कार्यान्वयन भएन सर्वपक्षीय निर्णय

दैलेख, ४ पुस ।
दैलेख सदरमुकामको साँधुरो सडक । स्थानीय व्यापारिहरूको लापरबाही र सडक छेउमै निर्माण सामग्रीहरू राख्नाले अस्तव्यस्त सडकमा ओहोर दोहार गर्ने सावारी साधनहरूबीच सडकमै तमासे बनेका हुन्छन् । जसका कारण पटक–पटक साना दुर्घटनाहरू भइरहेका छन् । साँधुरो सडकमा दुईतर्फी यातायात सञ्चालनले दैलेख सदरमुकामको बीच सडकमा बेला–बेला जाम समेत हुने गरेको छ ।


दैलेख सदरमुकाम प्रवेश गर्ने र सदरमुकामबाट बाहिरिने सावारी साधनहरू एकतर्फी बनाउन पटक–पटक सर्वपक्षीय निर्णय पनि भएका छन् । गत भदौ २३ गते दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकले यातायात सञ्चालनमा कडाई गर्ने निर्णय गरेको थियो । त्यसको दुई महिना नबित्दै सोमवार पुनः यातायात सञ्चालन सम्बन्धी निर्णय गरिएको छ । दुई महिनाको बीचमा दुई पटक गरिएका निर्णय कार्यान्वयनमा भने आउन सकेको छैन । गत भदौमा बसेको बैठकले यातायात सञ्चालन सम्बन्धी १४ बुँदे निणर्य गरेको थियो । उक्त निणर्यमा भनिएको थियो ‘दैलेख सदरमुकाम क्षेत्रमा एकतर्फी यातायातका साधन सञ्चालनमा ल्याइनेछ ।’
यस्तै निजी सवारी साधनले यात्रु ओसार–पसार गर्न नपाउने, दैलेख सदरमुकामबाट छुट्ने सबै यात्रुबाहक सवारी साधनहरू काँडाचौर बसपार्कबाट मात्र छुटुपर्ने निर्णय गरिएको थियो ।
दैलेखको काँडाचौर बसपार्कबाट छुटेका सवारी साधन नारायण क्याम्पस रामपुर, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै तल्लो सडकबाट बाहिरिनुपर्ने निणर्य गरिएको भए पनि कार्यान्वयन भने हुन सकेन् । यस्तै यातायातका साधनमा बालबालिकाको प्रयोग गर्न नपाइने, सवारी साधनले सडक अबरुद्ध हुने गरि यात्रु चढाउन र ओराल्न नपाइने तथा यात्रु ओराल्दा र चढाउँदा खुल्ला ठाउँमा रोक्नुपर्ने, यातायातका साधानले अत्यावश्यक परेमा मात्र हर्न बजाउन पाउने लगाएतका निर्णय कागजमै सीमित भए ।
यस्तै कानुनले तोके बमोजिम आरक्षण सीटको व्यवस्था गर्नुका साथै आरक्षण सीटको अनिवार्य कार्यान्वयन गर्नुपर्ने लगाएतका निर्णयहरू गरिएको भए पनि उक्त निर्णय कार्यान्वयन नहुँदै फेरि अर्को निर्णय गरिएको छ । सोमवार बसेको सर्वपक्षीय बैठकले पहिलाकै निर्णयलाई कार्यान्वयन गर्ने गरी निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार बजार क्षेत्रमा व्यापारिक तथा निर्माण सामग्री राख्न नपाइने राखेको पाइएमा सामान जफत गर्ने निर्णय गरिएको छ । यस्तै सदरमुकामका बीच सडकमा सडक अबरुद्ध हुने गरी सावरी साधन राक्न नपाइने निर्णय गरिएको देवकोटाले जानकारी दिए । उक्त बैठकको निर्णय अनुसार अब दैलेख बजार क्षेत्रमा मनोमानी ढङ्गबाट हर्न बजाउन पाइने छैन् । सहायक प्रजिअ देवकोटाका अनुसार उक्त निर्णय आउँदो १५ गतेदेखि लागू हुनेछ । दैलेख सदरमुकामको बजार क्षेत्रमा यातायात सञ्चालन सम्बन्धी यसअघि गरिएका निर्णयहरू ठोस् रूपमा कार्यान्वयन भने आउन सकेको छैन् ।

प्रकाशित मितिः   ५ पुष २०७४, बुधबार १५:४७