‘पाँच वर्षभित्र जिल्लाका सबै वडामा विद्युत’

निर्वाचित भएपछि कस्तो अनुभूति भइरहेको छ ?
विजयी भएपछि थप जिम्मेवारी बोध भएको छ । जनताले मलाई विकास र समृद्धिको भारी बोक्ने जिम्मेवारी सुम्पेका छन् । जीवनमा जनताको सेवा गर्ने र जिल्लाको विकासमा अग्रसर हुने सुनौलो अवसर मिलेको छ । राजनीतिक जीवनमा विगतको भन्दा पनि थप क्रियाशील भएर लाग्नुपर्ने मौका पाएको छु । समग्रमा जनताबाट अनुमोदित हुँदा गर्व महसुस भएको छ ।
जनताले के अपेक्षा गरिरहेका छन् नी ?
विजयी घोषणा भएपछि म मतदाताको दैलोमा पुगेर फर्किएको छु । जनताले धेरै ठूलो अपेक्षा गरेका छैनन् । यसपटक जनतामा केबल विकास र समृद्धिको अपेक्षा बढिरहेको छ । जनताले गाउँमा बाटो, खानेपानी र बिजुली नै माग गरिरहेका छन् । विकास र समृद्धिसँगै वाम गठबन्धनबीच तत्काल पार्टी एकता जनताले चाहेका छन् । मतदातालाई धन्यवाद दिन पुग्दा उनीहरूले देशमा स्थायी सरकारको कामना गरेको मैले पाएँ । स्थायी सरकारले विकासको गतिलाई बढाओस् भन्ने मुख्य अपेक्षा जनताले गरिरहेका छन् ।
यहाँको जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने तीन वटा काम के छन् ?
हाम्रो जिल्ला र क्षेत्रमा मात्र होइन, समग्र प्रदेश नम्बर ६ को लागि तत्काल गर्नुपर्ने काम भनेको विमानस्थल निर्माण हो । सुर्खेतमा सम्भाव्यता अध्ययन भइसकेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पहिलो प्राथमिकता हो । यो प्रदेशमा अहिले एउटा पनि ठूला जहाज अवतरण गर्नसक्ने विमानस्थल छैनन् । काठमाडौंका लागि जहाज चढ्न नेपालगन्ज नै पुग्नुपर्ने बाध्यता छ । त्यसका लागि सुर्खेतको मदानेचौरमा निर्माण प्रस्ताव गरिएको क्षेत्रीय विमानस्थल निर्माणको काम नै पहिलो प्राथमिकता हो । यसलाई म मुख्य प्राथमिकता दिनेछु । यस्तै हरेक गाउँलाई जोड्ने सडक विस्तार र स्तरोन्नतिको काम पनि तत्काल गर्नुपर्नेछ । जनताको जीवनस्तर उकास्ने खालका रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नका लागि तत्काल पहल गर्नेछु । क्षेत्रीय विमानस्थल निर्माण, सडक विस्तार र रोजगारी सिर्जना तत्काल गर्नुपर्ने तीन वटा काम हुन् ।
अबको पाँच वर्षभित्र जनताले के नयाँ अनुभूति गर्लान् त ?
अबको पाँच वर्षभित्रमा जिल्लाका सबै वडाहरूमा विद्युत पुगेको हुनेछ । जिल्लाका हरेक गाउँका बासिन्दाले पाँच वर्षभित्र विजुली उपभोग गर्न पाउनेछन् । यस्तै मेरो कार्यकालमा मेरो क्षेत्रका सबै गाउँ र टोलका जनताले सडक पुगेको देख्नेछन् । कसैले पनि पैदल हिँड्नुपर्ने अवस्था बाँकी रहने छैन । हाल निर्माण भएका सडकहरू पनि स्तरोन्नति भएको पाउनेछन् । अर्कोतर्फ जनताको जीवनस्तर पनि सुधार भएको हुनेछ । हामी त्यसका लागि रोजगारमूलक कार्यक्रमहरू संचालन गर्नेछौं ।
साझा बिसौनी संवाददाता ।