काँक्रेविहार पुनर्निर्माण हुन एक वर्ष लाग्ने

सुर्खेत, ८ पुस ।
प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको काँक्रेविहारको पुनर्निर्माण जारी छ । पुरातत्व विभागका अनुसार अबको एक वर्षभित्र निर्माणको काम सम्पन्न हुने गरी काम भइरहेको छ । भारतीय नाकाबान्दी, भूकम्प र पुनर्निर्माणका लागि आवश्यक पर्ने जनशक्ति अभावका कारण ढिलाइ भएको बताइएको छ ।
पुरातत्व विभागका पुरातत्व अधिकृत संदिप खनालले २१ मिटर लम्बाइमा काँक्रेविहार मन्दिर पुनर्निर्माण हुने बताए । मन्दिर शिखर शैलीमा निर्माण हुनेछ । अधिकृत खनालले पुरातत्व विद्वानहरूलाई उदृत गर्दै काँक्रेविहार मन्दिरले मल्लकालमा समेत पूर्णता नपाएको बताए । उनका
अनुसार मल्लकालीन राजाहरूले हिन्दु र बौद्ध धर्मप्रति आस्था राख्ने भएकाले यो मन्दिर दुवै धर्मका लागि मान्य हुनेगरी निर्माण गरिनेछ । मन्दिर पुनर्निर्माण भएपछि विभागले प्रदेश वा स्थानीय सरकारको मातहतमा जिम्मा लगाउने उनले बताए । उक्त मन्दिरको निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्ने अनुमान गरिएको छ ।
यसैबीच, नेपालभर रहेका सम्पदाहरूको जानकारी दिने उद्देश्यले शैक्षिक फोटो प्रदर्शनी आइतवारदेखि वीरेन्द्रनगरमा सुरु हुने भएको छ । पुरातत्व विभागको वार्षिक कार्यक्रम अन्तर्गत प्रदर्शनी हुनेछ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको बताइएको छ । ७५ जिल्लाका ७० भन्दा बढी सम्पदाहरूको फोटो प्रदर्शनीमा राखिनेछ ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:३०