महिलाले नेतृत्व गर्न थालेपछि, मुहार बदल्दै आफर गाउँ

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ पुस ।
सबै घरमा शौचालय र खानेपानी उपलब्ध छ । विद्यालय उमेरका सबै बालबालिकाहरू नियमित विद्यालय जान्छन् । कसैको घरमा निरक्षर सदस्य बाँकी छैनन् । गाउँमा मदिरा र जुवातास पनि पूर्णरूपमा निषेध छ । यहाँको विकास योजना महिलाहरूको नेतृत्वमा बन्छ । सरकारी तथा गैरसरकारी निकायले स्थानीयको स्वीकृति लिएर मात्र यो गाउँमा आवश्यक पर्ने योजनामा लगानी गर्न पाउँछन् ।


सुर्खेतको जर्बुटास्थित आफर गाउँका आमाहरू (महिला) विभिन्न सूचकहरू निर्माण गरेर नमुना गाउँ बनाउने अभियानमा जुटेका हुन् । नमुना गाउँको अठोटसहित पाँच वर्षीय रणनीति बनाएका उनीहरूले पछिल्लो समय गाउँको मुहार नै बदलेका छन् । ६० घरधुरी रहेको आफर गाउँमा हिजोआज बालविवाह हुनै छाडेको छ । दलितको बाहुल्यता रहेको यो गाउँमा जातीय विभेद घट्दै गएको हो । एक घर, एक व्यवसायको रणनीति अनुसार हरेक घरले कुनै न कुनै व्यवसाय सञ्चालन गरिरहेका छन् । यसले स्थानीयको आर्थिक अवस्थामा सुधार भएको छ ।
नमुना गाउँ निर्माण समिति नै गठन गरेर महिलाहरूले गाउँ र टोल विकासको योजनासमेत आफै छनौट गर्दै आएका छन् । महिलाहरूले छनौट गरेका योजना कार्यान्वयनमा वडा कार्यालय र गैरसरकारी संस्थाहरूले सहयोग गर्ने गरेका छन् । एकीकृत विकास योजना अनुसार नै यो गाउँमा लगानी भित्रिने गरेको छ । यसले गर्दा स्थानीयको आवश्यकता अनुसार मात्र गाउँमा विकास निर्माणका कामहरू सञ्चालन भइरहेका छन् । आफर नमुना गाउँ निर्माण समितिका सचिव रचना बाँठाले भनिन्, ‘डेढ वर्षदेखि हामी यो अभियानमा छौं, अबको केही वर्षभित्र अध्यनका लागि हाम्रो गाउँमा मान्छेहरूको लर्को नै लाग्नेछ । हामीले केही अनिवार्य सूचक निर्धारण गरेका छौं, ती सूचक पूरा भएपछि नमुना गाउँ घोषणा हुन्छ ।’ सूचकहरू पूरा गर्नका लागि विभिन्न सात वटा उपसमिति बनाइएका छन् । त्यसमा स्थानीय पुरुषहरूको पनि सहभागिता छ ।
‘संघ संस्थाले आफूखुशी गाउँमा कार्यक्रम सञ्चालन गरे, यसले कतिपय कार्यक्रमहरू दोहोरिए’ स्थानीय वेलमति विकले भनिन्, ‘अचेल हामीले एकद्वार प्रणाली लागू गरेका छौं, हामीले छनौट गरेका योजनामा मात्र सरकारी तथा गैरसरकारी संस्थाले रकम खर्च गर्न पाउँछन् ।’ नमुना गाउँका लागि शिक्षा, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, सशक्तीकरण र वातावरणीय संरक्षणका लागि विभिन्न सूचकहरू निर्धारण गरिएका छन् । आफर गाउँले अधिकांश सूचकहरू पूरा गरिसकेको छ । बाँकी सूचक पूरा गर्नका लागि स्थानीय महिलाहरूले वडा कार्यालय, राजनीतिक दल र गैरसरकारी संस्थासँग सहकार्य गरिरहेका छन् । वेलमतिले भनिन्, ‘पहिला अक्षर नै नचिन्नेहरू, अहिले त क्यालकुलेट चलाउन थालेका छन् । गाउँमा कोही पनि निरक्षर छैनन्, कोही बालबालिका विद्यालय बाहिर छैनन् ।’
गाउँमा सामुदायिक पुस्तकालय पनि स्थापना गरिएको छ । गाउँका गर्भवती महिलाहरूले कम्तीमा चारपटक अनिवार्य स्वास्थ्य संस्थामा जाँच गर्दछन् । सबैले पानी शुद्धीकरण गरेर मात्र उपभोग गर्ने र शौचालयको प्रयोग गरिरहेका छन् । धुलोरहित चुलोको प्रयोग, बालविवाह र मदिरा तथा सूर्तीजन्य पदार्थमा प्रतिबन्ध, हरेक घरमा धारा र छोराछोरीमा समान व्यवहार भएको यो गाउँमा देख्न सकिन्छ । गाउँका हरेक परिवारले जीविकोपार्जनका लागि तरकारी खेती र बाख्रापालन व्यवसाय थालेका छन् । यसले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता टरेको छ । बेमौसमी तरकारी खेतीका लागि गाउँमा पानी संकलन केन्द्र निर्माण गरिएको छ । स्थानीय अगुवा नन्दलाल चुनाराले भने, ‘हाम्रो गाउँको मुहार नै फेरियो, मदिरा र जुवातास निषेध भएपछि गाउँमा शान्ति छाएको छ । घरेलुहिंसा पनि रोकिए, गाउँमा विवाद भएमा हामी आफै समाधान गर्छौं ।’ सामूहिक बहिस्कारको नीतिका कारण यो गाउँमा अचेल मदिरा सेवन गर्ने र जुवातास खेल्ने आँट कसैले गर्न सकेका छैनन् ।
महिलाहरू संगठित रूपमा गएर आफ्नो गाउँका लागि वडा परिषद्मा बजेट माग्ने गरेका हुन् । यस्तै स्थानीयले आफै मासिक रूपमा रकम संकलन गरेर नमुना गाउँ कोष स्थापना गरेका छन् । यो कोषको रकमबाट गाउँका असहायलाई सहयोग गरिन्छ । ‘महिलाहरू अग्रसर भएपछि नमुना गाउँ बनाउन सहज भयो, अहिले जिल्लाका आठ वटा गाउँ यो अभियानमा छन्’ स्याक नेपालका कार्यक्रम संयोजक हरि उपाध्यायले भने, ‘आफर गाउँको सिको गर्दै अन्य ठाउँमा पनि यस्तो प्रयास भइरहेको छ, महिलाको नेतृत्वमा योजनाहरू छनौट हुँदा दिगोपनामा टेवा पुगेको छ ।’ आफूहरूले सुरुवातमा केही प्राविधिक रूपमा सहजीकरण गरेको भन्दै उनले हिजोआज स्थानीय बासिन्दा गाउँको योजना निर्माणमा आत्मनिर्भर बनेको बताए ।
स्थानीय वडा अध्यक्ष भुपेन्द्र दर्लामीले नमुना गाउँका लागि वडाबाट पनि बजेट विनियोजन गरिएको जनाए । अब वडाको बजेटले यो गाउँमा थप पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने प्रयास भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:४०