सुध्रिदैं बालबालिकाको पढाइ

मुना हमाल
सुर्खेत, १५ पुस ।
उनी कक्षा १ मा उत्तीर्ण हुन सकिनन् । परिवारलाई छोरीको पढाइ बिग्रने चिन्ताले सतायो । आफन्तले गाउँमै रहेको होमवर्क सेन्टरमा पठाए । हरेक दिन २ घण्टा होमवर्क सेन्टरमा गएर पढ्न थालेपछि उनको पढाइमा सुधार आयो । अन्ततः उनको पढाइ मात्र राम्रो भएन्, उनी कक्षा १ मा प्रथम नै हुन सफल भइन् ।


बराहताल गाउँपालिकाको वडा नम्बर ९ सिरूपाटाकी ममता पुलामी अघिल्लो वर्ष फेल भएपछि चिन्तित बनेका उनका आफन्त अर्कोवर्ष प्रथम हुँदा अचम्ममा परे । हाल स्थानीय नेराप्रावि पोखरीचौरमा कक्षा २ मा पढ्दै गरेकी ममताको पढाइमा निकै प्रगति भएको छ । उनको पढाइमा भएको सुधारले उनकी आमा पनि दंग छन् । होमवर्क सेन्टरमा गएपछि छोरीको पढाइमा सुधार आएको उनकी आमाले बताइन् ।
स्थानीय नमुना स्वावलम्बन आमा समूह, सिरूपाटा किशोरी संवाद केन्द्र र स्थानीयको सक्रियतामा समुदायमा आधारित होमवर्क सेन्टर सञ्चालनमा ल्याइएको हो । विद्यालयमा अनियमित हाजिर हुने र पढाइमा कमजोर बालबालिकाहरूलाई लक्षित गरेर यो होमवर्क सेन्टर सञ्चालनमा ल्याइएको हो । हाल यो होमवर्क सेन्टरमा दैनिक २५ जना बालबालिका अध्ययन गर्न पुग्छन् । होमवर्क सेन्टर सञ्चालनमा आएपछि विद्यार्थीहरूको पढाइमा सुधार हुँदै गएको नेरा प्रावि पोखरीचौरका प्रधानाध्यापक चक्रलाल पुलामी बताउँछन् । ‘पहिले ४० जनासम्म विद्यार्थी उत्तीर्ण हुन्थे, होमवर्क सेन्टर संचालनमा आएपछि त ६० जना विद्यार्थी वार्षिक परिक्षामा उत्र्तीण भएका छन्’ प्रअ पुलामीले भने, ‘स्थानीय अभिभावक, आमा समुह र किशोरी संवाद केन्द्रको सक्रियतामा राम्रो हुँदै गएको छ ।’
हाल यो विद्यालयमा ८३ जना विद्यार्थी अध्ययनरत छन् । उमेर बढी भएका विद्यार्थीहरूलाई होमवर्क सेन्टरले थप सहयोग पुगेको उनी बताउँछन् । ‘उमेर धेरै पुगेका प्रायः विद्यालय नै आउँदैन, होमवर्क सेन्टरमा नै गएर पढ्छन्’ उनले भने, ‘होमवर्क सेन्टरले त उनीहरूमा धेरै सुधार भयो, अब हामीले अभिभावकलाई जागरूप बनाएर होमवर्क सेन्टरलाई अघि बढाउने योजना छ ।’ वीरेन्द्रनगर वडा नम्बर १४ का अंकित रोकाय पनि होमवर्क सेन्टरमा गएर होमवर्क गर्न थालेका छन् । स्थानीय फूलबारी आमा समूहको सक्रियातामा सञ्चालन भएको यो होमवर्क सेन्टरमा उनी बिहान ७ बजेदेखि ९ बजेसम्म पढ्नका लागि पुग्छन् । हिजोआज उनको पढाइमा पनि सुधार भएको छ ।
यामुना सुनारले कक्षा पाँचसम्म पढ्दा होमवर्क सेन्टरमा पढेको बताइन् । ‘घरमा खासै पढ्न पाइदैथ्यो, होमवर्क सेन्टरमा पढ्न गएपछि सजिलो भयो’ उनले भनिन्, ‘कक्षा पाँचसम्म पढ्दा सजिलो भयो, यो वर्षदेखि कक्षा ६ मा गएपछि पढ्न जान पाइएन् ।’ होमवर्क सेन्टरको प्रभाव राम्रो रहेको भन्दै स्थानीय आफूहरूले पनि सहयोग गरेको आमा समूहका अध्यक्ष टिका रोकायले बताइन् । ‘होमवर्क सेन्टरले छोराछोरीको पढाइ सुधार भयो, घरमा नपढ्ने विद्यार्थीलाई सहयोग पुगेको छ’ उनले भनिन्,‘यसलाई अझ प्रभावकारी बनाउन हामी लागि परेका छौ ।’ सम्झना स्वावलम्बन आमा समूहका सचिव एवम् अभिभावक अस्मिता सुनाले होमवर्क सेन्टरमा छोरीहरू पढ्न जान थालेपछि पढाइमा राम्रो हुँदै गएको बताइन् । अहिले उनकी छोरी सुमित्रा सुनार कक्षा ३ मा पढ्छिन् ।
‘मेरो जेठी छोरी कक्षा पाँचसम्म पढ्दा त्यही पढेकी हो, उसको पढाइ पनि राम्रो हुँदै गएको छ । अहिले कक्षा ६ मा पढ्छ’ उनले भनिन् । उनले होमवर्क सेन्टरमा अध्ययन गरे वापत एकजना विद्यार्थीबाट पहिला ६० र अहिले ७० रूपैयाँ शुल्क लिने गरेको जानकारी दिइन् । सम्झना स्वावलम्बन आमा समूहका सबै सदस्यका छोराछोरीहरू अहिले होमवर्क सेन्टरमा नै पढ्छन् । आमा समूह, किशोरी संवाद केन्द्र र स्थानीय अभिभावकहरूको सहयोगमा केही रकम संकलन गरेर होमवर्क सञ्चालनका लागि एक जना सहजकर्ताको व्यवस्था गरिएको छ । त्यहाँ पढाइ बाहेक बालबालिकाहरूलाई व्यक्तिगत सरसफाइ र ब्यायामहरू पनि सिकाइन्छ । बालबालिकाहरूको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने भएकोले बराहताल गाउँपालिकाले पनि यसलाई अन्य वडाहरूमा बिस्तार गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सामुदायमा आधारित होमवर्क सेन्टरहरूलाई गाउँपालिकाका सबै वडाहरूमा विस्तार गरिने बताए । हाल चार वटा होमवर्क सेन्टरहरू सञ्चालनमा छन् ।

प्रकाशित मितिः   १६ पुष २०७४, आईतवार १६:२०