हटेनन् निर्वाचन प्रचार सामग्री

सुर्खेत, २ पुस ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सकिएको एक साता भन्दा बढी बितेको छ । निर्वाचनको अन्तिम परिणाम पनि आइसकेको छ । मत परिणामपछि विजयी भएका उम्मेदवारहरू पुनः गाउँ पसेका छन् । मतदाताको बीचमा खुशी साट्नमा उनीहरू व्यस्त छन् ।
निर्वाचनमा पराजित भएका उम्मेदवार र दलहरू पनि आन्तरिक समिक्षामा जुटेका छन् । निर्वाचनको परिणाम सार्वजनिक भएको हप्ता दिन पुग्नै लाग्दासमेत निर्वाचनको बेलामा प्रयोग भएको प्रचार सामग्रीहरू हटेका छैनन् । निर्वाचन प्रचारका क्रममा जिल्लाका राजनीतिक दल र तिनका उम्मेदवारले मत माग्न प्रयोग गरेका प्रचार सामग्रीहरू हटाउनेतर्फ भने हालसम्म कसैले ध्यान दिएका छैनन् । यसको सबैभन्दा असर सदरमुकाम वीरेन्द्रनगर र मुख्य बजार क्षेत्रमा परेको छ ।


दलहरूले विभिन्न स्थानमा टाँगेका झण्डा, चुनाव चिन्ह र पर्चा तथा पम्फेटहरू हटाएका छैनन् । यसले कुरूप बनाएको छ । आफ्नो पक्षमा माहोल सिर्जना गर्न र मतदातालाई आकर्षित गर्नका लागि निर्वाचन भन्दा अगाडी दलहरूले प्रचार सामग्रीमा चर्को प्रतिस्पर्धा नै गरे । सार्वजनिक स्थलहरू चौक र चौतारामा मात्रै होइन, सरकारी कार्यालयका गेट र पर्खालहरूमा जथाभावी पर्चा र पम्पिलेटले टाँसिए । सार्वजनिक स्थलका रुखदेखि विद्युतका पोल पनि बाँकी रहेनन् । लाखौं रकम खर्चेर प्रतिस्पर्धी पार्टी भन्दा दोब्बर प्रचार–प्रसार गर्ने र जनताको मन जित्न दलहरूबीच रस्साकस्सी नै चल्यो । यसकारण पनि प्रचार सामग्रीको प्रयोग बढी भयो ।
अहिले पनि मतदातासँग भोट मागिरहेका प्रचार सामग्री यत्रतत्र रहेका छन् । निर्वाचनको मतपरिणाम सार्वजनिकपछि दलहरू समीक्षा र विजयी जुलुसमा व्यस्त बनेका छन् । निर्वाचनबाट विजयी भएका सांसदहरू आममतदाताबाट बधाइ थाप्न भ्याइनभ्याइ छ । उनीहरू गाउँ–गाउँमा पुगेर मतदातालाई धन्यवाद दिनमासमेत भ्याएका छन् । निर्वाचनमा पराजय भएका दलहरू यतिबेला पार्टी हार्नुको समीक्षा गरिरहेको छ । तर सार्वजनिक स्थल, पार्टी पौवा, चौतारा, विद्युतका पोल तथा रुखहरूमा टाँसेका प्रचार सामग्रीहरू हटाइएका छैनन् । चुनाव सकिए पनि वीरन्द्रनगरका मंगलगढीचौक, वीरेन्द्रचौक, पिपलचौताराचौक, घण्टाघरचौक, बुद्धपथलाइन, विजुलीका खब्बा तथा नगरका टोल–टोलमा राखिएका प्रचार सामग्री हटाइएको छैन् ।
चुनाव परिणाम लगतै घरदैलो अभियानमा मतदातासँगको भेटघाटमा व्यस्त भएकाले प्रचार सामग्री हटाउन नपाइएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसीले बताए । ‘अहिले मतदातालाई धन्यवाद दिनमै व्यस्त छौं’ उनले भने, ‘अबको केहीदिनमा नै हामीले कार्यकर्ता खटाएरै ती प्रचार सामग्री हटाउनेछौं ।’ उनले आफूहरूले कुनै पनि हालतमा प्रचार सामग्री हटाउने भन्दै केही ढिला भएको स्वीकार गरे । वाम गठबन्धको तर्फबाट प्रयोग भएका सामग्री हटाउन आफूहरू तयार रहेको उनले जनाए । यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले निर्वाचनपछि
प्रचार सामग्री हटाउने भनिएकाले आफूहरूले त्यसको तयारी थालेको बताए । उनले पार्टीको वडा तहसम्म चुनावमा प्रचार गरिएका सबै सामग्री हटाउन प्रचार समितिलाई निर्देशन दिइसकेको दाबी गरे ।
‘पार्टीको तल्लो तहसम्म, हामीले प्रचार सामग्रीलाई तत्काल हटाउन भनेका छौं’ उनले भने, ‘कहींकतै छुटेका ठाउँमा केहीदिनमा सफा पारिन्छ, यसमा हामी सचेत र तयारी हालतमा छौं ।’ यता जिल्ला प्रशासन कार्यालयले भने चुनावमा मौन अवधि सुरु हुनुभन्दा पहिले देखिनै प्रचार सामग्री हटाउन निर्देशन दिइएको जनाएको छ । आफूहरूले मौखिक रूपमा निर्देशन दिएको भन्दै प्रशासनले दलहरूले भने अटेर गरेको बताएको हो । प्रशासन कार्यालयका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत युवराज न्यौपानेले औपचारिक रूपमा बैठक बसालेरै प्रचार सामग्री हटाउने निर्देशन नदिइए पनि मौखिक रूपमा निर्देशन दिइएको बताए । निर्वाचन सकिए पनि प्रचार सामग्री नहाटाउँदा सार्वजननिक स्थलहरूमा फोहोर र कुरूप बनेका छन् ।

प्रकाशित मितिः   ३ पुष २०७४, सोमबार १३:२२