विद्यालय पाठ्यक्रममा विपद् शिक्षाको सान्दर्भिकता
सुवास ज्ञवाली
[email protected]
व्यवस्थापिका संसदबाट पास भइ महामहिम राष्ट्रपतिज्यूबाट यही कार्तिक ५ गते प्रमाणिकरण भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा विद्यालय तहदेखि उच्च स्तरसम्मको शैक्षिक पाठ्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी विषय समावेश गराउने भन्ने विषयलाई प्राथमिकताका साथ समावेश गराइएको छ, जुन विषय ठूलो उपलब्धीका साथ साथै चुनौतीपूर्ण बुँदाको रूपमा लिन सकिन्छ । तथापि यसको कार्यान्वयन आजको ठूलो आवश्यकता हो । आजका बालबालिका भोलिका देशका कर्णधार हुन् र तिनै बालबालिका स्वस्थ तथा सीपयुक्त भएमा मात्र परिवार, समाज र देश उत्थालशील हुन सक्छ । बालबालिकाले आर्जन गरेको ज्ञान तथा सीप आफू स्वयम्, परिवार, समाज तथा राष्ट्रको लागि आवश्यक पर्दछ ।
विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार नेपाल जलवायुजन्य जोखिममा चौंथो स्थानमा, भूकम्पीय जोखिममा एघारौं स्थानमा, बाढीजन्य जोखिममा तीसौं स्थानमा र समग्र विपद् जोखिमको दृष्टिकोणमा संसारका बीस उच्चतम जोखिम देशहरूभित्र पर्दछ । नेपालमा बस्ने ८० प्रतिशत नागरिकहरू कुनै न कुनै विपद्को जोखिमसँग सम्मुख छन् । यो ठूलो जनसंख्या प्राकृतिक विपद्को संघारमा रहेको बेला विपद् जोखिम न्यूनीकरणका सीप तथा सिकाइ बालबालिकालाई विद्यालयस्तरबाट नै सिकाइ अभ्यास गराइ अभ्यस्त पार्नु आजको आवश्यकता हो । विद्यालय आफैमा पनि विपद् संवेदनशील क्षेत्र भएकाले विद्यार्थीले आफ्नो विद्यालय कुन प्राकृतिक विपद्को सम्मुखमा छ र आफू सुरक्षित रहेन के कस्ता उपाय तथा सीप अपनाउने भन्नेबारे जानकारी पाउनुपर्ने आधारभूत आवश्यकता हो ।
समाजमा विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन, परिवारका सदस्यहरूलाई विपद्को ज्ञान तथा सीप अभिवृद्धि गर्न तथा जनचेतना फैलाउन बालबालिकाले अहम भूमिका खेल्न सक्ने कुरामा कसैको दुईमत छैन । बालबालिकाले आर्जन गरेका सीप तथा दक्षता समाज उत्थानको लागि कोसे ढुङ्गा सावित भएका थुप्रै उदाहरणहरू हामीहरूले देखेका नै छौं । यस्तै विपद् शिक्षालाई विद्यालय शिक्षामा समावेश गराइ प्रभावकारी ढङ्गबाट सिकाइ गरेमा मात्र राष्ट्र उत्थानशील हुन सक्दछ । आज पनि न्यून मात्रमा विद्यालय शिक्षामा पढाइ हुने विपद् शिक्षा परम्परागत शैलीबाट सिकाइ अगाडि बढिरहेको छ । विपद् जोखिम न्यूनीकरणका लागि नयाँ प्रविधिको उपयोग गरी व्यवहारिक शैलीबाट विद्यार्थीलाई सिकाउन सके मात्र विपद् शिक्षाले समाज र राष्ट्रलाई उत्थालशील बनाउन सक्दछ ।
विद्यालय तहमा विपद् शिक्षा कक्षा ९ र १० को पाठ्यक्रममा केही अंश राखेर पढाइको पाइन्छ । सैद्धान्तिक विषयको रूपमा अध्यापन हुने स्वास्थ्य तथा वातावरण र विज्ञान विषयमा विपद् शिक्षालाई समावेश गराइएको छ । विशेष गरी बाढी, पहिरो, आगलागी र भूकम्पलाई विशेष ध्यान दिएर पाठ्क्रम तयार गरिएको छ । सैद्धान्तिक कुरा मात्र र परम्परागत शैलीबाट अध्यापन हुने हुँदा यसको प्रभावकारिता न्यून छ । बाढी र पहिरोबाट बच्न वृक्षारोपण गर्नुपर्छ भनेर एकोहोरो रटान लगाइएको छ । वृक्षारोपणबाट दिगो रूपमा पहिरो र बाढीबाट हुने क्षति रोक्न त सकिएला तथापि बाढी र पहिरो जाने वर्षायाममा यो विपद्बाट बच्न तत्काल के गर्न सकिन्छ भन्ने कुरा समावेश गराउनु महŒवपूर्ण कुरा हुन जान्छ । विपद्का सूचना कसरी प्राप्त गर्ने र प्राप्त सूचनालाई आफ्नो समुदायसम्म कसरी सम्प्रेषण गर्ने भन्ने कुरा विद्यार्थीलाई शिक्षित गराउन सकियो भने सम्भावित क्षतिलाई न्यून गर्न मद्दत पुग्छ । वृक्षारोपण तथा वातावरण संरक्षण सँगसँगै आधुनिक सूचना प्रणालीकोसँग सामिप्यता स्थापित गरी विद्यार्थीलाई सिकाइ गरेमा मात्र विपद् शिक्षा प्रभावकारी हुन्छ । विपद्को पूर्व सचेतना प्रणाली, विपद् पूर्वतयारी, विपद्को समयमा व्यक्ति तथा समुदायले अपनाउनुपर्ने सावधानी र सचेतना र विपद् पश्चातको समयमा विस्थापित भइ पुरानो अवस्थामा फर्कदा गर्नुपर्ने सुरक्षा सुनिश्चितता बारेमा विद्यार्थीहरूलाई शिक्षण गरेमा समुदायले त्यसको लाभ लिन सक्नेछ ।
विभिन्न विपद् पश्चात घाइते तथा अङ्गभङ्ग भएका बिरामीहरूलाई आवश्यक पर्ने आधारभूत प्राथमिक उपचारका विधि तथा सीप, खोज तथा उद्धारका सुरक्षित तरिका, आपतकालीन निकास नक्साङ्कन आदि विषयलाई प्रयोगात्मक विधिबाट विद्यार्थीलाई शिक्षण गराउन सकेमा विपद् प्रतिकार्यमा ठूलो उपलब्धी हासिल गर्न सकिन्थ्यो र यो आजको आवश्यकता पनि हो । किताबको सैद्धान्तिक विषयलाई केन्द्रमा राखेर समुदायको आवश्यकता तथा समुदायको संकटासन्नतालाई पहिचान गर्दै विषयवस्तु चयन गरी गरिने सिकाइ अब्बल हुन्छ । विद्यार्थीलाई परियोजना कार्यमार्फत् समुदायमा रहेका वृद्ध–वृद्धा, अपाङ्ग, गर्भवती, सुत्केरी, महिला तथा बालबालिकाको जनसंख्या अद्यावधिक गरी संवेदनशील समुदायको पहिचान गर्दै संकटासन्नता मापन गर्न लगाउँदा फलदायी हुन्छ । समुदायको अध्ययन भ्रमणमार्फत् विद्यार्थीहरूलाई समुदायको जोखिम, सङ्कटासन्नता, प्रकोपको अवस्था आदि विषयमा खोज गरी, छलफल र विमर्श गर्न लगाइ आवश्यक सतर्कता अपनाउन विद्यार्थीमार्फत् समुदायलाई सुसूचित गर्न सकिन्छ र यो गर्दा विद्यार्थीमा आफ्नो समुदायले सामना गर्नुपर्ने प्राकृतिक विपद्को किसिम र समुदायको क्षमताका विषयमा पर्याप्त ज्ञान आर्जन गर्ने मौका मिल्छ ।
जलवायु परिवर्तन र सोबाट हुने प्राकृतिक विपद् र विपद्ले ल्याउने मानवीय संकटका बारेमा विद्यार्थीलाई विद्यालयस्तरमै अभ्यस्त पार्नु आजको आवश्यकता हो । जलवायु परिवर्तनले पार्ने हानी तथा क्षतिका बारेमा विद्यार्थीले परिवार तथा समुदायलाई सुसूचित पार्दै समुदायले चाल्नु पर्ने कदम तथा अनुकूलनका क्रियाकलापबारे ज्ञान तथा सीपलाई बृहत् रूपमा समुदायसम्म पु¥याउन सक्नेछन् र यसलाई ठूलो उपलब्धीका रूपमा ग्रहण गर्न सकिन्छ । विद्यार्थीलाई आफ्नो समुदायका प्रकोपहरूको पहिचान गर्न लगाई त्यसका अल्पीकरणका उपायहरूमा विमर्श गर्दै सम्भावित क्षतिको न्यूनीकरणमा खेल्न सकिने भूमिका प्रति जानकार बनाउनु पर्दछ । विपद् सम्बन्धी हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, नाटक आदि
सह–क्रियाकलापमार्फत् ज्ञान अभिवृद्धि गर्न सकिन्छ । विपद्को पूर्व तयारी कसरी गर्ने, विपद्को समयमा के गर्ने र विपद् पश्चात के गर्ने, यी तीन चरणलाई केन्द्रमा राखेर सिकाइ गरेमा मात्र विपद् शिक्षा व्यवहारिक तथा प्रभावकारी हुन्छ । विद्यार्थीलाई स्वयम्सेवी भावना जागृत गराई समुदायमा आइपर्ने विपद् प्रतिकार्यमा संलग्न गराउँदै उनीहरूको सीप तथा दक्षता अभिवृद्धि गराउन विद्यालय तथा परिवारले पहल गर्नुपर्ने हुन्छ । विद्यार्थीलाई समाजप्रतिको दायित्व बोध गराउँदै उनीहरूको क्षमताको विकास र विस्तार गरी सेवाको भावनालाई फराकिलो बनाउँदै लग्नुपर्दछ ।
विद्यालय पाठ्यक्रममा विपद् शिक्षालाई समावेश गराउनु मात्र ठूलो उपलब्धी होइन यसको शिक्षण पद्धतिलाई परिस्कृत गर्दै व्यवहारसँग जोडिनु पर्दछ । विपद् शिक्षालाई सैद्धान्तिक अध्यापनले मात्र फलदायी बनाउन सक्दैन । यसको प्रभावकारिता प्रयोगात्मक पद्धतिलाई अङ्गालेर सिकाइ गरेमा मात्र हुन्छ । भूकम्पको बेला घरभित्र भए कसरी सुरक्षित रहेन अथवा घर बाहिर भए कसरी आफूलाई सुरक्षित राख्ने भनेर सुरक्षित प्रयोग तथा अभ्यास गरेर मात्र विद्यार्थीमा प्रभाकारी सिकाइ हुन सक्छ र त्यो दिगो स्मरणीय हुन्छ । विद्यार्थीलाई कृतिम विपद् घटनाको सिर्जना गराइ अभ्यास गर्न लगाई उनीहरूले प्राप्त गरेको ज्ञान तथा सीपको मापन गरिएमात्र विपद् शिक्षाको सान्दर्भिकता देखिनेछ र समुदाय अत्थानशील बन्नेछ । तालिम प्राप्त शिक्षक–शिक्षिका र समुदायको आवश्यकता अनुसारको विपद् पाठ्यक्रमको निर्माण गरी गरिने शिक्षण तथा प्रयोगात्मक अभ्यासले मात्र विपद् शिक्षालाई विद्यालयस्तरबाट नै बुलन्द पार्न सकिन्छ । सुगा रटाइ शिक्षाले एक पाना लब्धाङ्क पत्र त दिन सक्ला तर आफू,आफ्नो परिवार तथा समुदायको पहरेदारको रूपमा बहन गर्नुपर्ने नागरिक दायित्वबाट चुकाउँछ, यो सबैले आजैबाट मनन गरौं ।
साझा बिसौनी संवाददाता ।