कालिकोटमा प्रदर्शन स्थगित

साझा बिसौनी संवाददाता
कालिकोट, १० पुस ।
कालिकोटमा प्रहरीसँगको झडपमा मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई सहिद घोषणा गर्ने सहमति भएको छ । घटनाको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोली, जिल्लाका राजनीतिक दल, म्यादी प्रहरी र मृतकका आफन्तबीच सोमवार यस्तो सहमति भएको हो । सहमतिसँगै पीडितले आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।


जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा मृतकलाई सहिद घोषणा गर्नका लागि केन्द्रमा सिफारिस गर्ने, मंगलवार शवको पोष्टमार्टम गर्ने, म्यादीको ज्यालामा भएको भनिएको अनियमिताबारे छानविन गर्ने र पीडित पक्षले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिने सहमति भएको हो । सोमवार दिनभर भएको छलफलपछि यो सहमति जुटेको गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार म्यादीको ज्यालाबारे कालिकोट प्रहरीमाथि आन्तरिक लेखा टिमले छानविन सुरु गरिसकेको छ ।
‘मृतकका आफन्तलाई क्षतिपूर्ति दिने निर्णय पहिले नै भइसक्यो, सहिद घोषणा उहाँहरूको मुख्य माग थियो’ छानविन टोलीका संयोजकसमेत रहेका विश्वकर्माले भने, ‘सहिद घोषणाका लागि हामी केन्द्रमा सिफारिस गर्नेछौं, घटनाका दोषीलाई कारबाही हुनुपर्ने अर्को माग थियो, त्यसका लागि हामीले छानविन गरेर दोषीबारे प्रतिवेदनमै उल्लेख गरेर सरकारलाई बुझाउने छौं ।’ म्यादी प्रहरीको निर्वाचनमा खटिँदाको ज्यालामा अनियमितता भए नभएको बारेमा पनि प्रहरीमाथि सोमवारबाटै छानविन थालिएको छ । पीडित पक्षसँग भएको सहमतिसँगै कालिकोट सदरमुकाम मान्ममा जारी चार दिनदेखि तनाव कम भएको छ । शनिवारदेखिको कफ्र्यू हटेको छ भने बजार र यातायात पनि सोमवारबाटै खुलेका छन् ।
आफूहरूले पाउने ज्यालाबारे पनि छानविन सुरु भएपछि आन्दोलनरत म्यादी प्रहरी पनि तत्कालका लागि पछाडि हटेका छन् ।
‘हामीले तत्कालका लागि स्थगित गरेका हौं, आन्दोलन नै फिर्ता भएको छैन’ मृतकका बुबा हरिबहादुर ऐडीले भने, ‘छानविन टोलीसँग सहमति भएको छ, सहिद घोषणाको निर्णय र दोषीलाई कारबाही नभए पुनः सडकमा आउनेछौं ।’ उनले हत्या गरिएका आफ्नो छोरालाई सहिद घोषणा र गोली चलाउनेलाई कुनै पनि हालतमा कारबाही हुनुपर्ने बताए । सरकारले शनिवार छानविन समिति गठन र मृतकका आफन्तलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरे पनि पीडित परिवारले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, जिल्लाका सीडीओ र डीएसपीलाई तत्काल कारबाही हुनुपर्ने भन्दै शव बुझ्न अस्वीकार गर्दै आएका थिए ।
यो घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा नेतृत्वको नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठ र अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ्ग सहभागी टोली सोमवार बिहान हेलिकोप्टबाट मान्म पुगेको थियो । म्यादी प्रहरीले निर्वाचनमा खटिए वापतको ज्याला कम भएको गुनासो गरेपछि शुक्रवार प्रहरीसँग झडप हुँदा तनाव उत्पन्न भएको
थियो । सोही क्रममा गोली लागेर म्यादी प्रहरीको ज्यान गएपछि तनाव उत्पन्न भएको थियो ।

प्रकाशित मितिः   ११ पुष २०७४, मंगलवार १५:३७