प्रदेश ६ः कमजोर भएको हो, कांग्रेस ?

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने प्रदेश नं. ६ मा शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको करिब समान हैसियत देखिन्छ । यहाँका ७९ स्थानीय तहमध्ये एमालेले २७ तथा कांग्रेस र माओवादीले समान २५ स्थानीय तहमा जीत हात पारेका थिए । जितेको सीट संख्याको आधारमा मात्र नभइ नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूले पाएको मतका आधारमा पनि यो प्रदेशमा तीन दलबीचको मतान्तर खासै धेरै छैन । तीन वटै दलले करिब दुई लाखको आसपासकै संख्यामा मत प्राप्त गरेका थिए ।

तर, स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको परिणामलाई हेर्ने हो भने कांग्रेस यो प्रदेशमा प्रत्यक्षतर्फ नतिजा शून्यको अवस्थामा पुग्यो । प्रदेशसभा सदस्यमा एउटा मात्रै सीट जितेको कांग्रेसले प्रतिनिधिसभातर्फ कुनै पनि क्षेत्रमा जीत हात पार्न सकेन । समानुपातिकतर्फको मतका आधारमा पाएको ६ सीट र प्रत्यक्षतर्फ जितेको एक सीटसहित ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका सात जना मात्रै प्रतिनिधि हुने भएका छन् । ६ महिनामै कांग्रेस यति कमजोर भएको हो त ? कांग्रेसभित्र र बाहिर अहिले यो प्रश्नमाथि चर्चा भइरहेका छन् ।
गुमेको छैन जनमत
जितेको सीट संख्याका आधारमा कांग्रेस निकै कमजोर देखिए पनि प्राप्त मतका आधारमा कांग्रेस निराशाजनक अवस्थामा पुगिसकेको भने छैन । जिल्लागत रूपमा वा निर्वाचन क्षेत्रअनुसार प्राप्त मतको अवस्था हेर्दा कांग्रेसको मत स्थानीय चुनावभन्दा घटेको पाइदैंन । स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखहरूले प्राप्त गरेको मत र ती स्थानीय तह रहेको अहिलेको निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरूले पाएको मत करिब समान छ । थोरै संख्यामा धेरै वा थोरै भए पनि ठूलो अन्तर भने देखिदैंन ।
त्यसैगरी समानुपातिकतर्फ पनि कांग्रेसले उल्लेख्य मत प्राप्त गरेको छ । प्राप्त मतका आधारमा समानुपातिकतर्फ प्रदेश नं. ६ मा कांग्रेस दोस्रो स्थानमा रह्यो । पहिलो स्थानमा रहेको एमालेले एक लाख ६९ हजार सात सय ५५ मत प्राप्त गर्दा कांग्रेसले एक लाख ६२ हजार ३ मत प्राप्त ग¥यो । मतसंख्यामा पहिलो भएको एमालेभन्दा सात हजार सात सय ५२ मतले पछि परेको कांग्रेसले मतअनुसार प्राप्त हुने सीटमा भने एमालेसँग बराबर ग¥यो । दुवै दलले समानुपातिकतर्फ यो प्रदेशमा समान ६ सीट प्राप्त गरे । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले चार सीट मात्र पायो । यसरी प्राप्त मतको विश्लेषण गर्दा प्रदेश नं. ६ बाट कांग्रेसको जनमत गुमेको देखिदैंन । स्थानीय चुनावमा कांग्रेसको जनमत जे थियो अहिले पनि त्यो घटेको छैन । यद्यपि स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही प्रतिशत कम मत खसेकाले सबै दलहरूले प्राप्त गरेको मत अघिल्लो पटकको भन्दा यसपटक केही कम छ ।
किन पछि प¥यो कांग्रेस ?
निर्वाचनको सम्मुखमै आएर दुई ठूला दल एमाले र माओवादीबीच चुनावी तालमेल बन्यो । समान तीन पार्टीबीच प्रतिस्पर्धा हुने क्षेत्रमा दुई पार्टी एकठाउँमा भएपछि अर्को पार्टी नतिजाविहीन हुनु स्वभाविकै थियो । यद्यपि गठबन्धनभन्दा पछि पर्ने बुझे पनि कांग्रेसले यो स्तरको परिणाम आउने आंकलन भने गरेको थिएन । प्राप्त परिणामले कांग्रेसवृत्तमा व्याप्त निराशा प्रष्ट देखिन्छ । अहिले नेता तथा कार्यकर्ताबीच आरोप प्रत्यारोप चलिरहेको छ । कतिपयले नेतृत्वको अक्षमताले पराजित हुनुपरेको भनिरहेका छन् भने कतिपयले पार्टीभित्र मौलाएको गुटगत लडाईं र नेताहरूबीचको आपसी अन्तरद्वन्द्वलाई कारण देखाइरहेका छन् । तर परिणामको तथ्यगत समीक्षा र विश्लेषण गर्नेतर्फ भने खासै ध्यान पुगेको देखिदैंन ।
प्रदेश नं. ६ मा नेपाली कांग्रेस विगतको भन्दा कमजोर भएको होइन, विगतकोभन्दा बलियो हुन नसकेको भने हो । ६ महिनाअघि सम्पन्न स्थानीय तहको चुनाव र अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले पाएको मतको परिणामको विश्लेषणले नै यो पुष्टि गर्दछ । एकातर्फ समान शक्ति र जनमत भएका दुई पार्टीबीच गठबन्धन हुनु र अर्कोतर्फ कांग्रेसले थप जनमत आफूतर्फ आकर्षित गर्न नसक्नु नै प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसको हारको प्रमुख कारण हो ।
कांग्रेसभित्र अहिले जे जस्ता आरोप प्रत्यारोप वा घात प्रतिघातको कुरा उठे पनि चुनावी परिणाममा त्यसको प्रभाव परिणाम नै उल्ट्याउने गरी भने थिएन । स्थानीय चुनावमा प्राप्त मतकै आधारमा पनि एमाले र माओवादी गठबन्धनले यो चुनाव जित्ने आंकलन सहजै गर्न सकिन्थ्यो । चुनावको परिणाम पनि त्यो भन्दा फरक आएन । एमाले र माओवादीका कार्यकर्ता तथा शुभेच्छुकहरूले इमान्दारितापूर्वक गठबन्धनको पक्षमा मतदान गरे, जसले गर्दा कांग्रेसले जीत हासिल गर्न सकेन । चुनावको मुखैमा आएर भएको गठबन्धन दिगो नहुने र दुवै पार्टीका सबै कार्यकर्ताले यो गठबन्धनलाई स्वीकार नगर्ने कांग्रेसको आंकलन थियो । यसको प्रत्यक्ष फाइदा आफूलाई पुग्ने कांग्रेसको पूर्वानुमानले फेल खायो । गठबन्धन गरेका दुवै पार्टीका कार्यकर्ता गठबन्धनप्रति इमान्दार बनिदिए भने गठबन्धनले प्रमुख एजेण्डाको रूपमा अघि सारेको स्थायित्व र समृद्धिको नाराले कार्यकर्ताभन्दा पर रहेका आम मतदातालाई पनि आकर्षित ग¥यो । जसले कांग्रेसको पराजयमा सघाउ पु¥यायो । आफ्नै नेतृत्वमा संविधान बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्न पाउनुपर्ने नारालाई प्राथमिकता दिएर चुनावमा होमिएका कांग्रेसले भने आफ्ना कार्यकर्ताभन्दा थप मतदातालाई आकर्षित गर्न नसक्नु पनि उसको पराजयको अर्को कारण हो ।
कांग्रेसलाई आगामी अवसर
निर्वाचनको परिणामले कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा राखेको छ । वाम गठबन्धनबीच कुनै दरार उत्पन्न नभएमा गठबन्धनकै सरकार बन्नेछ । सम्भवतः अब संघीय सरकार र प्रदेश सरकारमा कांग्रेसको सहभागिता हुनेछैन । तर स्थानीय सरकारमा भने कांग्रेसको सहभागिता पाँच वर्ष रहनेछ । सोही स्थानीय सरकारमा भएको आफ्नो सहभागितालाई सदुपयोग गर्नसक्नु कांग्रेसको आगामी अवसर हो ।
स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सबैभन्दा तल्लो र महŒवपूर्ण तह हो । जसबाट जनताको पक्षमा देखिने गरी थुप्रै काम गर्न सकिन्छ । कांग्रेसले जुन जुन स्थानीय तहमा जीत हात पारेको छ ती स्थानीय सरकारको गतिविधिलाई जनतासँग जोडेर लैजानु उसका लागि फाइदाजनक हुनेछ । यसले स्थानीय नागरिकलाई कांग्रेससँग जोडेर राख्नेछ । कांग्रेसप्रतिको भरोसा र विश्वास मजबुत बनाउन मद्दत पुग्नेछ । किनभने जुन स्थानीय तहमा जसको नेतृत्व छ त्यहाँ भएका कामको जस पनि उसलै पाउने पक्का छ ।
त्यसैगरी केन्द्रीय र प्रदेश सरकारमा नभएपनि कांग्रेस दुवै तहका सदनमा भने हुनेछ । सदनमा उसले आफ्नो उपस्थितिलाई बलियो बनाउन सक्ने पर्याप्त ठाउँ छ । देश हित र जनताका पक्षमा नीति निर्माण गर्नका लागि आवाज उठाउने, पहल गर्ने काम कांग्रेसका प्रतिनिधिहरूले गर्न सक्दछन् । मुलुकमा सरकारको मात्र होइन सदनमा प्रतिपक्षीको भूमिका पनि महŒवपूर्ण हुन्छ । सरकारले गर्ने कामको मात्र नभई प्रतिपक्षीले खेल्ने भूमिकाको पनि आम नागरिकबाट मूल्याकंन भइरहेको छ । लोकतान्त्रिक अभ्यासमा प्रतिपक्षीको भूमिका अझ विशेष हुने गरेको छ । त्यसैले आगामी निर्वाचनबाट आफूलाई पुनरागमन गराउनका लागि कांग्रेसले सदनमा रहेको आफ्नो उपस्थितिलाई अवसरमा बदल्न सक्नेछ । संघीय र प्रदेश संसदमा जुन संख्यामा भए पनि आफ्नो भएको उपस्थिति र आफूले नेतृत्व गरिरहेको स्थानीय सरकारलाई सदुपयोग गर्नसक्ने हो भने आगामी पाँच वर्षपछि हुने निर्वाचनमा कांग्रेसले आफ्नो नतिजामा सुधार गर्न नसक्ला भन्न सकिदैंन ।

प्रकाशित मितिः   ५ पुष २०७४, बुधबार १५:४५