आगलागीबाट करोडौंको नोक्सान

सुर्खेत, ८ पुस ।
वीरेन्द्रनगरको बसपार्क नजिकै रहेका पसलहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शुक्रवार राती पौने १० बजे आगलागी हुँदा झण्डै आधा दर्जन पसलहरू नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार फेन्सी पसल, सब्जीमण्डी र नास्ता पसलमा पूर्णरूपमा क्षति पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।
आगलागीबाट पूजा सब्जीमण्डी, सागर माया मिठाइ पसल, न्यू देउती अर्डर सप्लायर्स, न्यू पशुपति स्टोर, टेनिस फेन्सी स्टोर, ललित फेन्सी, दुर्गा फेन्सी, न्यू हङकङ बजार सेल, कोशेली खाजा घर र पौडेल किराना पसल पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट सम्राट होटेलमा समेत क्षति पुगेको बताइएको छ ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:३३