आखिर कसले जित्यो ?

जित्यो, कस्ले के जित्यो ? कहाँनिर जित्यो ? कसरी जित्यो ? के भोका नाङ्गाहरूले गास पाए ? कि गरीब र दिन दुखीहरूले साहारा पाए ? वृद्धभत्ता बढाउनु र स्वदेशमा पसिनाको सिँचाइ गर्नसक्नेहरूको हातमा राहदानी थमाउनु कस्तो जीत हो ? वा बेरोजगारहरूलाई बेरोजगार भत्ता दिनु हो, जीत ? जीत सहिदको हुनुपर्ने थियो । पुछिएका सिउँदोहरू न्यायले संगीनु पर्ने हैन र ? कोख रित्याएकी आमाका आँखा खुशीले भरिनुपर्ने दिन अझै कति टाढा छ ? अबोध बालकले गर्व गर्नुपर्ने बेला यो हैन र ? बुबाको बलिदानले देशको मुहार फेरियो भन्दै अनी शान्ति, सुरक्षा, समानता, न्याय, विकास, रोजगार, शिक्षा, स्वास्थ्य र आवसले गति लिने कहिले ? कलेजले उत्पादन गरेका कच्चा पदार्थ जस्ता बेरोजगार युवायुवतीहरूले योग्यता अनुसारको रोजगारीका लागि ढुक्क हुनुपर्ने र लालीगुराँस हाँसेसँगै, मयुर नाचसँगै, गाईको शंख ध्वनी आवाजसँगै हिमाल, पहाड र तराईमा राष्ट्रीय गान साथ चन्द्र सूर्य फर्फराएर सुशासन महसुस, भ्रष्टाचार अन्त्य र विधिको शासनलाई अवलम्बन गर्न पाउने दिन अझै कति टाढा छन् ?


तीन करोड राष्ट्र प्रेमीहरूले अब कैले जित्छन् ? आज देश शान्ति प्रक्रियामा आएर राजनीतिमा भ्रमको खोल ओढेकाहरूको लागि दुई पटक अरबौं खर्चमा संविधान निर्माणका लागि जनप्रतिनिधिलाई चयन गरेर संसद भवनभित्र रोजगार दियो । तिनका आसेपासेहरू र कार्यकर्ताहरूले रोजगार पाए सरकारी अपिसमा पँहुच बनाए । झारा टार्ने काम जसोतसो संविधान त बन्यो । त्यसको कार्यान्वयनका लागि रेमिट्यानसले चलेको हाम्रो देशले तीन चरणको चुनाव सम्पन्नसम्म गरेको छ तर राजनीतिक मुद्दा अझै सकिएन ।
अब देशमा राजनीतिक मुद्दाको समाप्ती भएर विकास र आर्थिक समृद्धिको मुद्दाले स्थान पाउनुपर्ने बेला हैन र ? आखिर देश कहिलेसम्म रेमिट्यानसको भरले चल्छ ? देशले कहिलेसम्म युवायुवतीले बिदेशी भूमिमा बेचेको रगतले शासकहरूलाई पाल्छ ? सीप सिक्यो अलि–अलि आर्थिक जोहो ग¥यो दुई÷चार वर्षपछि स्वदेश फि¥यो अब त केही परिवर्तन भयो होला चन्दा अतंक र दादागीरीको न्यूनीकरण भयो होला भन्यो, स्वदेश फि¥यो तर केही परिवर्तन छैन । झन भ्रष्टाचारले चरम सीमा नाघेको हुन्छ । पार्टी कार्यकर्ता पाल्न रगतले आर्जेको दुई सयको आधि अंश बुझाउनुपर्छ । त्रिपालमा चिसो काट्यो गर्मीयाममा केही हुन्छ कि भन्यो राहत टोली आयो गुनासो सुन्यो गयो । बाढीपीडितले गास नपाएर आत्महत्या गरेको समाचार, दाइजो नपाएर ससुराले बुहारीको हत्या र एक्लो सन्तान मेसिन दुर्घटनामा ज्यान गुमाएर बाकसमा घर फर्किएको कथा के मेरो देशका शासकको कानमा न पुगेकै हो त ? कि अझै बाँकी छ सत्ता र पदको अंशवण्डा ?
बिरामी उपचारको लागि सहज वातावरण भएन भन्दै डाक्टर अन्शन बस्नुपर्ने । नेपाली चेलीको परदेशी भूमिमा बलात्कृत भएर आत्महत्या हुँदा न्यायको लागि पत्रकारले आवाज उठाउनुपर्ने । सरकारी टोलीले राहत लिएर आयो आश्वासन मात्रै बाँडेर फर्किने, कलाकारले भूकम्प र बाढीपीडितको घाउमा मल्हम लगाउन अहोरात्र खट्टिदा पनी राज्यले जस नदिने । जनताको चाहन आनुसार नै राज्यको ऐन र कानुन हुने हो भने राज्यले अपराधीको सूचीमा राखेका हरकोहीलाई सामाजिक काममा आउन बन्देज गर्नुपर्ने थियो । हैन भने जनादेशको सही प्रयोग हुनुपर्ने थियो । देशका ठूलाठूला सहरहरू चारलाइनको बाटो विस्तार, रेलमार्ग निर्माण, सुरुङ्ग मार्गका योजना आगाडि आउनु, मुग्लिन नारायणगढ सडकलाई विस्तार र राजधानी आउनका लागि अर्को वैकल्पिक बाटोको अवधारणा खोइ ?
सरकार फेरियो भने मन्त्री फेरिए, कर्मचारी फेरिए, जो जहाँ जैले जसरी फेरिए पनि राम्रा कामलाई किन निरन्तर दिइदैंन ? केही दिन अगाडि मात्रै बीबीसी नेपाले सेवाले नेपालको अर्थतन्त्र बैदेशिक रोजगारमा अडेको र पछिल्ला केही दिन यता रेमिटेन्स आयात उच्च रहे पनी अहिले आएर स्थिर रहेको भन्ने समाचार प्रसारण गरेको थियो । सो समाचारलाई मात्र आधार मानेर हेर्ने हो भने देश कुन स्थितिमा छ छुट्याउन गाह्रो नपर्ला । जलस्रोतको धनी देश प्रकृतिक सुन्दरतामा दाग लगाउने ठाउँ छैन । शान्तिका दुतले पाइला टेकेको भूमि, खुकुरीले विरता बचाएको पुर्खाको ऐतिहास आज छिमेकीका अगाडि लाचहार छ । छात्तीमा हात राखेर भन्ने हो भने धेरैले सतिले सरापेको देश भनेता पनि एक कदम माथि उठेर हेर्ने हो भने सत्ताले सरापेको देशभन्दा जायज होला ।
यसरी नै देश चल्ने हो, अब पनी कर्णालीले चामल, मधेसले न्याय, भूकम्प र बाढीपीडितले गास, बास र कपास नपाउने हो भने कहिले होला देश समृद्धि ? कहिले पुगाउला हाम्रो देशले चन्द्रमामा रकेट कहिले गुड्छ, पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म रेल ? देशमा स्थायी सरकार आयोस् । भ्रष्टाचार, दलाल माफिय, लुटपाट, चन्दा अशुल्नेहरूको अन्त्य भइ कम्तीमा पनि युवायुवतीहरूले सीप र निर्धक्क लगानी गर्ने वातावरणको सन्तुलन कायम होस् । अनि देशले आफै फर्ने छ मुहार, आफै जन्मिने छन् रोजगारीका अवसर, आफै बढ्नेछ देश समृद्धितर्फ ।
चौकुने–४ सुर्खेत, हाल दक्षिण कोरिया ।