१४ बुँदे मागसहित विद्यार्थी आन्दोलित

सुर्खेत, ६ पुस ।
मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । विभिन्न १४ बुँदे मागसहित विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । स्वतन्त्र विद्यार्थी युनियन र विश्वविद्यालयमा अध्ययनरत इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरूले बिहीवार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।


विद्यार्थी र विश्वविद्यालयको हितमा विभिन्न मागहरू राख्दा वेवास्ता गरिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूको मागबारे छलफल गर्न बिहीवार छलफल आयोजना गरिएको थियो । तर दुई पक्षबीच वार्ता भइरहँदा विश्वविद्यालयले प्रशासनले प्रहरी बोलाएको भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।
वार्ता समयमा नै विश्वविद्यालयद्वारा प्रहरीलाई खबर गरी विद्यार्थीका मागहरूलाई दबाउने कोशिस गरिएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति झक्कबहादुर शाहीले बताए । उनले भने, ‘विगतदेखि विद्यार्थीहरूका परिचयपत्रदेखि प्रश्नपत्र गोपनियताको विषय लगायत आधारभूत मागहरू राख्दा पनि विश्वविद्यालय परिवारले सम्बोधन नगर्नु लाजमर्दो कुरा हो ।’
अघिल्ला आन्दोलनमा भएका सहमतिहरू समेत विश्वविद्यालय परिवारले समाधान नगरेको कारण पुनः आन्दोलन भएको इन्जिनिरिङ्ग संकायकी विद्यार्थी संगिता भट्टराईले बताइन् । उनले भनिन्, ‘उपकुलपति, रजिष्ट्रार र डीनले कहिल्यै हाम्रो माग पूरा गरेनन् । हाल आन्दोलनलाई चर्काएरै ताला लगाउनु भनेको हाम्रै लागि लाजमर्दो कुरा हो । भएका स्रोत साधनहरूको सही रूपमा प्रयोग विश्व–विद्यालयले अझै गर्न सकेको छैन । विश्व–विद्यालयसँग ‘म्यानपावर’ भएता पनि ‘माइन्ड पावर’ छैन ।’
विद्यार्थी र विद्यार्थीका मागहरूलाई विश्वविद्यालय प्रशासनद्वारा लत्ताइएको इन्जिनिरिङ्ग संकाय अध्ययनरत रामबहादुर कार्कीले बताए । उनले भने, ‘तेस्रो वर्ष पुग्दा समेत विद्यार्थीहरूले ल्याब गर्न पाएका छैनन् । ल्याब इन्जिनिरिङ्ग संकायको महŒवपूर्ण पाटो हो ।’ अघिल्लो दिन विज्ञान संकायको कोठामा पढिएको र विज्ञान संकायको परिक्षाको दिन आफूहरू खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको इन्जिनिरिङ्ग संकाय अध्ययनरत रोशन बस्नेतले बताए । बस्नलाई कोठा नभएको, लाइब्रेरिमा किताबहरू
पूर्णरूपमा नभएको तथा कार्यालय सहयोगीलाई लाइब्रेरियन बनाइएको उनले बताए ।
विश्वविद्यालयमा सकारात्मक परिवर्तनका लागि आफू लगायत सम्पूर्ण विश्वविद्यालय परिवार तयार रहेको निमित्त रजिष्ट्रार गणेश कार्कीले बताए । उनले भने, ‘यो क्षेत्रमा विश्वविद्यालय निर्माणमा शिक्षापे्रमी अभिवाभक, विद्यार्थी शिक्षा तथा सम्पूर्ण सुर्खेतबासी सबैको भूमिका उल्लेखनीय रहेको छ । ल्याबका सम्बन्धमा हामीले निरीक्षण गरेका छौं, र त्यहाँ भएका कमीकमजोरी हटाउन हामीले प्रयास गर्नेछौं ।’ विद्यार्थीहरूका मागहरू मध्यपश्चिम विश्व–विद्यालयको क्षमता बमोजिम पूरा गर्ने प्रतिबद्धता इन्जिनिरिङ्ग संकायका डीन वीरेन्द्र खड्काले व्यक्त गरे । प्राविधिक तथा अन्य कारणले सुरु नभएका विविध पक्षहरू वार्ताको माध्यमले अगाडि बढाउने खड्काले बताए ।
आवश्यक रिक्त विषयगत प्राध्यापकहरूको आपूर्ति गरी तत्काल नियमित अध्ययन अध्यापन गराइनुपर्ने, तत्काल लाइब्रेरियन नियुक्त गरी आवश्यक परिमाणमा किताबहरूको व्यवस्था गरिनुपर्ने, उत्तीर्ण प्रतिशत ५० बाट ४० बनाइनुपर्ने र पूर्वसहमति अनुसार गोल्डेन चान्सको सुनिश्चिता गरी तत्काल कार्यान्वयन गरिनुपर्ने, प्रश्नपत्रहरूको गोपनियता सन्दर्भमा गोपनियता भङ्ग गर्न प्रयास गर्ने व्यक्ति उपर तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाइनुपर्ने, शैक्षिक भ्रमण (प्राक्टिकल) हरूको व्यवस्था पाठ्यक्रम अनुरूप समयमै गराइनुपर्ने लगायतका माग विद्यार्थीहरूले राखेका छन् ।

प्रकाशित मितिः   ७ पुष २०७४, शुक्रबार १५:३२