मृगौला पीडितद्वारा सहयोगको याचना

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ पुस ।
दुई मृगौला समस्या देखिएपछि उपचारको क्रममा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छ । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाई दुर्गराज अधिकारीले जानकारी दिए ।

‘मुुमा अथवा बुबाको मृगौला म्याचिङ हुन्छ, हुँदैन थाहा छैन’, उनकी श्रीमती गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु । तर, उपचारका लागि पैसा छैन ।’ उनले मृगौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।
मृगौलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनऊमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो । २५ वर्षीय अधिकारीको दुवै मृगौला खराब भइ उपचारमा अर्थिक समस्या भएर जीवन संघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि सहयोग गरिदिन अपिल गरेका हुन् । सहयोग गर्न चाहनेहरूले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिन श्रीमती गीताले अनुरोध गरेकी छन् । साथै, अंकल भवानी अधिकारीको नाममा वाणिज्य बैंक शाखा दैलेखमा रहेको २०२४९ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बताइएको छ ।

प्रकाशित मितिः   १६ पुष २०७४, आईतवार १६:१९