हिसाब खोज्दै, विकासमा जुट्दै

मुना हमाल
सुर्खेत, ११ पुस ।
बराहताल गाउँपालिका–५ सालघारीकी गीता आले केही वर्षअघिसम्म घरायसी काममा मात्रै सीमित थिइन् । उनी मात्र होइन उनको टोल छिमेकका अन्य महिलाहरू पनि घरायसीबाहेकका काममा जाँदैनथे । त्यस्ता काम सबै पुरुषहरूको जिम्मामा हुन्थ्यो । गाउँपालिका, वडा होस् वा अन्य कुनै पनि सरकारी र गैरसरकारी निकायबाट हुने कामको जिम्मा पनि पुरुषहरूले नै लिन्थे । कतिसम्म भने, गाउँपालिकाले महिलाकै नाममा छुट्याएको बजेट पनि पुरुषहरूको योजनामुताविक खर्च हुन्थ्यो । महिलाहरू यसबारे अनभिज्ञ थिए ।


तर जब गीता आले लगायत सालघारीका महिलाहरू आमा समूहमा आवद्ध भए त्यसपछि भने उनीहरूले बुझ्न थाले, महिलाको नाममा आउने बजेटमा समेत पुरुषहरूकै हालिमुहाली हुने रहेछ । छलफल गर्दै जाँदा महिलाहरूले अब यस्तो हुन नदिने प्रण गरे र आफ्ना लागि आएको बजेटको हिसाब खोज्न थाले । अहिले यहाँका महिलाहरूले आफ्नो लागि भनेर छुट्याइएको मात्र होइन समग्र गाउँपालिका र वडाका हरेक योजनाहरूको हिसाब माग्ने र त्यसबारे चासो राख्न थालेका छन् । महिलाहरूमा यो परिवर्तन ल्याएको हो सालघारी स्वावलम्बन आमा समूहले ।
‘आमा समूहमा आवद्ध नभएको भए म यस्ता धेरै कुराहरू थाहा पाउनबाटै वञ्चित हुने रहेछु’ गीताले भनिन्, ‘जब आमा समूहमा लागें तब मेरा आँखा खुले ।’ गीता पाँच वर्ष पहिले गठन भएको सालघारी स्वावलम्बन आमा समूहको सदस्य भइन् । २५ जना सदस्य रहेको उक्त आमा समूहमा विभिन्न विषयहरूमा छलफल हुन्थ्यो । महिलाहरूका लागि बजेट हुन्छ कतिसम्म आउँछ भनेर कसैलाई पनि थाहा थिएन । महिलाहरू एकजुट भएर यसबारे खोजी गर्न थाले । अहिले स्वाबलम्बन आमा समूह सामाजिक विकासमा सक्रिय संस्था बनेको छ ।
योजना छनौटको संघर्ष विगतका हरेक वर्ष गाविस (अहिलेको गाउँपालिका) बाट विभिन्न शीर्षकमा बजेट छुट्याइन्थ्यो । टोलटोलबाट महिलाहरूले योजना छनौट गरेर पठाए पनि कहिल्यै बजेट आफूले पठाएको योजनामा परेन । ‘पहिले हामीलाई योजना बनाएर पठाउँदा बजेट परेन, हामीले किन परेन भनेर चासो पनि दिएनौं’ गीताले भनिन्, ‘समूहमा बस्न थालेपछि बजेट हामीले पनि पाउने रहेछौं भन्ने लाग्यो त्यस पछि खोजी नीति गर्न थाल्यौं ।’
पहिला बजेटका लागि माग गर्दा नपाएको आमा समूहकी अध्यक्ष कुमारी सारुले बताइन् । ‘पहिला हामीले बजेटको माग गर्दा पाएनौं’ उनले भनिन्, ‘एक पटक बाल विवाह न्यूनीकरण लागि बनेर बजेट मागेका थियौं । अन्तिमा कार्यक्रम गर्दा पाएनौं । पछि आफ्नै खर्चमा हामीले कार्यक्रम सम्पन्न ग¥यो ।’ सामाजिक हित हुने कामका लागि बजेट माग्दा नपाएपछि महिलाहरूले आमा समूहमा यसबारे छलफल गरे । अब वडा र गाउँ परिषद्मा पनि हामी गएर बोल्नुपर्छ भनेर जान थाले । ‘आफ्ना नेता समातेर बजेट आफ्नो टोलमा पार्ने गर्थे तर हामी नेताको पछि लागेनौं’ उनले थपिन्, ‘हामीले सामूहिक रूपमा आवाज उठायौं र अहिले आमा समूहको सामूहिक भवनको लागि दुई लाख बजेट छुट्याउन सफल भयौं ।’ महिलाहरू एकजुट भएपछि अहिले आफूहरूले चाहेको योजना छनौट गर्न, बजेट विनियोजन गराउन र काम गर्न सजिलो भएको समूहकी सदस्य शारादा श्रेष्ठले बताइन् ।
वीरेन्द्रनगर १४ की टीका रोकाय पनि महिलाहरूका लागि छुटिएको बजेट पाउन ठूलै संघर्ष गर्नुपरेको बताउँछिन् । ‘महिलाका पैसा गाविसबाट आउँछ भन्ने तर पैसा कहाँबाट आउँछ, कहाँबाट जान्छ भन्ने नै थाहा हुँदैन्थ्यो, हामीले महिलाका लागि बजेट छुट्टाएको हुन्छ भन्ने नै थाहा थिएन्’ फूलबारी स्वास्थ्य आमा समूहकी अध्यक्ष टिका रोकायले भनिन्, ‘स्वास्थ्यका बारेमा मात्र छलफल गर्ने हाम्रो आमा समूहमा पछि महिलाका लागि छुटिने बजेटका विषयमा पनि छलफल गर्न थाल्यौं र बजेटको खोजी ग¥यौं ।’ गाविसस्तरीय महिला सञ्जालबाट गएपछि बजेट पाइन्छ थाहा पाएपछि महिला सञ्जालमा पनि आमा समूहको प्रतिनिधित्व गरेको उनले बताइन् ।
बराहताल गाउँपालिका अन्तर्गत साविकका कुनाथरी, गढी र लेखगाउँमा गठन भएका २५ वटा स्वावलम्बन आमा समूहले गत वर्ष १९ लाख रूपैयाँ बजेट छुट्याउन सफल भएका थिए । महिला लक्षित बजेट मात्र नभएर उनीहरू अन्य विकास निर्माणका कामहरूका लागि पनि बजेट छुट्याएर काम गरेका छन् । कसैले खानेपानी, बाटो, सिंचाई लगायतका क्षेत्रमा पनि बजेट बिनियोजन गरी आयोजना सम्पन्न भएका छन् ।