‘सांसदज्यू वाचा नभुल्नुहोला’

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमार्फत् जनताले नयाँ सांसद पाएका छन् । मतपरिणामपछि अधिकांश सांसदहरू राजधानी काठमाडौंतर्फ लागेका छन् । निर्वाचनअघि जनतालाई विभिन्न आश्वासन बाँडेका सांसदहरूले अब ती आश्वासन पूरा गर्लान् ? यो प्रश्न मतदाताहरूमा उब्जिएको छ । यही सन्दर्भमा हामीले वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणसँग नवनिर्वाचित सांसदलाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ? भनेर सहकर्मी डिलप्रसाद शर्माले सोधेका छन्ं । प्रस्तुत छ, उनीहरूको सुझाव जस्ताको त्यस्तैः

रामलाल भट्टराई
वीरेन्द्रनगर, सुर्खेत
स्थानीय तहको निर्वाचन सकिएसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट संघ र प्रदेश हाक्ने नेतृत्व चयन भएको छ । हामी नागरिकले इच्छाएको व्यक्तिलाई मत हालेर जिताएका छौं । हामी उहाँहरूबाट के अपेक्षा र आशा गर्छाै भने, देशमा बन्द हड्ताल लगायतका अमर्यादित क्रियाकलापको अन्त्य होस् भन्ने हो । शान्ति सुरक्षा कायम होस्, सबै निमुखाहरूले गास, बास र कपासको पाएको प्रत्याभूत गरुन् र सरकारले ग्यारेन्टी गरोस् । व्यवसायीहरूले व्यवासय सञ्चालन गर्दा सहजता होस् । आतंक, बन्द हड्तालले हामी व्यवसायीहरू पटक–पटक पीडित
भइरहेका हुन्छौं ।

 

रविन्द्रप्रसाद पाण्डे
भैरवी गापा–२, दैलेख
संविधान कार्यान्वयनको अन्तिम चरणमा छ । १० वर्षे जनआन्दोलन, सशस्त्र संघर्ष लगायतका आन्दोलनहरूको प्राप्ती संविधान कार्यान्वयनले गरेको छ । विगतदेखि नेपाली जनताले मौलिक हकबाटै वञ्चित हुनुपर्ने अवस्था अझै छ । हिमाली जिल्लामा बसोबास गर्ने सर्वसाधारणले गास, बास र कपास एवम् स्वास्थ्य, शिक्षा लगायतका मौलिक हकबाट वञ्चित हुनुपर्ने अवस्था छ । ६ नम्बर प्रदेशमा सडक सञ्जाल छैन् । जसले गर्दा विकास भएको अनुभव यो प्रदेशका जनतालाई छैन ।

 

 

भद्रकली थापा
वीरेन्द्रनगर, सुर्खेत
धेरै चुनावमा भोट हालियो । तर, वीरेन्द्रनगरको खानेपानी समस्या समाधान भएको छैन । विभिन्न आश्वासन निर्वाचनका बेला मात्रै सीमित पारिदैं आइएको छ । अबको पाँच वर्षका लागि चुनिएका सांसदहरूले पहिले जस्तै आश्वासन दिने, जितेपछि मतदाताका समस्याप्रति कुनै मतलब नराख्ने गरेको पाइएको छ । हाम्रो भोट माग्ने तर, कुर्सीमा पाएपछि जनतालाई बिर्सिने नहोस् । हामीले हाम्रा समस्या समाधान होलान भन्ने आशा गरेका छौं । विगतमा चुनिएका सांसदहरू जस्तो जनता बिर्सिने काम हुनेछैन । हामीले हाम्रा समस्या समाधान भएको अनुभव गरेका छैनौं ।

 

नरबहादुर महतरा
दैलेख
देश विकासको पहिलो आधार भनेकै युवा जनशक्ति हो । हिजोआज दिनानु दिन बेरोजगारी बढ्दै गएको छ । देशको दक्ष जनशक्ति विदेश प्लायन भइरहेका छन् । वैदेशिक रोजगारमा युवाहरू खाडी मुलुक जानको लर्काे नै छ । देशको प्रमुख समस्याका रूपमा रहेको वैदेशिक रोजगार र बेरोजगारी अन्य गर्नतर्फ नवनिर्वाचित सांसदहरूको ध्यान पुगोस् । आय–आर्जन अभिवृद्धिका कार्यक्रम सरकारले सञ्चालन गरोस् । संविधानमा सबै नागरिकलाई रोजगारीको हक हुनेछ भनेरै प्रष्टै व्यवस्था भए पनि कार्यान्वयन हुनसकेको छैन । संविधान कार्यान्वयन गरी देशका समस्याहरू समधानतर्फ ध्यान मेरो सुझाव छ ।

 

डिल्लीबहादुर थापा
दैलेख
२० वर्षपछि स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । देश संघीय संरचनामा गएको छ । संघीयता आफैमा महँगो प्रणाली पनि हो । देशमा आर्थिक व्ययभार थपिएको छ । संविधान कार्यान्वयनसँगै देशले स्थिर सरकार पाउने छ, र देशमा विकास हुने अपेक्षा लिएको छु । सबैभन्दा बढी गरिबी भएको प्रदेश ६ नम्बर प्रदेश देखिएको छ । यो नवनिर्वाचित सांसदहरूका लागि चुनौती बनेको छ । कर्णाली क्षेत्रले विगतदेखि नै भोग्दै आएका समस्या समाधानतर्फ सांसदहरूको ध्यान जानुपर्छ । गरिबीबाट उन्मुख प्रदेशका रूपमा अबको पाँच वर्षमा विकशित प्रदेशका काम गर्न मेरो सुझाव छ ।

 

सिर्जना जिसी
वीरेन्द्रनगर, सुर्खेत
अविकशित र पीछडिएको क्षेत्रका रूपमा रहेको कर्णाली क्षेत्र विगतदेखिका समस्याबाट मुक्ति पाउनसकेको छैन । गरिबी, अशिक्षा, भोकमारी, बेरोजगारी जस्ता समस्या अबको पाँच वर्षमा हल हुने आशा कर्णालीबासीले लिएका छन् । देशमा शान्ति, सुशासन र विकासको अपेक्षा राखेर दिइएको मतबाट विजयी सांसदहरूले यहाँको समस्या समाधानतर्फ ध्यान दिनुपर्छ । कृषि, पर्यटनका थुप्रै सम्भावना रहेको यस प्रदेशमा सम्भाव्यता अध्ययनसँगै विकास थालिनुपर्छ । दैलेखको पेट्रोल खानी, सुर्खेतको चौकुने सिमेन्ट उद्योग, अपर कर्णाली जलविद्युत आयोजना तत्काल निर्माण गर्नतर्फ ध्यान दिन मेरो सुझाव छ ।

 

कृष्णप्रसाद दाहाल
वीरेन्द्रनगर, सुर्खेत
विश्वकै उत्कृष्ट संविधानका रूपमा नेपाली जनताले संविधान पाएका छन् । २००४ सालदेखि बनेका संविधानलाई संविधानका रूपमा मात्रै सीमित भए । नेपाली जनताले मौलिकहकको अनुभूति गर्न पाएका छैनन् । संविधानमा उल्लेख भए अनुसारका सबै मौलिक हकको प्रत्याभूति हुनेगरी काम गर्ने जिम्मेवारी नवनिर्वाचित सांसदहरूको हो । हामीले विगतमा पनि भोट हालेर सांसदहरू जिताएकै हौं तर, न त देशले गति लियो नत नागरिकले समेत मौलिक अधिकार कार्यान्वयन भए । अभावदेखि जनताले उन्मुक्ति पाएका छैनन् । अबका जनताले संविधानमा उल्लेख भए अनुसारका मौलिक हकको कार्यान्वयन आवश्यक छ ।

घनश्याम राना ‘ऋतु’
वीरेन्द्रनगर, सुर्खेत
मंसिर २१ गते सकिएको प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदलाई सर्वप्रथम जातीय, धनी, गरीब, र वर्गीय भेदभाव हटाइ जनताहरूलाई स्वाभलम्भी बनाउनु हुनेछ भन्ने आशा छ । सत्तामोहको कारण, चीनजान, आफ्नो पनको फाइदा पार्टीको विधिको शासनलाई तपशिलमा राखेर सम्बन्धित क्षेत्रको कार्यधिकार माथि हात नबढाउन आग्रह गर्दछु । भ्रष्टचार र हैसियतवादको अन्त्य गर्दै सही निर्णयमा उत्तम कामले नै यहाँको योगदानको हिसाब–किताब गर्नेछ । उद्घाटन, सभा समारोह, विदेश यात्रामा संलग्न नभइ सर्वदलीय देशलाई सही तवरबाट कमजोर आर्थिक अर्थ व्यवस्थालाई मजबुत बनाउनतर्फ लाग्न मेरो सुझाव छ ।

रोशनप्रसाद शर्मा
वीरेन्द्रनगर, सुर्खेत
प्रदेश नम्बर ६ को विकासका लागि नवनिर्वाचित सांसदहरूको महŒवपूर्ण भूमिका रहनेछ । प्राकृतिक स्रोत साधनले भरिपूण यस प्रदेशमा थुप्रै सम्भावना रहेका छन् । सांसदहरूले अब सम्भावनाको पहिचान गरी समस्या समाधानतर्फ ध्यान दिनुपर्नेछ । रोजगारीको अभाव, व्यवसायिक असुरक्षा, शिक्षा, स्वास्थ्यको पहुँच नपुग्नु, गरिबी, कुपोषण लगायतका समस्याहरू यही प्रदेशमा छन् । तसर्थ यी समस्या समाधानतर्फ यहाँहरूको भूमिका रहनेछ । अबको पाँच वर्षमा धनी प्रदेशका बासिन्दा हुने यस क्षेत्रका मतदाताको अपेक्षलाई पूरा हुने गरी काम गर्न मेरो आग्रह छ ।

प्रकाशित मितिः   ९ पुष २०७४, आईतवार १५:२४