प्रदर्शन उग्र भएपछि कालिकोटमा कफ्र्यू

कालिकोट, ८ पुस । (साबिस)
कालिकोटमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । प्रहरीको गोली लागेर शुक्रवार एक म्यादी प्रहरीको ज्यान गएपछि स्थानीय र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन् । अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै प्रशासनले शनिवार दिउँसो चार बजेबाट कफ्र्यू लगाएको हो ।
प्रदर्शन उग्र हुँदै गएपछि प्रशासनले सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा प्रशासनले माग पूरा गर्न आलटाल गरेको भन्दै तोडफोड भएको छ । प्रशासन कार्यालयभित्रै तोडफोड भएको र बाहिरको प्रदर्शन हिंसात्मक बनेपछि कफर््यू लगाएको स्थानीय प्रशासनले जनाएको छ ।
म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गरेपछि शुक्रवार प्रहरीसँग झडप भएको थियो । सोहीक्रममा प्रहरीको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा म्यादी, राजनीतिक दल र स्थानीयले प्रदर्शन थालेका हुन् । घटनाको विरोधमा सदरमुकाम मान्न बजार वन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमासमेत यातायात अवरुद्ध भएको छ । स्थानीय बासिन्दाले गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । यस्तै मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ती र म्यादी प्रहरीको माग सुनुवाइ गर्नुपर्ने मागसहित प्रदर्शन जारी छ ।
कफ्र्यू नै तोडेर प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । स्थानीय प्रशासनले गोलीले नभइ,
ढुङ्गाले लागेर म्यादीको मृत्यु भएको भनेपछि स्थानीय बासिन्दा र दलहरू थप आक्रोशित बनेका हुन् । जसका कारण शनिवार दिनभर मान्म बजार तनावग्रस्त बन्यो । मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् । मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ । समस्या समाधानका लागि कालिकोट पुगेका क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने, ‘स्थानीयको मागलाई मन्त्रालयमा अवगत गराएको छु, छानविन समिति मन्त्रीपरिषद्ले गठन गर्नुपर्ने हुन्छ । सहिद घोषणा र क्षतिपूर्ति पनि सरकारले गर्ने विषय हो, हामीले अब मन्त्रीपरिषद्को निर्णय पर्खेका छौं ।’ आफूले दलहरूसँग वार्ता जारी राखेको भन्दै उनले सरकारले यस विषयमा तत्काल सुनुवाइ गर्ने जानकारी दिए । सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको प्रशासनले जनाएको छ । यता प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले भने, ‘घटना कसरी भयो भन्ने छानविन भइरहेको छ, घटनाबारे सत्यतथ्य बाहिर ल्याउने छौं ।’ निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच तलब भत्ताको विषयमा विवाद हुँदा शुक्रवार झडप भएको थियो ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:३४