पर्यटक तान्दै आफर होमस्टे
सामूहिक आम्दानी, महिलाहरू रोजगार, स्थानीय संस्कृतिको संरक्षण
साझा बिसौनी संवाददाता
सुर्खेत, १० पुस ।
सिस्नोसँग मकैको आटो र ढिँढो । मकैको रोटीसँगै गाउँमा उत्पादन भएको साग, मोही र गोलभेंडाको अचार । लोकल कुखुराको मासु पनि उपलब्ध । गाउँमा पुग्ने पाहुनालाई स्थानीयले गर्ने सम्मान र सत्कार । साँझको बेला आँगनमा गाउँलेसँगै टप्पा र मारुनी नाचमा रमाइलो गर्न पाउँदा धेरैको मन लोभिन थालेको छ ।
वीरेन्द्रनगर नगरपालिकाभित्रै भए पनि यहाँ गाउँको वातावरण उपलब्ध छ । बजार क्षेत्रको कोलाहलबाट केही मिनेटको दुरीमा रहेको जर्बुटास्थित आफर होमस्टेले पर्यटकलाई लोभ्याउन थालेको हो । गाउँको रमणीय दृष्य, पारिवारिक वातावरण, स्थानीय परिकार र संस्कृतिले आन्तरिक मात्र नभइ, विदेशी पर्यटकहरूलाई पनि आकर्षित गर्न थालेको छ । विदेशी पर्यटककोसमेत गन्तव्य बन्न थालेपछि स्थापनाको एक वर्ष नपुग्दै आफर होमस्टे चम्किदैं गएको हो । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि हिजोआज यो होमस्टेले आम्दानीमा पनि फड्को मारेको छ ।
‘पुरुषहरू मजदुरीका लागि भारत जानुपर्ने, महिलालाई घरखर्च टार्न मुस्किल’ स्थानीय रचना बाँठाले भनिन्, ‘आर्थिक अभावले घरभित्र महिलाहरू हिंसा सहन बाध्य थिए, जागिर खोजेर नपाइने । यस्तो अवस्थामा हामीले गाउँमै केही गर्ने उपाय निकाल्यौं, अहिले होमस्टे सञ्चालनमा आएपछि गाउँको मुहार नै फेरिएको छ ।’ होमस्टे सञ्चालनमा आएपछि स्थानीय महिलाहरू रोजगार बनेका छन् । घरमै बसेर अतिरिक्त आम्दानी हुन थालेपछि पुरुषहरूले पनि साथ दिइरहेका छन् । वीरेन्द्रनगरस्थित वडा नम्बर १३ मा रहेको यो होमस्टेको सफल व्यवस्थापनसँगै पर्यटकहरूको आकर्षण बढेको हो । सामूहिक रूपमा सञ्चालित होमस्टे सञ्चालन समितिका सचिवसमेत रहेकी बाँठाले भनिन्, ‘नमुनाको रूपमा अहिले १० घरमा मात्र सञ्चालनमा गरेका छौं, मान्छेहरू अपेक्षा गरेभन्दा धेरै आउन थाले । अब हामी यसलाई विस्तार गर्नेछौं, छोटो समयमै सफलता मिल्यो ।’
सदरमुकामभित्रै एकान्त गाउँ र रमणीय वातावरण उपलब्ध भएकाले पनि पछिल्लो समय होमस्टेमा पुग्नेहरूको संख्या बढेको हो । होमस्टेमा स्थानीय उत्पादनबाट बनेका परिकार खान पाइन्छ । मगर समुदायको मारुनी, टप्पा र अन्य स्थानीय कला तथा संस्कृतिमा रमाउनका लागि पनि पर्यटकहरू पुग्ने गरेका हुन् । यस्तै होमस्टेबाट करिब आधा घण्टाको उकालोमा पैदल हिँडेर गरगरेमा पुग्ने व्यवस्था मिलाइएको छ । गरगरेबाट वीरेन्द्रनगर उपत्यकाको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिन्छ । यसले पनि पर्यटकलाई लोभ्याउँने गरेको होमस्टे सञ्चालन समितिका अध्यक्ष डीलबहादुर विकले बताए । ‘बाँकेसम्म पुगेर होमस्टेको अवलोकन ग¥यौं, सीप सिकेर आफैले काम सुरु ग¥यौं’ उनले भने, ‘अहिले कामका लागि भौंतारिनु परेको छैन, काल्नाको सिस्नो बेचेर आम्दानी भइरहेको छ । समूहमा आम्दानी बढेको छ, अचेल त गाउँको हरेक उत्पादन बिक्री हुन थाल्यो ।’
स्थानीय महिलाहरूले आर्थिक अभावकै कारण आफूहरू घरेलु हिंसा सहन बाध्य भएको गुनासो गाउँमा पुग्ने सरकारी तथा गैरसरकारी निकायसँग पोख्ने गरेका थिए । महिलाहरूको यही गुनासो समाधानका लागि आय–आर्जनको उपाय खोजी भयो । ‘हामीले होमस्टेबारे जानकारी लिन स्थानीयलाई भ्रमण गरायौं, केही प्राविधिक सहयोग उपलब्ध ग¥यौं’ समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यक्रम संयोजक हरि उपाध्यायले भने, ‘भ्रमणपछि महिलाहरू आफै अग्रसर भए, आफ्नै लगानीमा गाउँमा होमस्टे सञ्चालन गरे । यसले आम्दानी बढ्यो, गाउँको उत्पादन र संस्कृतिको पनि संरक्षण हुन थालेको छ ।’ आर्थिक रूपमा आत्मनिर्भर भएपछि महिलामाथि हुने घरेलुहिंसामा पनि कमी आएको उनले बताए । होमस्टेले गाउँमा स्थानीय उत्पादनको माग बढेको र लोप हुँदै गएको स्थानीय कला संस्कृतिको संरक्षणमा पनि टेवा पुगेको उनको भनाइ छ ।
सुरुवातमा खासै चासो नदिएका स्थानीय जनप्रतिनिधिले अहिले पर्यटकको आगमन बढ्न थालेपछि सहयोग गर्न थालेका छन् । वीरेन्द्रनगर १३ का वडा अध्यक्ष भुपेन्द्र दर्लामीले भने, ‘होमस्टेले गाउँमा रोजगारी दिलाएको छ, बाहिरबाट आउने पाहुनाका कारण कारोबार बढ्यो । हामीले पनि होमस्टेका लागि वडाबाट पाँच लाख बजेट विनियोजन गरेका छौं, यसबाट आवश्यक पूर्वाधार निर्माण गर्न सहज हुनेछ ।’ स्थानीयले अब गाउँसम्म पुग्ने सडक कालोपत्रे, भ्यूटावर निर्माण र बगैंचा बनाउने तयारी गरेका छन् । यसले पर्यटकलाई थप लोभ्याउने स्थानीय बेलमति विकले बताइन् । एक दिनमा ४० जनालाई खान र सुताउन सक्ने क्षमता र सुविधायुक्त हल भएकाले हिजोआज वीरेन्द्रनगरका होटलमा हुने अधिकांश सेमिनार र गोष्ठीहरू यही होमस्टेमा हन थालेका छन् ।
साझा बिसौनी संवाददाता ।