पराजित एक उम्मेदवारको आत्मसमीक्षा

कविराज खत्री
चुनाव सकिएको छ । सबै क्षेत्रको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । चुनाव जित्नेहरू अविर यात्रामा संलग्न छन् । धेरै मत प्राप्त गरेर हार्नेहरू आरोप प्रत्यारोपमा व्यस्त छन् । हार्ने मध्येको म पनि एक उम्मेदवार हुँ । तर मलाई हारेकोमा कुनै पश्चताप र आत्मग्लानी छैन । वरु हारले जीतको तयारीका लागि मार्ग खोलिदिएको अनुभूति गरेको छु । म प्रदेशसभाका लागि दैलेखको निर्वाचन क्षेत्र नं. १ को क बाट राष्ट्रिय जनमोर्चाको तर्फदेखि प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेको थिएँ । निर्वाचन कार्यालयले अन्तिम मत परिणाम घोषणा गर्दा आधिकारिक रूपमा मैले कूल एक सय ७४ मत मात्र प्राप्त गर्न सफल भएँ । मेरो धरौटी जफत मात्र भएन मैले प्रतिशतका आधारमा हिसाब निकाल्दा शून्य प्रतिशत पनि आउँदैन । मेरो वास्तविक मत परिणाम यही हो । मेरो यो परिणाम देखेर धेरै धुरन्धर मेरा विद्वान मित्रहरूले मलाई घोचपेच पनि गर्नुभयो । तर यसमा मलाई कुनै आत्मग्लानी छैन । राजनीतिमा लागेको झण्डै २७ वर्ष पुगेछ । पदिय हैसियतले जिल्ला तहको राजनीतिक कार्यभार समालिरहेको छु ।

मैले चुनाव किन जित्न सकिन ? किन जनताले मलाई अर्थात राष्ट्रिय जनमोर्चालाई मतदान गर्न गाह्रो मान्छन् ? यसका केही कारणहरू छन् । जसलाई बुँदागत रूपमा चर्चा गर्दा उपयुक्त होला ।
– जनतालाई राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबद्ध गर्न नसक्नु । जनतासँग घुलमिल हुन नसक्नु । पदिय जिम्मेवारी पूरा नगर्नु ।
– ग्रामीण क्षेत्रमा वर्ग संघर्षको आन्दोलन निरन्तर नचलाउनु ।
– भ्रष्ट शासनका विरुद्ध पर्दाफास कार्यक्रम सञ्चालन नगर्नु ।
– कार्यकर्तालाई प्रशिक्षित नगर्नु ।
– नामधारी कम्युनिष्ट पार्टीले जनतालाई भ्रम सिर्जना गर्न सफल हुनु, पूँजीवादीधारको पार्टीले आध्यात्मवादका नाममा जनतालाई गुमराहमा पार्न सफल हुनु ।
– आधारभूत जनता राजनीतिक रूपमा सक्षम नहुनु, वुद्धिजीवि वर्ग, ठूला व्यापारी वर्ग र कर्मचारी वर्ग निहित स्वार्थमा विलुप्त हुनु र व्यक्तिवादी सोचका आधारमा राजनीतिक यात्रा तय गर्नु ।
मुख्य रूपमा यी र यस्ता कारणले राष्ट्रिय जनमोर्चाको संगठन विस्तारमा अवरोध आएको छ भने संगठन नभए पछि चुनावमा मतको आशा गर्नु निराधार हुन्छ जसको परिणाम सोचे जस्तो तत्काललाई आउँदैन । वर्तमान अवस्थामा चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेदको नीति नअपनाउनेवालाको मत परिणाम मेरो जस्तै हुनेमा दुईमत छैन । अर्को कुरा नेता दुई प्रकारले स्थापित हुने गर्दछन् । पहिलो कुरा नेता बनेर चुनाव जित्ने गर्दछन भने दोस्रो कुरा चुनाव जितेर नेता बन्दछन् । दैलेखको सन्दर्भमा चुनाव जितेर नेता बन्ने होडबाजी चलेको छ । चुनाव जितेर नेता बन्नेहरूसँग कोरा ज्ञान हुन्छ । जसले समाजको समग्र चित्रका आधारमा निर्णय गर्न र कार्यसम्पादन गर्न सक्दैन । हामीले बुझनुपर्ने मूख्य कुरा यही हो । मलाई चुनावी परिणामले कुनै खिन्नता पैदा गरेको छैन । तर मेरो मत परिणाम सुनेर मेरा आफन्तजनहरू, सहयोगी मित्रहरू र शुभचिन्तकहरूले समाजमा हैसियत नभएको मान्छे, कठै यति थोरै मत भनेर गिज्याउनेहरूको भीड ठूलो रहेको छ । बाटोमा हिँड्दा मेरो अनुहारमा हेरर खिल्ली उठाउँदै हाँस्नेहरूको संख्यामा वृद्धि भएको छ । यो स्वभाविक पनि हो । वर्तमान राजनीतिक अवस्था दर्शनमा होइन, हो–हल्लामा चलेको छ । जुनसुकै हत्कण्डा अपनाएर भए पनि जसले चुनाव जित्छ, उसैलाई मात्र नेता मान्ने हाम्रो संस्कार छ । म यस्तो संस्कारको सिकार भएकाले सिकारलाई जसले पनि खान खोज्नु अनौठो के भयो र ?
अर्को कुरा यो चुनावमा मैले गाडी प्रयोग गरिन् । म मेरा मतदाताहरूको घर घर पुगें । आफै पर्चा दिएँ, पम्पलेट टाँसे । जनताको घरमा खाना खाएँ, बास बसे । झण्डा ब्यानर बोकेर, गाडीमा माइक राखेर तामझामका साथ कार्यकर्ता परिचालन गरेर जनतालाई रमिता देखाइन् । चुनावी प्रतिबद्धतामा झुट्टा गर्न नसकिने कोरा कल्पनाका नारा समावेश गरिन । चुनावको बेला सम्भव भएका ठाउँमा बुथ कब्जा गर्ने, मदतादालाई धम्काउने, पैसा बाँड्ने आदि इत्यादि काम गरिन । हाम्रो पार्टीको नीति सिद्धान्तको प्रचार गरें । मेरो यस्तो प्रकारको चुनावी प्रचार शैलीलाई जनताले पत्याउनु भएन । ‘तँलाई यस पालि हामी अनुमोदन गर्न सक्दैनौं’ भन्ने मतका साथ मेरो चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनु भएन र त म १७४ वाला बन्न पुगें ।
यति मात्र कारण होइन, अर्को कारण पनि रहेको छ । यो भन्दा अघि म राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष पदमा पदोन्नति भएपछि ती वस्तिहरूका समस्या बुझ्न, सामाधान गर्न र संगठन गर्न कुनै दिन पनि गाउँमा गइनँ । बजारमा बसेर ठालुगिरी गरें । चुनावको बेला मात्र गाउँमा पसें । अनि एक सय ७४ मत नआएर १० हजार ७४ मत आउने त कुरै भएन । तसर्थ अन्तिम निचोड के हो भने म पदीय हैसियतले जिल्लाको उपाध्यक्ष भए पनि कर्मका हैसियतले साधारण सदस्यले जति पनि संगठन निर्माणमा ध्यान दिन सकिन । जसका कारणले मत परिणाम थोरै आयो । तर मूल विषय के हो भने नेपालमा सामन्त, भ्रष्ट तथा निरंकुश राजतन्त्रको अन्त्यपछि संविधानसभामार्फत् गणतन्त्रात्मक व्यवस्था लागू भएको छ । हामी सबै नेपालीहरूले गणतन्त्रलाई संस्थागत विकास गर्नु यतिबेलाको मुख्य अभिभारा वा कार्यभार हो । गणतन्त्रका पक्षधर राजनीतिक दलहरू सबै नमिलेसम्म गणतन्त्रको संस्थागत विकास हुन सक्दैन । यो पनि सत्य कुरा हो ।
नेपालमा गणतन्त्रात्मक संविधान निर्माण भए पश्चात इतिहासको कालखण्डमा पहिलो पटक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्नका लागि मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भइ मत परिणाम आइसकेको छ । पूँजीवादी गणतन्त्रको सुन्दर पक्ष पनि यही नै हो । समग्रतामा यस पटकको चुनाव हेर्दा कथनीकार उम्मेदवारहरूको भीड रहेको थियो । कसैले वाम गठबन्धन नाम दिएर त कसैले लोकतान्त्रिक गठबन्धन नाम दिएर चुनावमा होमिएका थिए । उनीहरूको मुख्य उद्देश्य जसरी पनि चुनाव जित्ने, अविर यात्रा गर्ने र आफूलाई केन्द्रमा राखेर राजनीतिक पावर संकलन गर्ने थियो । उनीहरूको यो कुटिल चाल जनताले भित्री रूपमा बुझ्न निकै समय लाग्ने छ । चुनाव आउँछ, जान्छ त्यो महŒवपूर्ण कुरा होइन । महŒवपूर्ण कुरा समाजको चेतनामा परिर्वतन हुनु हो । राज्यसत्ता बन्दुकको नालमा टिकेको हुन्छ भने समाज चेतनामा टिकेको हुन्छ । जबसम्म जनताको चेतनामा परिर्वतन हुँदैन तबसम्म आमूल परिर्वतन असम्भव नै हुन्छ । नेताको कर्तव्य जनताको चेतनामा परिर्वतन गराउनु हो । तर अन्य दलका नेताहरू जनतालाई सचेत बनायो भने आफूहरू कमजोर बन्छौं भन्ने मानसिकता पालेर बसेका छन् ।
यी कथनिकार, अवसरवादी, सुधारवादी नेताहरूको भिडमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजय हाँसिल गर्न फलामका चिउरा चपाउनु सरह भयो । तथापी हाम्रो उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभइ क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताहरूको निर्माण र विस्तार गर्नका लागि हो । जनतालाई सचेत र संगठति पार्दे नौलो जनवादी क्रान्तिको आधार तयार गर्नका लागि हो । यस्तै लक्ष्य र उदेश्यका साथ मेरो पनि उम्मेदावरी परेको थियो र म पनि चुनावी मैदानमा थिएँ । मैले राष्ट्रिय जनमोर्चाको चुनावी घोषणा पत्रका आधारमा काम गर्ने गरी चुनाव जिते पछि गर्ने केही प्रतिबद्धता आम मतदाता समक्ष गरेको थिएँ । ती प्रतिबद्धताहरू पराजित भइसकेपछि पनि म मेरोतर्फबाट पूरा गर्न प्रतिबद्ध छु ।
अन्त्यमा, म मेरो जीवनभर भ्रष्टाचार गर्दिन, चुनाव जित्नका लागि भोट किन्दिन, राजनीतिलाई पेशा बनाउदिन, जनतालाई झुट्टा कुरा बोल्दिन, जिते पनि चुनाव हारे पनि म नेपालकै सफल उद्यमी बन्नका लागि म मरो उद्यमशीलताको कर्म छोडदिन र हाम्रो समाजलाई उद्यमशील, आत्मनिर्भर बनाउनका लागि अभियान्ताको रूपमा जीवनभर लागिरहने छु । आम मतदाताहरू समक्ष म यही प्रतिबद्धता जाहेर गर्दछु भनि गरेका प्रतिबद्धताहरूलाई चुनाव हारे पनि मुख्य मार्गदर्शन बनाई यिनै प्रतिवद्धता पुरा गर्न लागिरहने छु । आजसम्म म मेरो क्षेत्रका मतदाताहरू समक्ष पुगेर बहस गर्दा मैले गरेका प्रतिबद्धताका आधारमा मलाई चुनावमा भोट हाल्ने धेरैले प्रतिबद्धता जाहेर गर्नुभएको थियो । तर चुनावी परिणामले मलाई एक सय ७४ वाला बनाए पनि न निर्भिक रूपमा नेकपा(मसाल) को नीति, सिद्धान्तलाई आत्मसात् गर्दै राजनीतिक यात्राबाट विचलित हुने छैन । यसका साथै मैले उम्मेदवारी दिइसकेपछि मत गणना भएको दोस्रो दिन आय÷व्याय सार्वजनिक गर्ने प्रतिबद्धता समेत जाहेर गरेको थिएँ । यो प्रतिबद्धता पूरा गरेको छु । यसमा मलाई गर्व छ । र उक्त आय÷व्यय यस आलेखमार्फत् पनि सार्वजनिक गर्न चाहान्छु ।
आयतर्फ
क) व्यक्तिगत आम्दानी २८९२५
ख) सहयोग आम्दानी जिन्सितर्फ ३५००
ग) नगद सहयोग आम्दानी १००००
कूल आम्दानीः ४२४२५
ब्यायतर्फ
क) सञ्चारतर्फ ३०००
ख) सूचनातर्फ ५०००
ग) पोष्टर छपाइ २५००
घ) झण्डा, व्यानरतर्फ ५०००
ङ) मनोनयन दर्तातर्फ ५०००
च) खाना, नास्ता र विविधि खर्चतर्फ १९४२५

प्रकाशित मितिः   ७ पुष २०७४, शुक्रबार १५:१६