धुम्रपानबाट बचाऔं व्यक्ति र समाज

लक्ष्मी शर्मा
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा आज जुनसुकै उमेरका धुम्रपान गर्ने व्यक्तिहरूलाई थाहा भएकै छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरूको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि मानिसहरूले कुनै न कुनै बहानामा धुम्रपान गरिरहेका हुन्छन् । विभिन्न वहानामा वा अर्काको लहैलहैमा लागेर तथा कसैको देखासिखी गरेर, धेरै व्यक्तिहरू महिला, पुरुष, किशोर, किशोरी, धनि, गरीब, बालबालिका, युवायुवति, बृद्धबृद्धादेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने केही व्यक्ति समेतले खुलेआम धुम्रपान गरिरहेका छन् ।

सुर्तीजन्य पदार्थका कारण हाम्रो वातावरण प्रदुशित भएको छ । पैसाले किन्ने, किनेर खाने अनि खाएर जथाभावी फोहोर गर्ने जस्ता नालायक व्यवहारले आजको वातावरण प्रदुषित भएको छ । सुर्तीजन्य पदार्थमा खैनी, मेघाश्री, गुड्खा, श्यामबहार, चुरोट, सुर्ती लगायतका सबै खालका अखाद्य पदार्थले हाम्रो घरभित्र जुनसुकै स्थानमा फोहोर गर्ने, घरका झ्याल, ढोका, भित्ता, यताउताका खाली ठाउँमा सुर्तीजन्य पदार्थको असर परेको छ । घरका भित्ता, झ्याङ, वाथरुम, ट्वाइलेटमासमेत अखाद्य पदार्थको सेवनबाट स्वच्छ व्यक्तिलाई समेत रोगी बनाउने गरी थुकेर फोहोर र दुषित पारिएको पाइन्छ ।
प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी मानिस हो । मानिसले दिन प्रतिदिन नयाँ नयाँ चिजको अविस्कार गरेको छ । मानिसले विभिन्न चमत्कारी कामहरू गर्दै समय अनुसार आफूलाई परिवर्तन गर्दै विश्वमा अगाडि बढीरहेको छ । विश्वमा जति राम्रा कामहरू भएका छन् ती सबै आजको वैज्ञानिक युगसम्म आइपुग्दा मानिसहरूबाट नै भएका छन् । मानिसदेखि वातावरणसम्म बिगार्ने र प्रदुषित गर्ने काम पनि मानिसबाट नै भइरहेको छ । ढुंगे युगदेखि आज वैज्ञानिक युगसम्म आइपुग्दा मानिसहरू नयाँ नयाँ र प्रगतिशील काम पनि भइनै रहेको छ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । घरमा बसेर संसारका गतिविधिहरू पलभरमै थाहा भइरहेको छ तर आज भन्दा धेरै धेरै वर्षअघि हाम्रा पुर्खाका पालामा सेवन गर्ने धुम्रपान र मध्यपानलाई अहिले पनि मानिसहरूले नसा वा अम्मलको रूपमा सेवन गरिरहेका छन् । यसको परिवर्तन हुन सकेको छैन । आजसम्म आइपुग्दा युवा पुस्ता लगायतका मानिसहरू धुम्रपान र मध्यपानमा रमाइरहेका छन् । अहिलेको युग विज्ञान, प्रविधि र शैक्षिक युग पनि हो । शिक्षाका ठूला–ठूला गफ दिने समाजमा पढेलेखेका शिक्षत कहलिएका केही व्यक्तिहरूले आफूलाई पाएक पर्ने रेष्टुरेन्ट वा कटेजमा जम्मा भएका हुन्छन् र नसामा लठ्ठ भएर आफूलाई परिवर्तनकारीका गफ गर्दछन् । समाजलाई परिवर्तन गर्छौं भनेर झुटा गफ गर्नेहरूले आफैलाई परिवर्तन गर्न नसक्नेले समाजको परिवर्तनका झुट्टा कुरा गर्ने, खोक्रा नारा लगाउन आवश्यक छैन । परिवर्तनका नाममा धुम्रपान र मध्येपान गरेर घरपरिवारमा, समाज र सार्वजनिक ठाउँको वातावरणसमेत प्रदुषित गर्नेहरूले कस्तो परिवर्तन गर्दछन् ? जसले प्रकृतिलाई समेत प्रदुषित गर्दछ भने त्यस्ता मानिसका कारण वातावरणलाई प्रदुषित गर्न समेत उद्दत हुन्छन् । किन भने धुम्रपान गर्ने मानिसहरूले समाजमा कुन कुरा राम्रो हो कुन नराम्रो हो, मैले के गर्ने के नगर्ने भन्ने हेक्का समेत राख्न सक्दैन । किन भने उनीहरूले प्रयोग गर्ने वा उनीहरूको अम्मल सुर्ती चुरोटको बट्टामा कम्पनीले क्यानसरको चित्र समेत बनाएको छ । त्यसको कुनै प्रवाह नगरिकन सेवन गर्ने र बट्टा वा खाली खोल घर आँगन तथा सार्वजनिक स्थानहरूमा फाल्ने गर्दछन् । त्यसले जहाँ फाल्यो त्यहाँको वातावरण नराम्रोसँग प्रदुषित भएको छ ।
धुम्रपान भन्ने बित्तिकै बुझ्नु पर्दछ, धुम्रपान भनेको चुरोट, तमाखु, सुर्ती, खैनी जस्ता सुर्तीजन्य पदार्थहरूको सेवन हो । यो एक प्रकारको दुव्र्यसन हो । सुर्ती जन्य पदार्थको प्रयोग दुई किसिमले भएको पाइन्छ । धुवाको रूपमा जस्तैः चुरोट, तमाखु, कक्कड, हुक्का लगायत पर्छ र अर्को खैनी, सुर्ती, श्यामबहार, गुड्खा, मेघाश्री लगायत पर्छन् । यी दुई प्रकारले हुने सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक मात्र नभइ आर्थिक र सामाजिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ, सुर्तीजन्य पदार्थले वातावरणमा पारेको नकारात्मक असरमा कसैको ध्यान पुग्न सकेको छैन ।
सुर्तीजन्य पदार्थको नियन्त्रण विधेक मुस्किलले २०६८ साउन २२ गतेका दिन सदनबाट पारित भएको छ तर कार्यान्वयन हालसम्म भएको छैन । कार्यान्वयन नहुनुमा राज्यको कमजोरी हो भन्दा फरक नपर्ला । नियन्त्रण गर्ने निकाय किन मौन छ ? राज्यको पक्षबाट कार्यान्वयन हुने हो भने सुर्तीजन्य पदार्थको सेवनकर्ता सजक हुने थिए र घर आँगन, सडकका चोकहरू, गल्लीहरू लगायत सर्वजनिक स्थानमा फोहोर कम हुने थियो । आज वातावरण सफा राख्न ठूलो चुनौती भएको छ । सुर्तीजन्य पदार्थका सेवनकर्ताको लापरबाही र नियन्त्रणकारी निकायको मौनताले गर्दा दिन प्रतिदिन वातावरणीय प्रदुषण बढ्दो अवस्थामा छ । प्रत्येक व्यक्तिले आफ्नो सभ्यताको पहिचान दिन र वातावरण संरक्षण गर्न जरुरी छ ।
दिगो विकासको विचारसँग पनि तीन मुख्य पक्षहरू हुन्छन् भनि निश्कर्ष निकालिएको छ । पहिलो आर्थिक विकास, दोस्रो सामाजिक विकास र तेस्रो वातावरणीय संरक्षण सम्बन्धी संयुक्त राष्ट्र संघीय महासभाबाट पारित सन् २०१६ देखि २०३० सम्मको दिगो विकास लक्ष्यहरूले सबै खालका गरिबी अन्त्य, हाम्रो धरतीको संरक्षण र भावि पुस्ताको सुरक्षित भविश्य हुनुपर्दछ भनेको छ । त्यसैकारण हाम्रो आर्थिक स्थितिलाई बलियो बनाउन विभिन्न खालका दुव्र्यसनी वा कुलतबाट टाढै रहनुपर्दछ, हाम्रो वातावरणलाई जोगाउन हरेक फोहोरलाई उचित व्यवस्थापन गर्नुपर्छ र हाम्रो समाज सफा राख्न हरेक प्रयोग गरेको वस्तुबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन गर्नुपर्छ ।

प्रकाशित मितिः   १६ पुष २०७४, आईतवार १६:१२