मुख्यमन्त्रीमा एमालेको दाबी

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नेकपा एमालेले संस्थागत रूपमा नै दाबी गरेको छ । आफूहरूको आधारक्षेत्र रहेको भन्दै माओवादीले यो प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहँदा एमालेले भने कुनै पनि हालतमा नेतृत्व छाड्न नसकिने जनाएको हो । एमाले प्रदेश कमिटीको बैठकले निर्णय नै गरेर यसबारेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।


गठबन्धन बनाएर निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच यो प्रदेशको मुख्यमन्त्री हात पार्न रस्साकस्सी नै हुने देखिएको छ । प्रदेश सरकार गठनका लागि दुई पार्टीबीच भागवण्डा हुँदा आफूहरूको रोजाइमा प्रदेश ६ नै पहिलो प्राथमिकतामा हुने माओवादी नेताहरू बताउँछन् । जनयुद्धको उद्गम क्षेत्र भएकाले पनि यो प्रदेशमा सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने माग माओवादी नेताहरूको छ । तर माओवादीको यही मनोभावना बुझेको एमालेको प्रदेश कमिटरुले विभिन्न आधारहरू पेश गर्दै यो प्रदेशको नेतृत्व माओवादीलाई छाड्न नहुने निर्णय पार्टी केन्द्रलाई बुझाएको हो ।
यो प्रदेशमा शतप्रतिशत
(उम्मेदवार बनेका सबै) उम्मेदवारहरू विजयी गराउन सफल भएको, प्रदेशसभाका ४० सीटमध्ये ५० प्रतिशत अर्थात् एमाले एक्लैको २० सीट रहेको, यो प्रदेशमा समानुपातिकतर्फ पनि पहिलो भएको, स्थानीय तहमा पहिलो शक्ति बनेको साख कायमै राखेको र पार्टीले सबैभन्दा बढी सीट जित्ने प्रदेशहरूमध्ये प्रदेश ६ तेस्रोमा पर्न सफल भएकाले पनि यो प्रदेशको नेतृत्व छाड्न नहुने एमाले प्रदेश कमिटीको तर्क छ । एमाले उपाध्यक्ष तथा प्रदेश कमिटीका संयोजक युवराज ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले यो प्रदेशको नेतृत्व माओवादीलाई छाड्न नहुने निर्णय गरेको हो । यही निर्णय पार्टीका शीर्ष नेताहरूलाईसमेत बुझाएर प्रदेश कमिटीका नेताहरूले ध्यानाकर्षण गराइसकेका छन् ।
‘प्रदेशमा पार्टीका सबै उम्मेदवार जिताएका छौं, प्रदेशसभाको आधा सीट हामीसँग छ’ एमाले प्रदेश नम्बर ६ का सहसंयोजक यामलाल कँडेलले भने, ‘एमालेविना यो प्रदेशमा सरकारका लागि कसैको बहुमत पुग्दैन, प्रदेशमा सबैभन्दा ठूलो दल हामी बनेको छौं । यसकारण नेतृत्वमा हामीले दाबी गरेका हौं, यो प्रदेशमा सरकारको नेतृत्व अरुलाई छाड्न सकिन्न ।’ उनले अब गठबन्धनको नभइ एउटै पार्टी बनाएर सरकार गठन गर्नुपर्ने बताए । उनले भने, ‘तत्काल माओवादीसँग पार्टी एकता हुनुपर्छ, भागवण्डाबाट भन्दा पनि एउटै पार्टी बनाएर प्रदेश र केन्द्र सरकार बनाऔं । यदी दुई दलले भागवण्डा गरेर सरकार बनाउने अवस्था हो भने, माओवादीलाई प्रदेश ६ बाहेक अन्य कुनै प्रदेशको नेतृत्व दिन केन्द्रसँग आग्रह गरेका छौं ।’
एमालेका धेरै उम्मेदवार विजयी हुने प्रदेशको सूचीमा प्रदेश ६ तेस्रो नम्बरमा रहेकाले पनि यो प्रदेशको नेतृत्व छाड्न नहुने अडानमा एमाले नेताहरू छन् । अर्कोतर्फ प्रदेश ६ मा एमालेलाई एक्लै सरकार बनाउन एक सीट मात्र अपुग छ । जम्मा ४० जना प्रदेश सांसद रहेको प्रदेशसभामा एमालेसँग २० जना सांसद छन् । सरकार गठनका लागि आवश्यक वहुमत २१ सीट हो । आफूसँग एक सीट मात्र कम भएको र आफ्नो सहभागिता विना प्रदेशमा सरकार नै बन्न नसक्ने अवस्था देखेपछि एमाले नेताहरू मुख्यमन्त्री हात पार्ने दौडमा होमिएका छन् । मुख्यमन्त्रीको आकाक्षांसहित सुर्खेतबाट प्रदेशसभा सदस्यमा विजयी भएका एमाले नेता यामलाल कँडेलले भने, ‘प्रदेशमा हामीले एक्लै सरकार बनाउन सक्ने अवस्था छ, अब हामीले अरुलाई नेतृत्व किन सुम्पिने ? स्वभावतः ठूलो दलले नै सरकारको नेतृत्व गर्ने हो, ठूलो पार्टीको जिम्मेवारीमा रहेको नेता नै मुख्यमन्त्री हुन्छ ।’
एमालेभित्र पोलिटब्यूरो सदस्य प्रकाश ज्वालालाई पनि मुख्यमन्त्रीको रूपमा चर्चा गरिएको छ । उनी यही आकाक्षांसहित सल्यानबाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । तर नेता कँडेलले भने,‘पार्टीको नेतृत्व र जिम्मेवारीमा रहेको नेताले नै सरकारको पनि नेतृत्व गर्ने हो, तर प्रदेश कमिटिका संयोजक युवराज ज्ञवाली निर्वाचन नै लड्नु भएन । म प्रदेश कमिटिको सहसंयोजक पनि हुँ, यस्तो अवस्थामा अब मुख्यमन्त्रीका लागि पार्टीभित्र कुनै दुविधा नै छैन ।’ यद्यपि उनले यस विषयमा पार्टीभित्र कुनै बहस नभएको भन्दै छलफलबाटै टुङ्गो लाग्ने जानकारी दिए । यसैबीच एमाले प्रदेश कमिटिले हालसम्म एक जना पनि स्थायी समितिमा नरहेकाले प्रदेश ६ बाट पनि प्रतिनिधित्वको माग गरेको छ । आफूहरूले यो प्रदेशबाट अब बन्ने केन्द्र सरकारमा पनि अनिवार्य प्रतिनिधित्वको माग गरेको जानकारी नेता कँडेलले दिए ।

प्रकाशित मितिः   १५ पुष २०७४, शनिबार १५:४१