ ट्राफिक व्यवस्थापनदेखि बस्ती, बजार, व्यापार, बसपार्क, फोहोर, पार्क, मैदान र चौतारो सबै–सबै ।
धुलाम्मे छन् सडक, दुर्घटना निम्त्याउने खाल्डाखुल्डीले भरिएका । बसपार्कको उचित व्यवस्थापन हुन सकेको छैन । सडक मिचेरै गरिएको व्यापारलाई नियमन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । जताततै फोहोर छ, अहिलेसम्म फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण सम्पन्न हुन सकेको छैन । मूख्य बजार क्षेत्रमै पार्किंगको वैकल्पिक व्यवस्था छैन । पार्किङ्ग अव्यवस्थित छ । ट्राफिक नियमको कसैलाई मतलब छैन, सडकमा ट्राफिक चिन्हरू समेत राखिएको छैन । जताततै फुटपाथ व्यापारले सडक अतिक्रमण त भइरहेको छ नै सहरलाई कुरूप समेत बनाएको छ । न खानेपानीको सहज उपलब्धता छ न ढल निकासको उचित व्यवस्थापन ।
क्षेत्रीय अस्पताल हुनु तर त्यसको अवस्था अस्त–व्यस्त हुनु । विश्वविद्यालय हुनु तर त्यसको अवस्था अस्त–व्यस्त हुनु । विमानस्थल हुनु तर त्यसको अवस्था अस्तव्यस्त हुनु । अन्य थुप्रै भौतिक संरचनासहितका स्रोत र साधन हुन तर ती सबै अस्त–व्यस्त हुनु । ऐतिहासिक तथा पुरातात्किव महŒवको काँक्रेविहार हुनु तर वर्षौदेखि अस्तव्यस्त हुनु । बुलबुले ताल हुनु त्यो पनि अस्तव्यस्त हुनु । क्षेत्रीय संग्रहालय हुनु तर अस्तव्यस्तै रहनु । वीरेन्द्रनगरको विद्यमान वास्तविक पहिचान त यही हो । तब कसरी हुन्छ वीरेन्द्रनगर पूर्ण सहर ?
न आफ्नो मौलिकता जोगाउन सकेको न आधुनिक स्वरूपमा आफूलाई पूर्णरूपमा बदल्न सकेको । वास्तविक वीरेन्द्रनगरको परिचय यही हो । वीरेन्द्रनगरलाई प्रदेश राजधानी बनाउने वकालत गर्न जति सजिलो छ, यसलाई राजधानीको रूपमा विकास गर्न र राजधानी हुनुपर्नेजस्तै पूर्ण सहर बनाउनका लागि गर्नुपर्ने काम भने धेरै बाँकी छ । हो, त्यसैले वीरेन्द्रनगर सहर हो, तर अपूर्ण छ ।