‘पश्चिम सुर्खेतमा अब सडक कालोपत्रे र बिजुली पुग्नेछ’
सुर्खेत ६ नम्बर प्रदेशको राजधानीका लागि तयारी गर्दैछ । प्रदेशको राजधानीका लागि तयारी भइरहँदा जिल्लाको पश्चिम क्षेत्र भौतिक विकास र पूर्वाधारमा पिछडिएको छ । हालसम्म अधिकांश बस्तीमा सडक पुगेको छैन । भएका सडक पनि दयनीय र जीर्ण छन् । अर्कोतर्फ त्यहाँका बासिन्दाले हालसम्म राष्ट्रिय प्रशारण लाइनको बिजुली देख्नै पाएका छैनन् । यस्तो अवस्थामा हालैसम्म निर्वाचनमा दल र तिनका उम्मेदवारहरूले धेरै आश्वासन बाँडेका छन् । हामीले विजयी भएपछि पश्चिम सुर्खेतको विकास र समृद्धिका लागि तपाईंका योजना के छन् ? भनेर सोही क्षेत्रका सांसद विन्दमान विष्टलाई सोधेका छौं । प्रस्तुत छ, कुराकानीको सारांशः
आफ्नो विजयलाई कसरी लिनु भएको छ ?
जनताले मलाई विकास र समृद्धिको भारी बोकाएका छन् । पश्चिम सुर्खेत भौतिक विकासमा पिछडिएको छ । त्यस क्षेत्रको समग्र विकास गर्ने जिम्मेवारी मलाई मतदाताले सुम्पेका छन् । यो विजयलाई मैले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने जिम्मेवारीको रूपमा लिएको छु । निर्वाचन अघि मतदाताको बीचमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने अवसर र चुनौतीको रूपमा आफ्नो विजयलाई लिएको छु । मैले जनताको सेवा गर्ने र जिल्लाको विकासमा अग्रसर हुने सुनौलो अवसर मिलेको अनुभूति गरेको छु ।
यहाँको क्षेत्रमा तत्काल गर्नुपर्ने मुख्य तीन वटा काम के छन् ?
मैले प्रतिनिधित्व गर्ने पश्चिम सुर्खेतमा अहिले पनि सडकको अवस्था दयनीय छ । हालसम्म बिजुली नपुग्दा जनता अन्धकारमा बस्न बाध्य छन् । त्यसैले मेरो क्षेत्रमा तत्काल गर्नुपर्ने पहिलो काम भनेको बड्डिचौरदेखि वेनीघाट जोड्ने सडक कालोपत्रे हो । यसलाई तत्काल कालोपत्रे गर्ने काम मेरो प्राथमिकता छ । यस्तै कल्यानबाट धनरास जोड्ने सडकको स्तरोन्नतिका लागि पनि काम थाल्नेछु ।
दोस्रो काम भनेको विद्युत विस्तार हो । मेरो क्षेत्रमा हालसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेको छैन । तत्काल त्यहाँ बिजुली पु¥याउनका लागि आवश्यक पहल गर्नेछु । तेस्रो काम भनेको रोजगारी सिर्जना हो । रोजगारीका लागि मेरो क्षेत्रमा रहेको चौकुने सिमेन्ट उद्योग र वेतन कर्णाली जलविद्युत आयोजना सञ्चालन गरिनेछ । यसले गाउँमा पर्याप्त रोजगारी उपलब्ध हुनेछ । त्यसकारण मेरो क्षेत्रमा तत्काल गर्नुपर्ने मुख्य तीन वटा काममा सडक कालोपत्रे, विद्युत विस्तार र रोजगारी सिर्जना हुन् ।
जनताको अपेक्षा के पाउनुभयो नी ?
निर्वाचित भएपछि म मतदाताको दैलोमा पुगेर फिर्ता भएको छु । जनताले हामीबाट धेरै अपेक्षा गरेका छैनन् । विगतमा विजयी भएपछि गाउँ नफर्कने संस्कार थियो । त्यसकारण जनतामा केही आंशका छन् । विजयी भएपछि सांसद गाउँ आउँदैनन् की भन्ने चिन्ता जनतामा छ । जनताले आफूहरूसँगै बसेर सांसदले गाउँको विकास गरिदेओस् भन्ने अपेक्षा राखेका छन् । यसमा म सचेत छु । विगमा जित्नेहरूले जे–जस्तो गरेको भए पनि मेरोतर्फबाट जनताको अपेक्षामा कुठराघात हुनेछैन । म पाँच वर्षसम्म जनताको बीचमै बसेर विकास र समृद्धिका लागि काम गर्ने प्रण गर्दछु ।
अबको पाँच वर्षभित्र जनताले नयाँ के पाउँलान् ?
अबको पाँच वर्ष विकास र समृद्धिको समय हुनेछ । मेरो पाँच वर्षीय कार्यकालमा सडकको पहुँच विस्तार हुनेछ । मेरो क्षेत्रका सबै गाउँमा सडक सञ्जाल पुगेको हुनेछ । जनताले यातायातका साधनमा सहज रूपमा यात्रा गर्न पाउनेछन् । अर्को पश्चिम सुर्खेतका सबै गाउँ, टोल र घरमा बिजुली बलेको हुनेछ ।
अहिले सोलारको भरमा गुजरा चलाउँदै आएका जनताले आफ्नो घरमा अबको पाँच वर्षभित्र बिजुलीको उज्यालो देख्न पाउनेछन् । यसका लागि मैले प्रतिनिधित्व गर्ने क्षेत्रमा रहेको वेतन कर्णाली जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन पहल भइरहेको छ । कोही किसानका बारी सिँचाइको अभावकै कारण बाँझा हुनेछैनन् । सिँचाइको प्रभावकारी व्यवस्थापनका लागि काम गर्नेछु । समग्रमा खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगार उपलब्ध भएको हुनेछ । भौतिक विकास र सामाजिक रूपान्तणमा नयाँ परिवर्तन भएको जनताले अनुभूति गर्न पाउनेछन् ।
साझा बिसौनी संवाददाता ।