आदेश विनै गोली चलेको खुलासा

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ पुस ।
कालिकोटमा सुरक्षा अवस्था आफ्नो काबुमा रहँदै सुरक्षाकर्मीले हतारमा गोली चलाएको खुलासा भएको छ । एक जना म्यादी प्रहरीको ज्यान जाने गरी भएको उक्त घटनामा परिस्थिति आफ्नो नियन्त्रणमा हुँदा–हुँदै सुरक्षाकर्मीले हतारमा गोली चलाएको खुलेको हो । आफूहरूले आदेश नदिँदै हतारमा डिउटीमा खटिएका सुरक्षाकर्मीबाट गोली चलेको खुलासा जिल्ला प्रहरी प्रमुख डीएसपी सुवाशचन्द्र बोहोराले गरेका छन् ।


निर्वाचनमा खटिदाको ज्याला कम भएको गुनासो गर्न पुगेका म्यादी प्रहरी र प्रहरीबीच सामान्य विवाद भएको थियो । शुक्रवारको उक्त विवादमा प्रहरीले म्यादीमाथि लाठी चार्ज गरेको थियो । परिस्थिति नियन्त्रणमा हुँदा–हुँदै एकाएक प्रहरीले अन्धाधुन्द गोली चलाएको थियो । सोहीक्रममा गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । तर जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी र आफूले आदेश नदिँदै गोली चलेका कारण घटना हुन पुगेको खुलासा डीएसपी बोहोराले गरेका हुन् ।
आफूले आदेश नदिँदै गोली चलेकाले पनि प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बारम्बार यो घटनामा ढुङ्गाले लागेर म्यादीको मृत्यु भएको बताउँदै आएका छन् । उनले हालसम्म गोली चलेको अस्वीकार गर्दै आएका छन् । प्रदेश नम्बर ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले पनि गोली चलाउन आफूहरूले कुनै आदेश नदिएको बताए । आफूहरूले आदेश नै नदिएकाले पनि प्रहरीबाट फायर नै नभएको उनको दाबी छ । तर घटनाका प्रत्यक्षदर्शीले भने प्रहरीले अन्धाधुन्द हवाइ फायर गर्दै प्रहरीले गोली चलाएको बताएका छन् । ‘घटनाको सत्यतथ्य बाहिर आइहाल्छ, छानविन टोली पनि आउँदैछ’ कालिकोटका प्रहरी प्रमुख डीएसपी सुवाशचन्द्र बोहोराले भने, ‘हामीले आदेश दिएका थिएनौं, डीउटीमा रहेको सिपाहीले हाम्रो आदेश कुर्नुपर्छ भन्ने पनि छैन । आत्मरक्षाका लागि सिपाहीले गोली चलाउन सक्छ, कसैको आदेश पर्खनु पर्दैन ।’
छानविन बाँकी नै रहेको भन्दै उनले घुमाउरो शैलीमा आफूहरूको आदेश विनै सिपाहीबाट हतारमा गोली चलेको स्वीकार गरे । अवस्था सामान्य हुँदाहुँदै प्रहरीले एकाएक गोली चलाएर ज्यादति गरेको भन्दै स्थानीय आन्दोलनमा छन् । घटनापछि सदरमुकाम मान्ममा तनाव कायमै छ । हत्याको विरोधमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले शनिवारदेखि कफ्र्यू जारी राखेको छ । आइतवार विहान र बेलुका दुई–दुई घण्टा हटाइको कफ्र्यू जारी नै छ । प्रदर्शनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूको घुसपैठ भएको र हिंसा भड्किन सक्ने भन्दै कफ्र्यू जारी राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । विप्लव नेतृत्वको नेकपाका जिल्ला तहका नेता तथा कार्यकर्ताले प्रर्दशनमा आफ्नो समर्थन रहेको र न्यायका लागि अन्तिमसम्म लड्ने अभिव्यक्ति सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि स्थानीय प्रशासन थप सशंकित भएको हो । प्रजिअ गैरेले पीडितसँग वार्ता भइरहेको
र अवस्था सामान्य बन्दै गएको बेला विप्लवका कार्यकर्ताको घुसपैठ भएको र हिंसा बढुने आशंकामा कफ्र्यू जारी नै राखिएको बताए ।
कफ्र्यूका कारण तीन दिनदेखि सदरमुकाम मान्न बजार बन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध छ । घटनाको छानविनका लागि प्रधानमन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा उच्चस्तरीय छानविन टोली गठन र मृतकका आफन्तलाई १० लाख रूपैयाँ क्षतिपूर्ती दिने निर्णय भएको
छ । तर आइतवार नै कालिकोट पुग्ने भनिए पनि छानविन टोली सुर्खेतमै रहेको छ । प्राविधिक कारणले ढिला भएको भन्दै टोलीले सोमवार बिहान मात्र कालिकोट पुग्ने जनाएको हो । सरकारले छानविन समिति गठन गरे पनि स्थानीयले मृतकलाई सहिद घोषणा र गोली चलाउने प्रहरी, जिल्लाका सीडीओ र डीएसपीलाई तत्काल कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । समस्या समाधानका लागि कालिकोट पुगेका क्षेत्रीय प्रशासक सुरेश प्रधानले छानविन टोली कालिकोट पुगेपछि पीडितसँग वार्ता हुने जनाए । आफन्तले शव बुझेर आन्दोलन फिर्ता लिएपछि मात्र कफुर्यू हट्ने उनले जानकारी दिए ।
यसैबीच कालिकोटमा म्यादी प्रहरी मारिएको विरोधमा सुर्खेतमा प्रदर्शन गरिएको छ । कर्णाली जनएकता समाजको आयोजनामा आइतवार सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको हो ।
आफ्नो ज्याला माग्दा नेपाल प्रहरीले गोली हानेर म्यादी प्रहरी विवेक ऐडीको हत्या गरेको भन्दै सुर्खेतमा बसोबास गर्दै आएका कालिकोटका नागरिकले विरोध जनाएका हुन् । विरोध स्वरूप ¥यालीसहित उनीहरूले वीरेन्द्रनगर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
गाली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र गोली हान्ने व्यक्तिलाई तत्काल कारबाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, निष्पक्ष छानविन समिति बनाएर घटनाको छानविन गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखिएको छ ।
समाजका अध्यक्ष पूर्णबहादुर शाहीले आफ्नो ज्याला माग्दा गोली हानेर मार्नु अक्षम्य अपराध भएको भन्दै दोषीलाई
तत्काल कारबाही गर्नुपर्ने बताए । उनले कर्णालीमाथि राज्यले पटक–पटक यस्तै विभेद र दमन गर्दै आएको भन्दै आपत्ति जनाए । म्यादी प्रहरी र नेपाल प्रहरीबीच दोहोरो झडपका क्रममा शुक्रवार प्रहरीको गोली लागि कालिकोटका म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । सोही घटनापछि तीन दिनदेखि कालिकोट सदरमुकाम मान्न बजार तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले मान्ममा कफ्र्यु लगाएको छ ।

प्रकाशित मितिः   १० पुष २०७४, सोमबार १५:२२