बन्ने भयो कभर्ड हल
खेलकुदले दियो जग्गा, एक वर्षभित्र निर्माण हुने
साझा बिसौनी संवाददाता
सुर्खेत, ५ पुस ।
सुर्खेतमा ब्याटमिन्टन कभर्ड हल निर्माणका लागि जग्गा उपलब्ध गराइएको छ । जिल्ला खेलकुद विकास समिति सुर्खेतको स्वामित्वमा रहेको जग्गा कभर्ड हल निर्माणका लागि प्रदान गरिएको हो ।
जिल्ला ब्याटमिन्टन संघ सुर्खेतले जिल्लामा सुविधायुक्त कभर्डहल निर्माण गर्न जग्गा माग गरेपछि सुर्खेत उपत्यका नगरविकास समितिले जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराएको जग्गामध्येबाट करिब चार कठ्ठा जग्गा कभर्ड हलका लागि हस्तान्तरण गरिएको हो । जग्गा उपलब्ध भएसँगै अब सुर्खेतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ ।
ब्याटमिन्टन संघले ब्याटमिन्टनका लागि मात्रै नभइ बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने तयारी गरेको छ । उक्त हल निर्माणका लागि संघले गतवर्ष महायज्ञ सञ्चालन गरेर एक करोड बढी आर्थिक संकलन समेत गरिसकेको छ । संघका उपाध्यक्ष चेत अधिकारीका अनुसार महायज्ञबाट एक करोड ७५ लाख रूपैयाँ संकलन भएको थियो । जसमध्ये खर्च कटाएर एक करोड ३० लाख रूपैयाँ बचत भएको उनले जनाए । सोही रकमबाट कभर्डहल निर्माण गरिनेछ । अबको एक वर्षभित्र हल निर्माण गरिसक्ने जनाइएको छ ।
चार वटा ब्याटमिन्टन कोर्टसहितको हल बनाइने संघका उपाध्यक्ष अधिकारीले बताए । त्यसैगरी योग तथा प्रणायाम गर्न मिल्नुका साथै अन्य इन्डोर खेल सञ्चालन गर्नसमेत सकिने उनको भनाइ छ । अधिकारीले सभा तथा सेमिनार आयोजनाका लागि पनि प्रयोग गर्न मिल्ने गरी हल निर्माण हुने बताए ।
जग्गा हस्तान्तरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रप्रकाश गिरीले सुर्खेतमा सुविधा सम्पन्न कभर्ड हल निर्माण हुनु यो प्रदेशकै लागि खुशीको कुरा भएको बताए ।
उनले सुर्खेतमा प्रदेशस्तरको कभर्ड हल अपरिहार्य रहेको भन्दै उक्त आवश्यकतालाई ब्याटमिन्टन संघले पूरा गर्न लागेको जनाए । कभर्ड हल निर्माण भइसकेपछि सुर्खेतबाट समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ब्याटमिन्टन खेलाडीहरू उत्पादन गर्न सकिने विश्वास गिरीले व्यक्त गरे ।
साझा बिसौनी संवाददाता ।