बदलिएका सन्तानको नाममा

श्रवणकुमार आचार्य
तिमी जन्मने बेलामा तिम्रो आमाको शरीरबाट कति रगत खेर गएको थियो, थाहा छ तिमीलाई ? सोधेका छौ, आमासँग यो कुरा ? त्यतिबेला भएको अस्पटिपनको महसुस गरेका छौ तिमीले ? जाँगर हराएर निरुत्साहित भएकी तिम्री आमा दिपदानीमा दिप्तीको भन्दा बढी चमकबाट एकाएक दिप्ती गुमाउन पुगेकी तिम्री आमा, साँच्चै धेरै छट्पटिनुभएको थियो होला । लाग्छ, जब तिम्रो जन्म हुँदै थियो केही सेकेन्ड अस्थिसार नै ठप्प भइदिएको थियो । ठूलो आगोको रापमा आज्य पग्लेसरी पग्लिएका थिए आँसुहरू । अनि वर्षात्को मुलसरी चुहिएका थिए तिम्रै आमाको अनुहार भरी । साँच्चै अगाध पीडा भएको थियो होला, तिम्री आमालाई । नौ महिना पेटमा भएको तिमी जसलाई दृदृक्षाले तिम्री आमालाई कति सताएको थियो होला, कल्पना गर्न सक्छौ ? के तिमीलाई याद छ, तिम्री आमा सुत्केरी भएको बेला आफू घर्सेर भएपनी बुई हालेर आगनमा डुलाएको कुरा ? छाड्देउ नाटक अब । वास्तविक जीवनको वास्तविकतातिर फर्कौ एकपटक ।


खै सबै मानिस त कहाँ सम्पन्न होलान र यहाँ ? हजारौं डोका चिसो मल बोकेर खेतमा लग्ने तिम्रो बाबाको बारेमा सोचेका छौ, तिमीले ? जसले तिम्रो पेटमा चामल भर्नको निम्ती त्यति गर्नुभएको थियो । चिसो समयमा तिम्रो गाला नफुटोस भनेर रातदिन दर्शन ढुंगा फुटाउन तयार हुने तिम्रो बाबालाई सम्झेनौ कहिल्यै पनि । चैत्र वैशाखको खडेरीमा बाझो खेत फुटेसरी आफ्नो ओठ चिराचिरा पर्दा तिम्रो ओठको मुस्कानको लागी चिसोमा काम गर्ने तिम्रै बाबालाई मतलब गरेनौ तिमीले । तिमी सानो हुँदा तिम्रै खुट्टा काँधमा राखी तिमीलाई संसारकै अग्लो मानिस बनाउने तिम्रो बुबाको काँधमा हात राख्न लाज लाग्न थाल्यो आजभोलि । जुन औंला समाएर तिमी यो धर्तीमा उभिन सिकेका थियौ, तिनै औंला चरचर फुटेर रगतका धारा बग्दा ति औंला समाउन सरम लाग्न थाल्यो आजभोलि । हलोको अनौ समाउँदा समाउँदै हत्केलाका रेखाहरू मेटिएपछि ज्योतिषलाई देखाउन समेत नमिल्ने ति हातहरू समाउन गार्हो प¥यो तिमीलाई । म के भनेर चिनु तिमीलाई ? जुन ओठको ध्वनीले तिमीलाई आवाज सुन्न सिकाएको थियो त्यही ओठबाट निस्केको आवाज तिमीलाई घृणा लाग्न थाल्यो आजभोलि ।
अहिले तिमीले लेख्ने गरेको ग्राफ कापीको धर्कासरी फुटेको थियो तिम्रो बुबाको काँध, जतिबेला तिम्रो पेट भर्नको लागी दुखः गर्नुपथ्र्यो । आफ्नो थोत्रो बाकसमा दुनो भनि सजाएर राखेको एक रूपैयाँको नोट पनी बाँकी राख्नुभएन, तिम्रो बाबाले तिम्रो लागि । साँच्चै तिम्रो खुशी किन्नको लागि आफैंलाई बेच्नपछि पर्नुभएन तिम्रो बाबा । मलाई लाग्छ स्वर्गको भगवानले अलिकति भए पनी बढी तिम्रो बुबा ममीले नै तिम्रो खुशी चाहनुभएको हुन्छ । तर तिमी, तर तिमी अब विस्तारै सहरिया बन्दै छौ रे । कोही कोही तिम्रा साथीहरू त अझै बनसिके रे । सहरिया, व्यवहारका सहरिया होइनन् । सम्पन्नताका सहरीया पनी होईनन् । हुन त केवल उच्छ्श्रृंखलताका सहरिया । मैले तिमीसँग झुटा कुरा गरेर तिमीलाई सुधार्ने प्रयास गरेको होइन, साँचो कुरा गर्दैछु ।
मैले मेरै आँखाले देखेको कुरा, तिमीले प्रत्येक दिन देख्ने गरेका कुरा तिमी सामु सुनाउँदैछु । याद छ, तिमीलाई, सार्वजानिकस्थल, चौतारी लगायतका विभिन्न ठाउँमा थुर्पै प्रेमजोडीहरू बसेर बदाम खाइरहेको कुरा । बदाम मात्र होइन विविध किसिमका रमाइला र मिठासयुक्त कुराहरू खाँदै एक अर्कामा लजाउँदै गफ गरेका पलहरू पनी देखेकै हौला । सायद तिमी पनी पर्न सक्छौ ति प्रेमजोडीहरू भित्र । प्रेम गर तर घरको अवस्था नभुल । तिमीले घुम्न जाँदा लगाउने पहिरनको बारेमा सोचेका छौ ? भन्ने गर्छन नी, चित्रले कसैको पनी चरित्र निर्धारण गर्दैन भनेर । छाड्देउ ती महंगा– महंगा कपडा लगाएर स्मार्ट बन्न पनी अब । धेरै रकम खर्च गरी आधा शरीर पनी नढाक्ने अनी त्यहीमा पनि काटकुट पारेर कपडा लगाउन पनि तिमी तयार भयौ ? तिम्री आमाले तिमीलाई कहिल्यै सिकाउनुभएन त्यो च्यातिएको कपडा लगाउन भनि । याद भएन तिमीलाई त्यो झुटो फेशनको नाममा च्यातिएको कपडा लगाउँदा, आमाको चोलाको कुहिनाको भाग च्यातिएको कुरा ।
खुला आकाशमुनी आफ्ना प्रेमजोडीहरू बसेर गफ गरिरहेको बेला भुल्यौ तिमीले, तिम्रो आमाको शरीरबाट रगत बगेकै कारण आज तिम्रो शरीरमा रगत बग्दैछ भन्ने कुरा । सहरको मोजमस्तीले तिमीलाई छोइसकेछ सायद । आज रमाउन थालिसकेपछि आफ्नो भविष्य नै भुल्न पुग्यौ क्यार । साथीहरूको साथमा मोजमस्ती गर्दागर्दै भुलिसकेछौ सारा कुरा । टिका लगाएर घरबाट पढ्न अनि सफल बन्नको लागि हिँड्ने बेलामा झोलामा मम्मीले हालिदिएका कपडा, खर्चपर्च गह्रौं भएको थियो कि मन भन्ने कुरा पनि भुलेछौ । विस्तारै–विस्तारै यो पनि भुलेछौ शहरको ठूलो मैदानमा कसैले तिमीलाई फुटबल सरी गोल हानेको कुरा पनी । शहरमा हिजो आज नयाँ फेसनहरू सिक्दै गर्दा यो पनी भुलेछौ कि, बुबाको मोजा चोरेर बल बनाउनको निम्ती बुबाले नै किनिदिनुभएको त्यो कपीको पाना च्यातेको कुरा । तिमीमध्ये कतिले त कक्षा एकदेखि आजसम्म पास भएर शीर ठाडो पारेका पनी हौला । तर तिम्रो घरमा आफ्नो शरीरको थुप्रो ओच्छानमै राख्न बाध्य अभिभावकलाई पनी भुल्यौ क्यार ।
आफ्नो ज्यानको ख्याल नगरी बुबामम्मीले पैसा कमाएर हाम्रो र्खा चलाउँदा ग्यास जोगाउनको निम्ती साँझलाई पनी बिहान खाना गराएर राख्ने मानिसहरू पनी छन, कोही कोही । तर तिमी ? तिम्रो गाउँमा प्रौढ शिक्षा पढाउने बेलामा शिक्षकले तिम्री आमालाई सर्वप्रथम कसको नाम सिक्नुहुन्छ भनि सोध्दा तिम्रो नाम भन्ने आमालाई सम्झेनौ । बिहान बेलुका गाई दुने बेला बाच्छाले थुन चुसेको चपचप आवाज सुन्दा तिमीलाई सम्झने तिम्री आमा ।
सहरमा देखावटी रूपमा चलेको कपडा किन्नको लागी घरबाट पैसा पठाइदिन भन्दा आएन तिम्रो दिमाखमा आमाले धरो च्यातेर बानेर तरकारी पठाएको कुरा । यहाँ दिनप्रति दीन हरेक मिनेटको आधारमा हराएपछि त्यही गाउँ तिमीलाई घृणित लाग्न थालेको छ जहाँ तिम्रो जन्म भएको थियो । अस्ती भर्खरै मैले देखेको वास्तविक घटना सुन, ग्रामीण भेगबाट आफ्नो छोराछोरीको अवस्था बुझ्न आउनुभएका आफ्नै बुबामम्मीलाई विद्यालयमा लग्न मानेनन् । एक मानिसले । सायद उनीलाई लाज लाग्यो होला त्यो च्यातिएको कमीजमा सिंगारीएका आफ्ना गाउँले बुबा र थोत्रो चोलीमा सजिएकी आफ्नी आमालाई साथीहरूसामु देखाउन । कठै विचरा ! तिमी यती तल झरिसकेका छौं कि, कुनै कुरा गरेर साध्य छैन । तिमीमा मानवता, आदर, सम्मान भन्ने कुनै कुरा छैन ।
तिमीलाई तिम्री आमाले कति सम्झनुहुन्छ थाहा छ, तिमीलाई ? तिम्रो घर अगाडिबाट तिमीजस्तै कोही मानिस हिँड्दा कति खुशी हुनुहुन्छ तिम्री आमा, तिम्रो मायाको कारणले । अनी त्यो मानिस तिमी नभएर अरु कोही हुँदा त्यो मनमा पुगेको चोटको अन्दाज गर्न सक्छौ ? के तिमीलाई थाहा छ, तिम्रो बुबाले जोत्ने गरेको जमिन कतिपटक जोतेपछि धान रोप्न मिल्ने हुन्छ भनेर ? अनी थाहा छ, कति वटा गराको बाँझो फुटाउँदा हातमा कति वटा फोका उठ्छन् अनी तिनको उपचार केहो भनेर ?
तिमीले पढेका हौला, ठोसको भन्दा ग्यासको गती बढी हुन्छ भनेर ? तर तिमीले कहिल्यै सोच्यौ त्यो आमाको यादको गतिको बारेमा ? खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेझै अब तिमीले साँच्चै आफ्नो परिवारलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सक्छौ ? मैतालु फर्काउन जाँदा खलाको पहिलो पाइलामा छोरीको सिन्दुर मुस्कुराए जसरी तीम्रो परीवारलाई खुशी पार्नसक्छौ ? अनि तिमीले सानोमा वस्तु चिन्ने बेलामा बारबार जसरी एउटै कुरा दोहो¥याएर उच्चारण गर्ने खालको केही काम गरेका छौ ? व्यवहारिकतामा शून्य हुने हो भने त छाडिदिए हुन्छ तिमीले पढ्न । कक्षा १ देखि आजसम्म पढ्दा तिम्रो पढाइमा कति खर्च भयो हिसाब छ तिमीसँग ? के अब त्यो प्रत्येक हिसाबको व्याज तिर्न तयार छौ ? सक्छौ त साँच्चै ? अब गएर एक सफल मान्छे बनेनौ भने त कक्षा १,२ मा नै जोड घटाउ अनी नाम लेख्न सिकिसकेका थियौ होला ? यति दुःख किन ?
म तिमीलाई भनिरहेको छु । आफूलाई बिर्स, तर अभिभावक नबिर्स । भोक, प्यास, निन्द्रा, केही नभनेर रात दिन ईन्जिनिएर बनेर तिम्रो भविष्यको चित्र कोर्ने तिम्रा बुबा–आमाको आशाको टुप्पो नभाँचिदेऊ । तिमी अहिले कहाँ छौ, के गर्दै छौ, अनि के को लागि भन्ने कुरा सोच एकपटक । तिम्रो बुबाले पहाड उचाल्न सक्ने उमेरबाट आज पहाडबाट बगेको पानी उचाल्न पनि तिम्रो सहाएता चाहिने उमेरसम्म तिम्रो लागि गरेको दुःख सम्झ । अनि नभुलकी तिमी तिम्रो लक्ष्यमा पुग्न सकेनौ भने तिम्रो बुबाको आँखाबाट बगेको आँसुको भलले तिमीलाई नै बगाउने छ । साँच्चै अब त तिम्रो बुबा–आमाको साथमा केही पनी छैन । ओठमा चेप्नको लागि एक खिल्ली खुशी पनि छैन । फक्सोमा भर्नको लागि एक सर्को शान्ति पनी छैन । निन्द्रा पनि हटिसकेको छ तिम्रो बारेमा सोच्दा–सोच्दै । निन्द्रा पनी जुत्ता खोल्ने वाहानामा ओच्छान नचढेरै भाग्न थाल्यो अब । सम्झ, तिमी कोही भन्दा कमी छैनौ । तर आफूलाई चिन । धनीहरूको घर व्यवहार सम्झ । गरीबलाई सम्मान गर । आजको यो फेसनरूपी व्यवहारले भोलिको जीवनमा पनि फेसन नै हुन्छ भन्न सकिन्न । ती चर्केका काँध र फुटेका हात भएका तिम्रा बुबा सधैं तिमीलाई ब्यागमा हालेर धेरै अव्यवस्थित रूपमा खर्च गर्ने पैसा पठाउनको निम्ती आमाको धरो च्यात्न नसक्ने दिन पनि नआउला भन्न सकिदैन ।

प्रकाशित मितिः   ८ पुष २०७४, शनिबार १५:११