कालिकोटमा म्यादी र प्रहरीबीच झडप
भत्ता माग्दा मारिए म्यादी प्रहरी
सुर्खेत, ७ पुस ।
निर्वाचन शान्तिपूर्ण गराएको भन्दै जिल्ला प्रहरी कार्यालयले अविर लगाएर उनीहरूको विदाई ग¥यो । कालिकोटमा शुक्रवार बिहान खुशीसाथ हात मिलाएर विदा भएका म्यादी प्रहरी दिउँसो एकाएक प्रहरी कार्यालयमा नै फिर्ता भए । आफूहरूलाई तलब र भत्ता कम उपलब्ध गराइएको गुनासो गर्न पुगेका म्यादीमाथि प्रहरीले लाठी चार्ज ग¥यो । दोहोरो झडपमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो ।
निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको हो । आफूहरूले पाउनुपर्ने भन्दा कम भत्ता दिइएको भन्दै म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो । सोहीक्रममा म्यादी प्रहरी विवेक ऐडीको टाउकोमा गोली लाग्यो । निर्वाचनमा खटिए वापतको भत्ता माग्दै प्रहरी कार्यालयमा पुगेका ऐडी आफूलाई अविर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका घर भएको २१ वर्षीय ऐडीको ज्यान गएपछि सदरमुकाम मान्न तनावग्रस्त बनेको छ ।
झडपमा अन्य दुई जना म्यादी पनि घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनापछि म्यादी प्रहरीले मान्ममा रहेका प्रहरीका दुई वटा बीटमा तोडफोड र आगजनी गरेका छन् । सो अवसरमा प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । कालिकोटका डीएसपी सुवाशचन्द्र बोहोराले भने, ‘हामीले तलब र भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं, बिहान सबै जना खुशी हुँदै अविर लगाएर बिदा भए । तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुःखद् घटना हुन पुग्यो ।’ सरकारले तोकेको सबै रकम र सुविधा आफूहरूले उपलब्ध गराएकोसमेत उनको दाबी छ । तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको गुनासो गरेका छन् । आफूहरूले पाउने भन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।
अवस्था नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै म्यादी प्रहरीले शुक्रवार अवेरसम्म मान्ममा प्रदर्शन गरेका छन् । आफूहरूको माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने म्यादीको भनाइ छ । प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन् । उनीहरूले घटनाको छानविन गर्न माग गरिरहेका छन् । म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ । प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोशाक भत्ता र राशन खर्च गरी ५८ हजार तीन सय
रूपैयाँ उपलब्ध गराइएको छ । पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ता अन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ ।
यता जिल्ला प्रशासन कार्यालयले म्यादीले एकाएक ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको जनाएको छ । म्यादीको गोली नभइ ढुङ्गाले लागेर मृत्यु भएको हुनसक्ने प्रशासनको दाबी छ । यद्यपि जिल्ला अस्पतालले पोष्टमार्टम गरेपछि मात्र यसको पुष्टी हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने, ‘हामीले अविर लगाएर उहाँहरूलाई विदाइ गरेका हौं, तलब र भत्ताको बारेमा पनि उहाँहरू सन्तुष्ट भएर जानु भएको थियो । तर बीचमा निर्वाचन बिथोल्न खोज्नेहरूले उचालेको देखियो, निर्वाचन नचाहनेहरूले नै म्यादीलाई भड्काएर द्धन्द्ध सिर्जना गरे ।’ उनले अवस्थालाई सामान्य बनाउनका लागि स्थानीय दलहरूसँग परामर्श भइरहेको जानकारी दिए । म्यादीले जुम्लाको जति भत्ता पाउनुपर्ने माग गरिरहेका छन् । तर कालिकोट प्रहरीले भने जुम्लाको तुलनामा कालिकोटको स्थानीय भत्ता कम भएकाले दिन नसकिएको जनाएको छ ।
साझा बिसौनी संवाददाता ।