वाचा भुलेको छैनः विष्ट

सुर्खेत, ६ पुस ।
सुर्खेत क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद ठम्मरबहादुर विष्टले चुनावअघि गरिएका वाचा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीवार वीरेन्द्रनगरमा पत्रकारहरूसँगको भेटघाटमा विष्टले बाम गठबन्धनले चुनाव अघि सार्वजनिक गरेको केन्द्रीय घोषणापत्र अनुसार नै काम गर्ने बताए ।


घोषणापत्रमा उल्लेख गरिएका कुराहरूलाई मात्रै पनि कार्यान्वयन गर्न सके सुर्खेतको मात्र नभइ नेपालकै कायापलट हुनसक्ने उनको भनाइ थियो । पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिदैं प्रदेशसभा सदस्य विष्टले पूर्वी सुर्खेतको विकास कछुवा गतिमा भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकासमा आफू लागि पर्ने बतए । पूर्वी सुर्खेतमा केही सुकुम्बासी समस्यासमेत भएको भन्दै उनले त्यसको समाधान आफ्नो प्राथमिकतामा रहने बताए ।
विष्टले सुर्खेतमा हवाई यातायातको समस्या टड्कारो रूपमा देखापरेको उल्लेख गर्दै रामघाट क्षेत्रमा प्रदेशस्तरको विमानस्थलका लागि पहल गरिने बताए । अन्तर्राष्ट्रियस्तरको विमानस्थल नहुँदा सुर्खेतका नागरिक काठमाडौं लगायतका स्थानमा जान नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । उनले आफू भ्रष्टाचारको विरोधी भएकाले यसको न्यूनीकरणको प्रयास आफूबाटै गर्ने समेत जनाए ।

प्रकाशित मितिः   ७ पुष २०७४, शुक्रबार १५:२७